जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ।
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलको नेता चयन गरिसकेपनि जसपाले भने दलको नेता चयन गर्न सकेको छैन।
संसदीय दलको नेतामा सर्वसहमति हुन नसेपछि नेता चयनका लागि सोमबार मतदान हुने गरी कार्यतालिका तय गरिएको छ।
जसपाले सोमबार बिहान ९ देखि ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ।
यस्तै, ११:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३ः३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबी विरोधका लागि समय निर्धारण गरिएको छ।
दिउँसो ४ : ३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।
मतदानलगत्तै गणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए।
जसपा मधेस प्रदेशसभाको संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र नेता रामअशीष यादव प्रमुख दाबेदार छन्।
राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलको नेता चयन गर्न लागिएको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवले दलको नेता चयन गर्न नसकेपछि त्यस विषयमा निर्णय गर्न पुनः प्रदेश कमिटीलाई नै जिम्मा लगाएका थिए।
Shares
प्रतिक्रिया