ad ad

राजनीति


सत्ता साझेदार दलले यसरी बाँडफाँट गर्दैछन् १७ मन्त्रालय, कुन दललाई कति?

सत्ता साझेदार दलले यसरी बाँडफाँट गर्दैछन् १७ मन्त्रालय, कुन दललाई कति?

फाइल तस्बिर


सागर न्यौपाने
पुस २९, २०७९ शुक्रबार १६:१६, काठमाडौँ

सत्ता साझेदार दलहरुले सांसद संख्यालाई आधार बनाएर मन्त्रालय बाँडफाँट टुंगो लगाउने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

जसअनुसार सबैभन्दा धेरै मन्त्रालय नेकपा एमालेले पाउने छ। दोस्रोमा नेकपा माओवादी केन्द्र, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय पाउनेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन ३ स्वतन्त्रसहित ७ दलले समर्थन गरेका थिए।

यसबारे शुक्रबार अन्तिम गृहकार्य गरेर निर्णय गर्ने तयारी भएको एक नेताले बताए। शुक्रबार सत्तासाझेदार दलको बैठक बस्ने तयारी छ। 

एमालेका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साँझ भक्तपुर बालकोट र बिहीबार अपरान्ह प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा यसैबारे छलफल भएको थियो।

त्यही छलफलअनुसार मन्त्रालय बाँडफाँटको मस्यौदा तयार पारिएको छ।

प्रधानमन्त्रीसहित ८ मन्त्रालय बाँडफाँट भइसकेको छ। अब बाँकी १७ मन्त्रालय भागवण्डा गरिँदैछ।

जसमा रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या र श्रम, रोजगार तथा सामाजिक सुरक्षा छन्। 

कुन दललाई कति?
प्रधानमन्त्री सहित ८ मन्त्रालयको बाँडफाँट हुँदा माओवादीबाट २, एमालेबाट ५ र जनमत पार्टीबाट १ जना मन्त्री छन्।  

११ पुसमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।

एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल छन्। यस्तै, राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी विनाविभागीयमन्त्री नियुक्त भइसकेका छन्। उनीहरुको मन्त्रालय शुक्रबारै तोक्ने तयारी छ। 

यस्तै जनमत पार्टीबाट अब्दुल खान पनि मन्त्रीका रुपमा शपथ खाइसकेका छन्। उनको मन्त्रालय पनि तोकिएको छैन। 

यस्तै विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल भएको छ।

जसअनुसार एमालेले अब ४ मन्त्रालय पाउने छ। यस्तै माओवादी केन्द्रले ३ मन्त्रालय पाउने निश्चित छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब २ मन्त्रालय पाउने निश्चित छ। तर, उसले कम्तीमा अब ३ मन्त्रालयको दाबी गरेको रास्वपाका एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘हाम्रो पार्टीले ४ मन्त्रालयको दाबी गरेको थियो, उपप्रधान र गृहमन्त्री पाइसकेकोले अब ३ वटा पाउनुपर्ने प्रस्ताव लैजाने कुरा छ,’ ती नेताले भने, ‘तर, सत्ता साझेदार दलको कुरा सुन्दा अब २ वटामात्र पर्छ कि भन्ने छ। त्यसो भएमा गृहसहित हाम्रो भागमा ३ मन्त्रालय मात्र पर्छ।’

रास्वपाले स्वास्थ्य, शहरी विकास, कानुन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि मन्त्रालयमा आँखा लगाएको छ।

यस्तै सत्ता साझेदार दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले २ मन्त्रालय पाउनेछ। तर, उसले चार मन्त्रालय दाबी गरेको छ। 

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी छ।

लिङ्देनले उपप्रधानसहित ऊर्जा मन्त्रालयमा रुचि देखाएका छन्। प्रचण्ड–ओलीले त्यसमा समझदारी बनाइसकेका छन्।

यदि लिङ्देनले उर्जा नलिए शहरी विकास मन्त्रालय दिने तयारी छ।

चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले उद्योग मन्त्रालय पाइसकेकोले त्यही कायम गर्न खोजिएको छ। 

सत्ता साझेदारमध्ये नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिन प्रचण्ड–ओली तयार छन्। 

‘एकीकतृ समाजवादी र नागरिक उन्मुक्ति सरकारमा आए त्यही अनुसार शक्ति बाँडिन्छ। यदि त्यसो नभएमा सात दलभित्रै बाँकी मन्त्रालय बाँडफाँट गर्छौँ’, एक नेताले भने। 

सत्ता साझेदारमा नभए पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)लाई २ मन्त्रालय दिने तयारी छ।

त्यसरी बाँडफाँट गर्दा बाँकी ३ मन्त्रालय रहन्छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउने प्रयास गर्ने तयारी छ।

यदि लोसपा सरकारमा सहभागी नभए ३ वटै मन्त्रालय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादाीलाई दिनेबारे पनि छलफल चलेको स्रोतले जनाएको छ।

एमालेले राष्ट्रपति र सभामुख दुवै लिने सहमति गरिसकेको छ।

राष्ट्रपति चुनावमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी आए सजिलै चुनाव जितिने एमालेको विश्लेषण छ।

माओवादीको ७७०० मतभार हुँदा नेकपा एकीकृत समाजवादीको २५५० छ। सत्ता साझेदार दलको सबै मत पाए एमालेका उम्मेदवारले राष्ट्रपति चुनाव सजिलै जित्ने देखिन्छ।

पार्टी एकताकै प्रयासमा अध्यक्ष ओली लागि परे पनि तत्काल एकता सम्भव नहुने देखेर सरकारमा सहभागी गराउन लचक भएको स्रोतको दाबी छ।

‘सायद माधवकुमार नेपालजीको पार्टीलाई पनि सरकारमा सहभागी गराउँछन् होला,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सभामुख र राष्ट्रपति चुनावको लागि निर्णायक मत भएकोले उहाँहरुलाई समेट्न सक्छन्।’

तर, माधव नेपाल सहभागी हुन्छन् भन्ने ग्यारेन्टी छैन्। प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि प्रतिपक्षी बेञ्चमा बसेको र कांग्रेससँगको गठबन्धनमै रहेकोले एकीकृत समाजवादी प्रचण्ड सरकारमा सहभागी हुने संभावना कम छ।

‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोले सरकारमा जाने बाटो त खुलेको छ,’ एकीकृतका एक पदाधिकारीले भने, ‘तर, अहिलेसम्म सरकारमा सहभागी हुने विषयमा प्रस्ताव पनि आएको छैन, पार्टीभित्र छलफल चलेको पनि छैन। अध्यक्ष वा महासचिव कमरेडसँग कुरा भएको भएपनि हामीलाई जानकारी दिइएको छैन।’

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकारको नेतृत्व गर्ने सहमति गरेको विषयमा माधव नेपालले प्रचण्डसँग चित्त दुखाएका छन्।  

तर, प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका स्वतन्त्र तीनजना सांसदमध्ये कम्तीमा २ जनालाई मन्त्री बनाउने सम्भावना पनि छ।

स्वतन्त्र सांसद योगेन्द्र मण्डल, अमरेशकुमार सिंह र स्वतन्त्र चुनाव जितेर आम जनता पार्टी गठन गरेका प्रभु साह पनि मन्त्री हुने सम्भावना छ।

सातै दलबीच समझदारी बनाएर सकभर सरकारलाई समस्या नपर्नेगरी मन्त्रालय बाँडफाँट गर्ने नेताहरु दाबी गर्छन्।

रास्वपाले क्षमता भएका नेतालाई मात्रै सरकारमा पठाउने तयारी गरेको छ। 

यस्तै माओवादीले यसपटक नयाँ सांसद र युवा नेतालाई मन्त्री बनाउँदैछ।

एमालेले पनि नयाँलाई बढी अवसर दिनेगरी नाम तयार पारेको ओलीनिकट एक नेता बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .