ad ad

राजनीति


महिला आयोगको काम कारबाहीप्रति मन्त्री रेग्मी असन्तुष्ट

महिला आयोगको काम कारबाहीप्रति मन्त्री रेग्मी असन्तुष्ट

फाइल फोटाे


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १५:५१, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्वनाको कुरा भएको उनको टिप्पणी थियो। 

शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढदै जानु तर महिला आयोगले काम गर्न नसक्नु दुःखद् विषय भएको गुनासो समेत गरिन्।

उनले मन्त्रालयमा बजेटनै नभएकाले हिंसा पीडित महिलाहरुलाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पारिन्। मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुने गरी आफूले योजना तय गरेको दावी समेत गरिन्। 

उनले भनिन्, ‘महिला आयोग त आफैं आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम काम हुन सकेको छैन। त्यो बिडम्बनाको कुरा हो। तर मैले तपाईंहरुलाई पैसाको सवालमा चाहिँ के भन्न पर्छ भने मन्त्रालयको बास्केटमा एक सुका पनि पैसा छैन। अबदेखि महिला हिंसा पीडितका लागि पैसा राख्नु हुन्छ। आगामी बजेटमा थोरै बास्केट फण्ड पनि हुन्छ। ताकि त्यस्ता पीडित महिलाहरुका लागि दिन सकियोस्। अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनु भयो भने पनि पकेटबाट दुई पैसा दिनु बाहेक मन्त्रालयसँग एक पैसा पनि छैन। पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने?’

मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताइन्। ८० करोड भन्दाबढि बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्व ७८ करोड पुर्याइएको उनले बताइन्। मन्त्री रेग्मीले ८० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन हुने गरी काम गर्न सक्ने अवस्था नरहेको स्पष्टिकरण समेत दिइन्। 

उनले भनिन्, ‘यो मन्त्रालयमा म आउँदा जम्मा ८० करोड बजेट थियो। तर अरु मन्त्रालयमा ८० अर्वसम्म बजेट छ। तर हाम्रो मन्त्रालयमा जम्मा ८० करोड बजेट थियो। जनसंख्याको हिसावले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक गर्दा लगभग ८० प्रतिशत जनसंख्याको अभिभावकीय मन्त्रालय यो हो। तर बजेट नै नभएपछि जति काम गर्छु भनेपनि कहा सकिन्छ र? त्यो चाहिँ असाध्यै अप्ठयारो पाटो थियो। तर मैले यो मन्त्रालयलाई अर्बको मुख देखाउन सफल भएँ। एक अर्ब ७८ करोड बजेट वृद्धि गरेर पुर्याइएको छ। त्यो पनि न्यून बजेट हो। तर डबल भने पुर्याइएको छ।’

त्यस अवसरमा मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ कामहरु सुरु भएको बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .