राजनीति


यसकारण एकीकृत समाजवादीसँग एकता गर्न चाहन्छन् उपेन्द्र

यसकारण एकीकृत समाजवादीसँग एकता गर्न चाहन्छन् उपेन्द्र

सागर न्यौपाने
पुस २१, २०७९ बिहिबार ८:३५, काठमाडौँ

पहिलो संविधान सभा (२०६४) देखि तराई/मधेशको सबैभन्दा ठूलो दलका नेताका रुपमा स्थापित भएका थिए उपेन्द्र यादव। यसपटकको निर्वाचनमा भने उनी नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पुरानो विरासत जोगाउन सफल भएन। शान्ति प्रक्रियायताका ०६४, ०७०, ०७४ मा निरन्तर चुनाव जितेर दलको नेता बनिरहेका यादव आफैँ पनि सप्तरी २ मा पराजित भए।

मधेशमै केन्द्रित दलहरुसँग अनेक पटक एकता गर्दै आएको सो पार्टी अनेक पटक फुट्दै पनि आएको छ। प्रतिनिधि सभामा १२ र प्रदेश सभामा २६ सिट जितेको जसपाले चुनावपछि भने नेकपा एकीकृत समाजवादीसँग एकताको संवाद सुरु गरेको छ।

०६४ को पहिलो संविधान सभामा ५२ सांसद जितेर चाैथाे शक्ति बनेको तत्कालीन मधेशी जनअधिकार फोरम अहिलेको जसपासम्म आइपुग्दा कम्तीमा ७/८ पटक विभाजन भएको छ। यस्तै ३/४ पटक एकता पनि भएको छ।

तराईमा एकलौटी प्रभाव जमाइरहेका यादवका लागि यसपटकको चुनावी नतिजा अपेक्षित थिएन। उनलाई हराउने सीके राउत नेतृत्वको जनमत पार्टी नयाँ दलको रुपमा उदायो।

मधेशमा नयाँ दलको उदय भएपछि यादवले एकताको नयाँ रणनीति बनाएका हुन्। उनको योजना सफल भए उनको पार्टी फेरि मधेशको ठूलो शक्ति बन्न सक्छ। त्यसैका लागि उनी एकीकृत समाजवादी पार्टीसँग एकता गर्ने योजनामा छन्।

यादवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २ पटक (रौतहट र काठमाडौँमा) छलफल गरिसकेका छन्।

मंगलबार (१९ पुस) बसेको जसपा राजनीतिक समितिको बैठकले विभिन्न राजनीतिक दल/संगठनहरुसँग एकता सहकार्य तथा गठबन्धनसम्बन्धी वार्ता गर्न ३ सदस्यीय समिति बनाइएको छ। पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन्। 

एक नेताले नेपालखबरलाई बताए अनुसार गोविन्द चौधरीले  एकीकृत समाजवादीसँग एकता गर्न अध्यक्ष यादवलाई सुझाव दिएका थिए।

‘माधव–उपेन्द्र भेट भएको हो, जसपाको राजनीतिक समितिले विभिन्न दलसँग एकता गर्नेगरी वार्ता समिति गठन गर्नुको मुख्य कारण यही हो,’ यादवनिकट एक नेताले भने।

तर, जसपाका संघीय परिषदका अर्का सदस्यले भने यादवले एकता गर्न एकीकृत समाजवादी रोज्नुका केही कारण देखाए।

पहिलो, मधेशमा सबैभन्दा ठूलो दल बन्छ र यादव प्रदेशमा निर्णायक बन्छन्।

एकीकृत समाजवादीको मधेश प्रदेशमा ७ सांसद छन्। जसपाका १६ सांसद छन्। यी दुवै मिसिँदा २३ सांसद हुन्छन् र कांग्रेसकै हाराहारीको दल बन्छ।

केही स्वतन्त्र सांसद पनि मिसिन तयार छन्। 

‘उपेन्द्रजीले मधेश प्रदेशमा पहिलो दल बनेर निर्णायक शक्ति आफूमा राख्ने योजनासहित माधवजीसँग एकताको प्रयास थाल्नुभएको हो,’ वार्ता समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘दुईदलबीच एकता भयो भने कांग्रेभन्दा ठूलो दल बन्न सक्छ।’

दोस्रो, माधव नेपालले देशभरबाट समानुपातिकमा पाएकोमध्ये आधाभन्दा बढी मत तराई/मधेशबाट पाएका छन्। नयाँ पार्टीबाट आफू कमजोर भएको महसुस गरेका उपेन्द्रले माधव नेपालको तराईमा बढ्दो शक्तितिर आँखा लगाएका छन्।

‘एकीकृत समाजवादीले पाएको त्यही मत जोगाए पनि भोलिको राजनीति बलियो बन्छ,’ ती नेताले भने। 

तेस्रो, तराईमा खस्किएको जसपाको स्थिति बलियो बनाएर मुख्यमन्त्री दाबी गर्ने आधार बनाउने। नयाँ दलको उदय, आफैँले उठाएका एजेन्डा कार्यान्वयन गर्न नसक्दा मधेशमा उपेन्द्र यादवको अवस्था खस्किँदै गएको नेताहरुको विश्लेषण छ।

चौथो, एकता भए उनीहरुको प्रतिनिधि सभा सदस्यको संख्या २२ पुग्नेछ। जसको आधारमा एकपटक प्रधानमन्त्री दाबी गर्ने।

मधेशमा मात्र केन्द्रित यादवको दलले ३२ जेठ २०७२ मा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेको थियो। एमालेबाट विद्रोह गरी राईले बनाएको सो दल र तराईमा मात्र जनाधार रहेको मधेशी जनाधिकार फोरम नेपालबीच एकता भई संघीय समाजवादी फोरम बन्यो। 

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग पनि यादवले एकता गरे। २३ वैशाख २०७६ मा राष्ट्रिय सभागृह काठमाडौँबाट संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता भई समाजवादी पार्टी नामाकरण भयो। 

यादव र भट्टराईबीच लामो समय सहकार्य हुन सकेन। पुस २०७८ मा विवाद सुरु भयो र २९ असार २०७९ मा उनीहरु अलग भए। 

४ मंसिरको प्रतिनिधि र प्रदेश सभाको चुनावी परिणाम पछि फेरि उपेन्द्रले माधव नेपालको नयाँ दलतिर आँखा लगाएका छन्।

‘अहिले माधव नेपालको तराईमा देखिएको शक्ति र मतबाट उपेन्द्रजी उत्साहित हुनुभएको होला,’ जसपा संघीय परिषदका अर्का सदस्यले नेपालखबरसँग भने, ‘एकीकरण हुँदा त्यसको सन्देश निकै राम्रो जान्छ।’

‘रौतहटदेखि सप्तरीसम्म माधव नेपालको प्रभाव राम्रो छ,’ ती नेताले थपे, ‘मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टीले बढी मत ल्याएर जसपालाई च्यालेन्ज गरेको छ, पार्टी खोलेदेखि नहारेको उहाँ यसपटक हार्नुभयो।’

तर, जसपाबाट वार्ता समिति संयोजक बनेका राजेन्द्रकुमार श्रेष्ठले अहिलेसम्म कुनै दलसँग पनि एकता गर्नेगरी छलफल नभएको बताए।

‘अहिलेसम्म कोहीसँग पनि वार्ता र संवाद भएको छैन,’ श्रेष्ठले भने, ‘नेताहरुबीच सामान्य छलफल चलेको भए पनि हामीलाई जानकारी दिइएको छैन।’

उनका अनुसार अहिलेसम्म पार्टी एकता नै गर्नेगरी कुनै गृहकार्य पनि अघि बढेको छैन।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अनौपचारिक छलफल भए पनि एकताकै विषयमा कुरै नभएको दाबी गरे।

‘सम्पूर्ण लेफ्टहरुलाई एक बनाउन लाग्ने पार्टीको निर्णय हो,’ उनले भने, ‘सचिवालय बैठक बसेर कुन दलसँग पहिला एकता भन्ने निर्णय गर्छाैँ। अहिलेसम्म औपचारिक हिसाबले एकताको विषय अघि बढेको छैन।’

‘एकताका विषयमा केही गृहकार्य गरेर अब बस्ने सचिवालय बैठकमा प्रस्ताव आएपछि मात्र यसबारे भन्न सकिन्छ,’ खतिवडाले थपे, ‘जसपासँग एकताको सम्भावना खुलै छ।’

एकीकृत समाजवादीभित्र भने जसपासँग मिल्न नहुने अडानमा केही नेताहरु छन्। उनीहरु एमालेसँग मिल्नुपर्ने पक्षमा देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .