ad ad

राजनीति


प्रधानमन्त्रीमा विविधता दिन अत्यधिक अक्षम दशक

पटकपटक दोहोरिए पुरानै अनुहार, आएनन् नयाँ पात्र
प्रधानमन्त्रीमा विविधता दिन अत्यधिक अक्षम दशक

सीताराम बराल
पुस ११, २०७९ सोमबार २१:१, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेसँगै विसं २०७० को दशक प्रधानमन्त्री पदमा पुरानै पात्रहरुलाइ दोहोर्याइरहने दशक बन्न पुगेको छ। यो दशकमा घुमिफिरी केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड नै प्रधानमन्त्री बनेका छन्। तसर्थ, प्रधानमन्त्री छनोटका दृष्टिले यो दशक विविधताविहीन बन्न पुगेको हो।

जीवनको उत्तराद्र्धमा भए पनि प्रधानमन्त्रीका लागि नयाँ पात्र थिए– सुशील कोइराला। दशकको सुरुवात वर्ष (२०७०) मा कोइरालाको सत्तारोहणसँगै  प्रधानमन्त्री छनोटका दृष्टिले यो दशक विविधतायुक्त हुने संकेत देखिएको थियो।   

तर, कोइरालापछि तीन जना पात्र एकपछि अर्काे गर्दैै दोहोरिएर प्रधानमन्त्री बन्न पुगे, सुरुवाती संकेतजस्तो यो दशकले विविधतायुक्त बन्ने अवसर गुमायो। 

संविधान सभाबाट २०७२ मा संविधान जारी भएपछि नयाँ सरकार निर्माण हुने भयो। २४ असोज (२०७२) मा भएको निर्वाचनमा प्रधानमन्त्री कोइरालालाई पराजित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा विजयी भए। 

बहालवाला प्रधानमन्त्री कोइरालालाई सोही पदमा पराजित गर्दै अर्का ‘फ्रेस’ पात्र ओली विजयी भएपछि यो दशक अझ विविधतायुक्त दशक बन्ने सम्भावना प्रबल देखियो।  

तर, होइन रहेछ। 

ओलीपछि २०७३ मा प्रचण्ड प्रधानमन्त्री बने, जो २०६४ मा जनताको अपार जनमतका साथ प्रधानमन्त्री बनेपछि राजनीतिक सुझबुझको अभावमा राजीनामा दिन बाध्य भएका थिए। 

पहिलो ठूलो दलको ओजमा प्रधानमन्त्री बन्दा केही नयाँपन दिन नसकेका प्रचण्डले ओली हटाउने कांग्रेसको दाउपेच र बैसाखीमा दोस्रो पटक प्रधानमन्त्री बनेर राजनीतिमा नयाँपन दिने सम्भावना थिएन।

दोस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले सिंहदरबारमा प्रधानमन्त्रीका रुपमा आफ्नो अर्काे फोटो टाँसे र दोस्रो पटक प्रधानमन्त्री बनाइदिने देउवाप्रति अनुगृहित हुँदै राजीनामा दिएर, उनै देउवा प्रधानमन्त्री हुने वातावरण सिर्जना गरेर सिंहदरबारबाट विदा भए। 

प्रचण्डपछि २०७४ मा प्रधानमन्त्री बने तिनै देउवा– जो तीन पटक प्रधानमन्त्री बन्दा असफलता नै असफलताको रेकर्ड बनाएर विदावारी– सत्ताच्युत भएका थिए। 

सुशील कोइरालापछि ओली, प्रचण्ड र देउवा प्रधानमन्त्री बनिसक्दा प्रधानमन्त्री चयनको एउटा चक्र पुरा भयो। 

आमनिर्वाचन–२०७४ सँगै दोस्रो चक्रको सुरुवात भयो। 

२०७० मा प्रधानमन्त्री बनेका सुशील कोइरालाको २ असोज (२०७२) मा संविधान जारी भएको ६ महिना नबित्दै निधन भएको थियो। निधनका कारण उनी दोस्रो चक्रमा प्रधानमन्त्री बन्ने दौडमा सामेल भएनन्।  

तर, दोस्रो चक्रको सुरुवातमा फेरि ओली प्रधानमन्त्री भए। २०७४ मा माओवादीसँगको गठबन्धन टिकाउन नसकेर सत्ताच्युत भएका ओली यसपटक पनि उही कारण सत्ताबाट बहिर्गमित (२०७८) भए। 

ओलीको बहिर्गमनपछि फेरि प्रधानमन्त्री (२०७८) को अवसर फेरि देउवालाई नै प्राप्त भयो। 

देउवाको बहिर्गमनसँगै १० पुस (२०७९) मा प्रचण्ड प्रधानमन्त्री नियुक्त बनेका छन्। 

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दैगर्दा वर्तमान नयाँ सत्ता गठबन्धनले आइतबार (१० पुस) मा ओली निवास बालकोटमा जस्तो ‘भद्र सहमति’ गरेको छ, त्यसले विसं २०८० को दशकको सुरुवात पनि यस्तै विविधताहीन हुने पक्का छ।

प्रतिनिधि सभाको आधा कार्यकाल (साढे दुई वर्ष) प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय गरेको १० पुसको बालकोट बैठकले उनी (प्रचण्ड) पछि बाँकी आधा कार्यकाल ओलीले सरकारको नेतृत्व गर्ने निर्णय गरेको छ। 

यो निर्णय कार्यान्वयन भयो भने विसं २०८० को दशकमा चयन हुने पहिलो प्रधानमन्त्री पनि पुरानै पात्र अर्थात् ओली हुनेछन्। 

प्रधानमन्त्री चयनका दृष्टिले यसअघि (विस. २०६०) को दशक यस्तो विविधताविहीन थिएन। दुई पटक प्रधानमन्त्री भइसकेका गिरिजाप्रसाद कोइराला २०६३ को परिवर्तनलगत्तै प्रधानमन्त्री बने पनि त्यसपछि त्यो दशकभरि नै नयाँ–नयाँ अनुहार सरकार प्रमुख बनिरहे। 

कोइरालापछि पहिलो संविधान सभा निर्वाचन (२०६४) मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) २०६४ साउनमा प्रधानमन्त्री बने। 

प्रचण्डको बहिर्गमनपछि एमाले नेता माधव नेपालले प्रधानमन्त्री बन्ने अवसर पाए। नेपाल पनि त्यसअघि प्रधानमन्त्री बनेका थिएनन्। 

नेपालपछि प्रधानमन्त्री बने, एमाले अध्यक्ष झलनाथ खनाल। खनालको पनि छिट्टै बहिर्गमन भयो। 

खनालपछि नयाँ प्रधानमन्त्री चुनिए, डा. बाबुराम भट्टराई। डा. भट्टराईपछि दोस्रो संविधान सभाको निर्वाचन गराउन मन्त्रिपरिषदको अध्यक्ष खिलराज रेग्मी बनाइए। 

विसं २०६० को सुरुमा राजा ज्ञानेन्द्रले सूर्यबहादुर थापा र शेरबहादुर देउवा, सत्ता हातमा लिएर आफैँ मन्त्रिपरिषदको अध्यक्ष बनेपछि डा. तुलसी गिरि र कीर्तिनिधि विष्टजस्ता पुराना पात्रलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाए। 

यसर्थ, प्रधानमन्त्री चयनका दृष्टिले विसं २०६० को दशक सबैभन्दा विविधतापूर्ण रह्यो। राजनीतिक अस्थिरता कायम रहे पनि पुराना–विविधताहीन पात्रहरु प्रधानमन्त्रीमा दोहोरिएको जनताले देख्नु परेन। 

२०५० को दशकले पनि सुरुवातमा विविधताको संकेत गरेको थियो। तर, त्यो विविधताले निरन्तरता प्राप्त गरेन। त्यो दशकको मध्यकाल अगाडि नै पुरानै पात्रहरु हाबी हुन पुगे।  

यो दशक (२०५०) को सुरुवातमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। २०५१ को मध्यावधि निर्वाचनपछि कोइरालालाई विस्थापित गर्दै एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने। 

नेपालको इतिहासमा ‘पहिलो कम्युनिस्ट प्रधानमन्त्री’ बनेर अधिकारीले त्यो दशकको सुरुवातमा विविधताको संकेत गरेका थिए। 

अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि २०५२ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने। अधिकारी लगत्तै सरकार प्रमुखमा देउवाको ‘इन्ट्री’ ले अर्काे विविधता थप्ने काम गर्यो। 

तर, देउवाको बहिर्गमनपछि फेरि पुरानै पात्रहरु प्रधानमन्त्रीमा दोहोरिने क्रम सुरु भयो। कसैको बहुमत नरहेको स्थितिको फाइदा उठाउँदै संसदमा २० सिट रहेको तेस्रो दल राप्रपाका नेताद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा पालैपालो प्रधानमन्त्री बने। 

थापापछि फेरि कोइराला (२०५५), कृष्णप्रसाद भट्टराई (२०५६), कोइराला (२०५६), शेरबहादुर देउवा (२०५८) र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री भए। 

त्यो दशकको पूर्वार्धमा देखिएको विविधताको संकेत दुई वर्ष पुग्दा नपुग्दै यसरी विलीन हुन पुग्यो। 

सुरुवातमा सुखद् संकेत गरेको यो दशकले एकपछि अर्काे गर्दै पुरानै पात्रहरुलाई प्रधानमन्त्रीमा दोहोर्याएर आफैलाई विविधताविहीन दशक मात्र सावित गरेन, आगामी दशकलाई पूर्वार्धलाई पनि उस्तै विविधताविहीन बनाउने संकेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .