राजनीति


वामदेव भन्छन् : राजनीतिमा भूकम्प ल्याउने योजनाकार ओली, देखिने पात्र प्रचण्ड

वामदेव भन्छन् : राजनीतिमा भूकम्प ल्याउने योजनाकार ओली, देखिने पात्र प्रचण्ड

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १६:२६, काठमाडौँ

राष्ट्रियसभाका सांसद बामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन्।

तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाई थियो। 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भने, ‘यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ। त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले)का अध्यक्ष। मलाई धेरै पत्रकारहरुले सोध्नु भएको थियो–यस पटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर? मैले भने–पात्र त प्रचण्ड नै हो। तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ। महाभारतमा अर्जुन र कृष्णहरु छन्। कृष्णलाई मुख्य मान्छन् तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो। त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ। पात्रको रुपमा अर्जुनलाई मानिन्छ। यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली। र, मुख्य पात्र प्रचण्ड हुनु भएको छ।’

सांसद गौतमले नेपालको संविधानमा केहीँ पनि प्रतिपक्ष भन्ने नरहेको जिकीर समेत गरे। एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाई थियो। 

सांसद गौतमले कांग्रेस नेताहरुले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर भनेकाले त्यसमा विश्वास गरेर अघि बढन उपयुक्त हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .