ad ad

राजनीति


ओलीको दाबी : प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिन्छ

ओलीको दाबी : प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिन्छ

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने क्रममा बोल्दै एमाले अध्यक्ष ओली। तस्बिर : रासस


नेपालखबर
पुस २५, २०७९ सोमबार १८:३३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका छन्।

सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिकी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

सरकार गठन भएर मन्त्रिपरिषद् विस्तार गर्न समय लागिरहेका बेला ओलीले मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै अब काम अघि बढ्ने ओलीले बताए। 

'प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि सरकारले गति लिन्छ', उनले भने, 'बजार हल्ला हुन्छ। यो हल्लै हल्लाको देश भनेर कविजीले लेखेका थिए। सरकार बनिनसक्दै के के हुन्छ भनेर हल्ला गरेछन्।'

उनले अहिले नै एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट सरकारको पक्षमा १७४/१७५ मत रहेको बताए। 

'अहिले नै १७४/७५ सांसदको समर्थन छँदैछ। हामीसँग झन्डै १८० सांसदको समर्थन छ', उनले नेपाली कांग्रेसतिर लक्षित गर्दै भने, 'त्यसमाथि भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदा ८५ देखि ८८ जना सांसदको समर्थन थपियो भने पनि अफ्ठ्यारो मान्नुपर्दैन।'

ओलीले भनेअनुसार प्रतिनिधिसभामा कांग्रेसका ८९ जना सांसद छन्। अहिले प्रचण्ड नेतृत्वको सरकारलाई १६९ सांसदको समर्थन छ। सोमबारको प्रतिनिधिसभामा बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सरकारलाई समर्थन गर्न सक्ने संकेत गरेका छन्। 

समाजवादीसँग १० जना सांसद छन्। समाजवादीका १० जना सांसद भोलि थपिँदा १७९ हुन्छ। ओलीले समाजवादीसहित हिसाब गरेर १८० सांसदको आँकडा सुनाएका हुन्।

त्यसबाहेक ओलीले ८५ देखि ८८ सांसदको हिसाब देखाएको कांग्रेसकै हो। कांग्रेसले पनि ओलीले भनेझैँ सरकारलाई विश्वासको मत दिनेबारेमा भोलिको बैठकमा निर्णय गर्ने महामन्त्री गगन थापाले बताए।

त्यस्तै अर्का सांसद विमलेन्द्र निधिले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने नदिने निर्णय कांग्रेसको भोलिको बैठकले गर्ने संसद भवनमा सुनाए। 

कांग्रेसमा पनि विश्वासको मत सरकारलाई दिनुपर्ने कुरा उठिरहेका बेला ओलीले यो कुरा सिंहदरबारमा सुनाएका हुन्।

अहिलेको सरकारलाई एउटा गिलासको संज्ञा दिँदै उनले कांग्रेसले मत बाहिर नपोख्ने संकेत गरे। 'पानी गिलासमा नहालेर बाहिर किन पोख्नु? त्यही भएर भोलि ८५ देखि ८८ सांसदको थप मत आउन सक्छ', उनले भने, 'यो सरकारले बलियोसँग उभिएर सबैसँग असल सम्बन्ध निर्वाह गर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .