ad ad

राजनीति


एमालेसहितको सरकार बने प्रतिगमनविरुको आन्दोलनमा घात हुनेछ : मसाल

एमालेसहितको सरकार बने प्रतिगमनविरुको आन्दोलनमा घात हुनेछ : मसाल

नेपालखबर
पुस ३, २०७९ आइतबार २०:५४, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले गठबन्धनका विभिन्न पक्षहरुले एमालेसित मिलेर सरकार बनाउने प्रयत्न गरेको भन्दै त्यसो भएमा प्रतिगमनविरुद्धको संयुक्त आन्दोलनमा घात हुने बताएको छ। 

महामन्त्री मोहनविक्रम सिंहले आइतबार एक वक्तव्य प्रकाशित गरी एमालेसँग मिलेर सरकार बनाउने प्रयत्न भए पाँचदलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध चलाइएको संयुक्त आन्दोलनसित घात हुनेछ र त्यसका देशको राजनीतिमा गम्भीर प्रकारका दुष्परिणाम हुने बताएका छन्।

साथै, एमालेसहितको सरकार बनेमा सरकारलाई आफ्नो समर्थन नरहने कुरा पनि मसालले स्पष्ट पारेको छ।

यस्तो छ वक्तव्य
आम चुनाव सम्पन्न भएपछि सरकारको गठनमा उत्पन्न भएको समस्या र जटिलताप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ। सुरुदेखि नै हाम्रो जोड यो कुरामा रहेको छ कि अहिलेको राजनीतिक स्थितिमा गठबन्धन कायम रहनुपर्छ र गठबन्धको सरकार बन्नु नै सबैभन्दा उपयुक्त कुरा हुनेछ। तर अहिले सरकारको गठन र सरकारको नेतृत्वको प्रश्नमा गठबन्धनभित्र उठिरहेको विवादप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ। उक्त विवादका कारणले सरकारको गठनमा सहमति हुन नसकेमा त्यसका देशको राजनीतिमा कैयौँ दुष्परिणाम हुनेछन्। त्यसैले गठबन्धनसित सम्बन्धित पक्षहरुका बिचमा सरकारको गठनको लागि सहमति बनोस् भन्ने हाम्रो जोड छ।

गठबन्धनलाई पूरा बहुमत प्राप्त हुने छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास थियो। गठबन्धनसित सम्बन्धित पक्षहरुको वस्तुगत अवस्थामाथि विचार गर्दा यो सम्भावना पनि थियो। तर गठबन्धनभित्रका कतिपय पक्षहरुको अन्तरघातका कारणले चुनावमा प्रतिगमनलाई पराजित गर्न सफलता प्राप्त भए पनि सरकार बनाउनको लागि बहुमत प्राप्त हुन सकेन । त्यसले गर्दा सरकार बनाउनको लागि बहुमत पुर्याउन अहिले बेग्लाबेग्लै दिशामा प्रयत्न हुन थालेको पाइन्छ। त्यो क्रममा गठबन्धनका बेग्लाबेग्लै पक्षहरुले एमालेसित मिलेर सरकार बनाउने प्रयत्न गरेका कुरा पनि सञ्चार माध्यमहरुमा प्रकाशित हुने गरेका छन्। त्यस प्रकारको कुनै पनि कारणले गठबन्धनमा फुट भयो वा एमालेसँग मिलेर सरकार बनाउने कार्य गरियो भने ५ दलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध चलाइएको संयुक्त आन्दोलनसित घात हुनेछ र त्यसका देशको राजनीतिमा गम्भीर प्रकारका दुष्परिणाम हुनेछन्। एमालेसँग मिलेर सरकार बनाउने त्यस प्रकारका कुनै पनि प्रयत्नलाई हामीले गलत ठान्दछौं र विरोध गर्दछौं। त्यसरी बन्ने कुनै पनि सरकारलाई हाम्रो समर्थन नरहने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं ।

अहिले प्रधानमन्त्री पदको लागि चलिरहेको विवादको सन्दर्भमा कसलाई प्रधानमन्त्री बनाउन सही हुनेछ ? त्यसबारे हाम्रो कुनै राय छैन। तर जो प्रधानमन्त्री बने पनि गठबन्धन भित्रबाट नै बन्नु पर्दछ र त्यो विवादका कारणले गठबन्धनमा कुनै फुट हुनुहुन्न भन्ने हाम्रो स्पष्ट मत छ। त्यही प्रकारले राष्ट्रपतिको चयन गैरदलीय व्यक्तिबाट बनाउनुपर्छ भन्ने विचारलाई हामीले गलत मान्दछौं र विरोध गर्दछौं।

२०७९ पौष ०३ गते।
मोहनविक्रम सिंह
महामन्त्री

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .