ad ad

राजनीति


सत्तामा फर्किनेमा विश्वस्त देउवा, रोक्न कम्मर कसेका गगन

सत्तामा फर्किनेमा विश्वस्त देउवा, रोक्न कम्मर कसेका गगन

सीताराम बराल
पुस २२, २०७९ शुक्रबार ७:३५, काठमाडौँ

निर्वाचनबाट पहिलो ठूलो दल बने पनि एमाले–माओवादी केन्द्रबीचको गठबन्धनका कारण मुखैमा आएको सत्ता गुमेपछि कांग्रेस सभापति शेरबहादुर देउवा के सोचिरहेका होलान् भन्ने विषयमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार (२० पुस) एउटा रोचक खुलासा गरे। 

‘सभापति देउवाले (सत्ता र शक्तिमा) हामी फर्कनेछौँ भन्नु भएको छ,’ नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा डा. महतले सुनाए, ‘सभापति देउवाले हामी फेरि (सत्ता र शक्तिमा) फर्कनेछौँ र सशक्त रुपमा अघि बढ्नेछौँ भन्ने हौसलापूर्ण कुरा गरिरहनु भएको छ।’

एकातिर डा. महत सभापति देउवाले कांग्रेस फेरि सत्ता–शक्तिमा फर्कने बताएर देउवाले कांग्रेसजनको हौसला बढाउने कुरा गरिरहेको सुनाउँदै थिए। अर्काेतिर कांग्रेस केन्द्रीय कार्यालयमै रहेका महामन्त्री गगन थापा भने कांग्रेससँग रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नु र अर्काे निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको बताइरहेका थिए। 

‘निर्वाचनले नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सरकार चलाऊ भन्ने जनादेश दिएको थियो। तर, त्यो गठबन्धन भत्कियो, त्यो जनादेश अब खण्डित भइसक्यो,’ महामन्त्री थापाको भनाइ थियो, ‘हामी केन्द्र र प्रदेश दुवैतिर प्रमुख प्रतिपक्षको भूमिकामा पुगेका छौँ। अब रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुबाहेक दायाँ–बायाँ कुरा हामीले सोच्नु हुँदैन।’ 

कांग्रेसको आन्तरिक राजनीतिमा महामन्त्री थापा र प्रवक्ता डा. महतले फरक–फरक समूहको प्रतिनिधित्व गर्छन्। डा. महत सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् भने थापा डा. शेखर कोइराला समूहबाट महामन्त्री निर्वाचित भएका हुन्। 

डा. महतको अभिव्यक्तिले सभापति देउवा अहिलेको सत्ता–गठबन्धन भत्काएर आफैँ प्रधानमन्त्री हुन छिट्टै सक्रिय हुनेछन् भन्ने देखाउँछ। जबकि महामन्त्री थापा देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्छन् भन्ने उनको अभिव्यक्तिले संकेत गर्छ। 

पुनरागमनमा विश्वस्त देउवा
प्रधानमन्त्री निवास (बालुवाटार) छाडेयता सभापति देउवालाई भेट्न जो–जो धुम्बाराही पुगेका छन्, सबैलाई देउवाले एउटै सन्देश दिइरहेका छन्, ‘निर्वाचनलगत्तै म प्रधानमन्त्री बन्ने दाबी गर्नु जति स्वाभाविक थियो, प्रचण्डले पनि प्रधानमन्त्रीको दाबी गर्नुपनि उत्तिकै स्वाभाविक थियो।’  

यो कथनबाट देउवा तत्कालीन सत्ता गठबन्धनलाई धोका  दिएर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डप्रति आक्रोशित छैनन् भन्ने देखाउँछ। साथै आफू छिट्टै प्रधानमन्त्री बन्नेमा देउवा निकै विश्वस्त रहेछन् भन्ने अनुमान पनि यसबाट गर्न सकिन्छ। 

छिट्टै प्रधानमन्त्री बन्नेमा विश्वस्त नरहेको भए ‘धोका’ दिएर एमालेसँग नयाँ गठबन्धन निर्माण गरेकोमा प्रचण्डप्रति उनले आक्रोश व्यक्त गर्ने थिए। यसविपरीत उनी विचलित नभई प्रधानमन्त्री बन्ने उपयुक्त मौकाको पर्खाइमा देखिन्छन्। 

देउवाकै बुद्धिहीनताका कारण ठूलो दल हुँदाहुँदै कांग्रेस केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी बेञ्चमा रहनु परेको भन्दै पार्टीभित्रैबाट तीव्र आलोचना भइरहे पनि देउवा विचलित हुनुको साटो आत्मविश्वासयुक्त देखिनुका खास कारण छन्। यसको पहिलो कारण अहिलेको प्रतिनिधि सभाको बनोट हो। 

खासमा कांग्रेसलाई सत्ताबाहिर राख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना अनुसार प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रचण्ड प्रधानमन्त्री बन्ने अनुकूल अंकगणित उनैले निर्माण गरिदिएका हुन्। 

देउवा यो अंकगणित लामो समय कायम रहँदैन भन्नेमा विश्वस्त देखिन्छन्। यो अंकगणित कति खुकुलो छ भन्ने मन्त्रिपरिषदले अहिलेसम्म पूर्णता नपाएबाट बुझ्न सकिन्छ। 

ओलीले केही दिनअघि मन्त्रिमण्डल विस्तार हुन १५ दिन लाग्ने बताएका थिए। उनको संकेत मन्त्रिमण्डलले पूर्णता पाउन माघ पहिलो सातासम्म कुर्नुपर्छ भन्ने हो।   

प्रचण्ड पुस २६ मा विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिमण्डललाई पूर्णता दिने योजनामा छन्। मन्त्री बन्ने आकांक्षा राखेका, तर त्यो अवसर नपाएका सांसदहरुबाट विश्वासको मत प्राप्त नहुने सम्भावना ख्याल गरेर प्रचण्डले यस्तो योजना बनाएका हुन्। 

त्यसबाहेक प्र्रचण्डको पक्षमा हस्ताक्षर गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतले सरकारमा जानका लागि सर्त राखेका छन्। ती सर्त पुरा नहुँदा दिएको समर्थनसमेत फिर्ता लिन सक्छन्। त्यसबाहेक मन्त्री बन्ने विषयले सरकारमा सामेल साना दलहरुमा विभाजन आउने सम्भावना पनि रहन्छ। 

समकालीन नेताहरुमध्ये देउवा यस्ता शीर्ष नेता हुन्, जोसँग सत्ता–गठजोडको राजनीतिको सबैभन्दा धेरै अनुभव छ। ‘हङ पार्लियामेन्ट’ का बेला के कारणले गठबन्धन सरकार ढल्छ र आफू अनुकूलको नयाँ समीकरण कसरी निर्माण गर्नुपर्छ भन्ने अनुभव निसन्देह ओली–प्रचण्डसँग भन्दा उनीसँग बढी छ। अहिले प्राप्त असफलता त उनको समग्र राजनीतिक जीवनको एउटा सानो पाटो मात्र हो। 

संविधान जारी भएपछि सुशील कोइरालाका कारण २०७२ मा कांग्रेस सत्ताबाहिर पुगे पनि देउवा २०७३ मा कसरी प्रधानमन्त्री बने भन्ने स्मरण गर्नु यहाँनिर जरुरी छ। 

निर्वाचनमार्फत् ‘हङ पार्लियामेन्ट’ बने पनि आम जनता स्थायी सरकार र स्थिर राजनीति चाहन्छन्। प्रचण्ड प्रधानमन्त्री बनेको दुई हप्ता पनि भएको छैन। मन्त्रिमण्डलले पूर्णता पनि प्राप्त गरेको छैन। यति छिट्टै, बिनाकारण प्रचण्डको पक्षमा हस्ताक्षर गरेका सांसदहरुलाई ‘सरकारलाई विश्वासको मत नदेऊ’ भन्नु कठिन मात्र हुँदैन, सांसदहरुले यस्तो आग्रह स्वीकार गर्ने सम्भावना पनि रहँदैन। अनुभवी देउवाले यो कुरा राम्रोसँग बुझेका छन्। र, तत्कालका लागि चुप छन्।  

ओलीको सहयोगमा प्रचण्डले प्रधानमन्त्री पद पाए पनि यो प्रतिनिधि सभाको बनोट देउवा प्रतिकूल पनि छैन। एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, २ स्वतन्त्र सांसदहरु सत्ता गठबन्धन बाहिरै छन्। प्रतिपक्षी बेन्चमा कांग्रेससहित एक सय बढी सांसदहरु छन्। 

७८ सिट मात्र रहेको एमालेले १ सय ७९ सांसदहरु जुटाएर आफू अनुकूलको गठबन्धन निर्माण गर्यो। ८९ सिट रहेको कांग्रेसको पक्षमा केही समयपछि बहुमत जुटाउन कठिन हुँदैन। ‘कांग्रेस छिट्टै सत्ता र शक्तिमा फर्कन्छ’ भन्नेमा देउवा विश्वस्त हुनुको कारण यही हो।  जब परिस्थिति परिपक्व हुनेछ, त्यसपछि उनी आवश्यकता अनुरुप सक्रिय हुनेछन्। 

तीन कारणले परिस्थिति ‘परिपक्व’ हुनासाथ देउवा सत्ता हात पार्न सक्रिय हुनेछन्। एक–ज्योतिषीको भविष्यवाणी बमोजिम उनलाई सात पटक प्रधानमन्त्री हुनु छ। दुई– निर्वाचनबाट कांग्रेसलाई पहिलो ठूलो दल र पार्टीलाई सत्तारुढ गराएको जस लिनुछ। र, तीन– आफ्नो बुद्धिहीनताका कारण कांग्रसले सत्ता गुमायो भन्ने जुन ‘टोकसो’ इतर खेमाले गरिरहेको छ, सत्तामा पुनर्वहालीमार्फत् मुखभरिको जवाफ पनि दिनुछ।

देउवाको गोल रोक्ने गगनको दाउ
पार्टी सरकारमा नरहेपछि ‘रचनात्मक प्रतिपक्ष’ को भूमिकाका लागि मानसिक रुपमा आफूलाई तयार राख्नु राम्रो कुरा हो। तर, महामन्त्री थापाले ‘रचनात्मक प्रतिपक्ष’ को कुरा मात्र गरेका छैनन्, कांग्रेस सरकारमा जान नहुने कुरामा पनि जोड दिएका छन्। 

थापाको भनाइको अर्थ ‘आगामी पाँच वर्ष कांग्रेस सत्ताको खेलमा लाग्नु हुँदैन’ भन्ने हो। जबकि संसदीय दलमा पराजित भएपछि उनले यही कार्यकालमा संसदीय दलको नेता बन्न प्रयास गरिरहने बताएका छन्। त्यसका लागि सांसदहरुको मन परिवर्तन गराउन प्रयास गर्ने उल्लेख पनि गरेका छन्।  

पराजयपछि पनि संसदीय दलको नेता बन्न आफूले चाहिँ प्रयास गरिरहने, तर अहिले कांग्रेसविरुद्ध प्रतिकूल समीकरण बन्यो भन्दैमा पाँच वर्षभर कांग्रेसले रचनात्मक प्रतिपक्षबाहेक दायाँ–बायाँ सोच्न नहुने बताउनु आफैँमा विरोधाभाषी अभिव्यक्ति हो।   

आमनिर्वाचनका क्रममा थापाले प्रधानमन्त्री बन्न आफू संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका थिए। काठमाडौँ–४ का मतदाताहरुसँग यही भनेर मत मागे। अब पनि संसदीय दलको नेता निर्वाचित बन्न सके प्रतिनिधि सभाको यही कार्यकालमा प्रधानमन्त्री बन्ने विश्लेषण गरेरै थापाले संसदीय दलको नेता बन्न प्रयास जारी राख्ने बताएका होलान्।   

तर, महामन्त्री थापा संसदीय दलको नेता निर्वाचित हुने सम्भावना भने निकै कमजोर छ। एमाले–माओवादीबीचको आकस्मिक गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री मात्र होइन, राष्ट्रपति र प्रदेश सरकारहरुको नेतृत्वपनि गुमाउनुपर्ने भएको छ। 

अर्थात्, देउवाका कारण कांग्रेस ‘सर्वस्वहरण’ को स्थितिमा पुगेको छ। यसका बाबजुद देउवाको शक्ति पार्टीभित्र कायम छ। जस्तो कि, पछिल्लो हप्ता भएका प्रदेशको संसदीय दलको निर्वाचनमा सात वटै प्रदेशमा देउवा पक्षीय नेता विजयी भएका छन्। 

२०५१ मा काठमाडौँ–१ को उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईले उम्मेदवारी दिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘अर्काको अवनतिमा आफ्नो उन्नति देख्ने प्रवृत्तिबाट कांग्रेस राजनीति आक्रान्त छ।’ 

उनको भनाइको आशय आफूलाई प्रधानमन्त्रीबाट हटाउन भट्टराईले उपनिर्वाचनमा उम्मेदवारी दिएका हुन् भन्ने थियो। कोइरालाले इङ्गित गरेको यो प्रवृत्ति कांग्रेसमा अहिले पनि छँदैछ। 

जस्तो कि, डा. कोइराला–थापा देउवाको नेतृत्वमा गत निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको देख्न चाहन्थेनन्। त्यसैले, दुवै नेताले निर्णयअघिसम्म गठबन्धनको विरोध गरिरहे। प्रचार अभियान सुरु भएपछि उनीहरु गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न अन्य निर्वाचन क्षेत्रमा पनि गएनन्। 

देउवाको नेतृत्वमा रहेको सत्ता गठबन्धनलाई ‘पूर्ण सफल’ हुन नदिने डा.कोइराला–थापा पक्षको चाहनाले गत निर्वाचनमा सफलता प्राप्त गर्यो। देउवाको ‘प्रधानमन्त्री बन्ने बाटो’ रोक्न पनि उनीहरु असफल भए। देउवा संसदीय दलको नेता निर्वाचित भएरै छाडे।  

देउवाका कारण कांग्रेसको अहिले जुन सर्वस्वहरण भएको छ, त्यसको लाभ डा. कोइराला–महामन्त्री थापा पक्षले प्रदेश संसदीय दलको निर्वाचनमा लिनसक्नु पर्ने हो। तर, देउवाप्रतिको आक्रोश आलो रहेको स्थितिमा पनि उनीहरु असफल भए।  

यसको अर्थ हो– महामन्त्री थापाका लागि संसदीय दलको नेता बन्ने अवसर तत्काल प्राप्त हुनेछैन। संसदीय दलको नेता नबन्ने हो भने प्रधानमन्त्री बन्ने स्थिति (धारा ७६–५ बमोजिमबाहेक) पनि रहँदैन। 

जब प्रवक्ता डा. महतले ‘हामी छिट्टै सत्ता र शक्तिमा फर्कनेछौँ’ भन्ने देउवाको सन्देश केन्द्रीय कार्यालयमा सुनाए, त्यहीँबाट महामन्त्री थापाले ‘कांग्रेसले दायाँ–बायाँ नसोची रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ’ भन्नुको कारण देउवाको सत्तारोहण रोक्नका लागि हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .