ad ad

राजनीति


प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिँदा यसकारण झस्किए ओली

माओवादी मत कांग्रेसको ‘ढोक्सा’ मा पर्‍यो भने एमालेले गुमाउनेछ राष्ट्रपति
प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिँदा यसकारण झस्किए ओली

सीताराम बराल
पुस ३०, २०७९ शनिबार १२:२१, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत प्राप्त गरेपछि त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले २५ पुससम्म कांग्रेसको ‘सदाशय’ को रुपमा व्याख्या गरिरहेका थिए। 

गठबन्धन सरकारको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम (२५ पुस) लाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘अहिले नै सरकारको पक्षमा १७५–१८० सांसदको समर्थन छँदैछ। त्यसमाथि भोलि (२६ पुस) प्रधानमन्त्रीले विश्वासको मत लिँदा ८५ देखि ८८ जना सांसदको समर्थन थपियो भने पनि अप्ठेरो मान्नु पर्दैन।’ 

उनले उल्लेख गरेको ‘८५–८८ सांसदको समर्थन’ खासमा नेपाली कांग्रेसप्रति लक्षित थियो। ओलीको ‘संकेत’ सही पनि ठहरियो। २६ पुसमा भएको मतदानमा प्रचण्डले प्रतिनिधि सभाका २ सय ६८ सांसदबाट विश्वासको मत प्राप्त गरे। त्यसमा ८६ मत कांग्रेसको थियो। 

तर, अघिल्लो दिन ‘८५–८८ सांसदको समर्थन थपिँदा अप्ठेरो मान्नु पर्दैन’ भनिरहेका ओलीलाई नै प्रचण्डले साँच्चिकै कांग्रेसबाट पनि विश्वासको मत प्राप्त हुने भएपछि अप्ठेरो लाग्न थालिसकेको थियो।  

‘कांग्रेसको समर्थनभित्र सदाशयबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ। यदि यो समर्थन कुनै जाल वा ढोक्सा होइन भने स्वागतयोग्य छ,’ विश्वासको मत उपर प्रतिनिधि सभामा भएको छलफलमा ओलीले २६ पुसमा भने, ‘यसभित्र भोलिका निम्ति अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ। त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन्।’  

कांग्रेसको ‘ढोक्सा’ केका लागि?
ओलीले बिम्बका रुपमा प्रयोग गरेको ‘ढोक्सा’ प्रचण्डलाई दिएको विश्वासको मत थियो। ‘माछा’ बिम्बको अर्थ के थियो, कांग्रेस नेताद्वय रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले प्रष्ट्याइरहेका छन्।  

‘ओलीले (कांग्रेस–माओवादीसहितको) गठबन्धन ‘हाइज्याक’ गरे, त्यसलाई ‘करेक्सन’ गर्न कांग्रेसले विश्वासको मत दिएको हो,’ प्रचण्डलाई विश्वासको मत दिएपछि पौडेलले भनेका थिए, ‘प्रचण्डलाई विश्वासको मत दिएपछि हामीले ढुक्क महसुस गरेका छौँ। अब सबै कुरा ठीक ठाउँमा आउने अपेक्षा गरौँ।’ 

कांग्रेससहितको गठबन्धनमा माओवादीलाई फर्काउन प्रचण्डलाई विश्वासको मत दिएको हो भन्ने कुरा पौडेलको उपरोक्त कथनबाट बुझ्न सकिन्छ। 

कांग्रेसका अर्का नेता डा. कोइरालाले एक कदम अघि बढेर राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख निर्वाचनलाई मध्यनजर गर्दै प्रचण्डलाई मत दिइएको प्रष्ट पारेका छन्। 

‘राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ, राष्ट्रपतिमा माओवादी केन्द्रले हामीलाई भोट हाल्छ कि भन्ने आशा पार्टीले गरेको छ,’ विराटनगर पुगेर कोइरालाले बिहीबार (२८ पुस) भनेका छन्, ‘त्यही भएर प्रचण्डजीलाई हामीले विश्वासको मत दिएका हौँ।’ 

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डको विपक्षमा सिर्फ २ र पक्षमा २ सय ६८ मतसहितको असाधारण समर्थन जब जुट्यो, तत्काल यसको असर राजनीतिमा एमालेको ‘निर्णायक हैसियत’ समाप्त भएको अर्थमा मात्र बुझिएको थियो। 

तर, कांग्रेसको उदेश्य अहिलेको सत्ता गठबन्धनमा ओलीको हैसियत घटाएर प्रचण्डको हैसियत बढाउने भन्दा गुम्ने क्रममा रहेको राष्ट्रपति पद हासिल गर्नु हो भन्ने कुरा नेताद्वय पौडेल र डा. कोइरालाको कथनले प्रष्ट पारेको छ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्री दिन नमान्दा कांग्रेसको ‘कोर्स’ बिग्रन पुगेको थियो। यति नराम्रोसँग बिग्रन पुग्यो कि, उसको ‘ढोक्सा’ मा सुरक्षित भइसकेको राष्ट्रपति पद एमालेको ‘ढोक्सा’ मा पर्ने पक्काजस्तो देखियो। 

त्यही बिग्रिएको ‘कोर्स करेक्सन’ गरेर राष्ट्रपति पद आफ्नो ‘ढोक्सा’ मा फर्काउन कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो। पौडेल र डा. कोइरालाले कथनबाट बुझ्नुपर्ने कुरा यही हो। 

प्रचण्डलाई कांग्रेसबाट समेत विश्वासको मत प्राप्त हुने कुरालाई २५ पुससम्म सहज रुपमा लिएका ओली रातारात झस्कन पुग्नुका दुई कारण छन्। 

जानकारहरुका भनाइमा, पहिलो कारण कांग्रेसको मत प्राप्त गर्ने प्रष्ट हुँदाहुँदै त्यसैदिन (२५ पुस) भएको प्रचण्ड–देउवाबीचको भेटघाट हो। दोस्रो कारण कांग्रेसको प्रचण्डप्रतिको नरमपनाले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा माओवादी मतभारलाई पार्नसक्ने प्रभाव हो। 

माओवादीले मत दिए राष्ट्रपति कांग्रेसको
सत्ता गठबन्धनबीचको ‘आलोपालो सहमति’ अनुसार ओली साढे दुई वर्षपछि प्रधानमन्त्री बन्नेछन्। तर, गठबन्धन टुट्यो भने ओली प्रधानमन्त्री बन्ने पक्का हुनेछैन। त्यसैले, ओली प्रधानमन्त्री बन्न माओवादीको साथ जरुरी छ। आफ्नै ‘पकेट’ का राष्ट्रपति र सभामुख भए प्रधानमन्त्री बन्न उनलाई अरु सहज हुनेछ। 

प्रचण्ड कांग्रेसतिर ढल्किदिए भने ओली प्रधानमन्त्री नबन्ने मात्र होइन, एमालेले राष्ट्रपति पनि गुमाउनु पर्ने हुन्छ। अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि माओवादीको मतभार निर्णायक छ।

अहिलेसम्मको चर्चा अनुसार गठबन्धनको समर्थनमा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने छ भने कांग्रेसबाट संभवतः रामचन्द्र पौडेल उम्मेदवार बन्नेछन्। 

संघीय संसद् र प्रदेश सभाका सांसदहरु मतदाता हुने राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ७ सय ८६ हो। संविधान अनुसार राष्ट्रपति निर्वाचित हुन यसको ५० प्रतिशत अर्थात् २६ हजार ३ सय ९४ मतभार आवश्यक पर्छ। 

अहिले सत्ता गठबन्धनमा आवद्ध दलमध्येको एमालेको १५ हजार २ सय ३३, माओवादीको ७ हजार ७ सय ७६, राप्रपाको २ हजार ४ सय ५०, जसपाको २ हजार १ सय ४५, रास्वपाको १ हजार ५ सय ८०, जनमतको १ हजार २ सय ४२, नागरिक उन्मुक्ति पार्टीको ८ सय ४ गरी कुल ३१ हजार २ सय ३५ मतभार छ। यो भनेको विजयका लागि आवश्यक भन्दा झण्डै ६ हजार बढी मतभार हो। 

अर्काेतिर कांग्रेससहित विपक्षमा रहेका दलहरुको मतभार २० हजार ७१ छ। यसमा कांग्रेसको १६ हजार २ सय २१, एकीकृत समाजवादीको २ हजार ६ सय ७३, लोसपाको ९ सय ७१ र राजमोको २ सय ६ मत छन्।  

यस हिसाबले कांग्रेससहितको यो गठबन्धनलाई राष्ट्रपतिमा विजय हासिल गर्न मोटामोटी ६ हजार ३ सय २३ मत आवश्यक पर्छ। 

तर, ७ हजार ७ सय ७६ मतभार रहेको माओवादी केन्द्र पुरानै गठबन्धनमा फर्क्यो भने एमालेसहितको गठबन्धनले राष्ट्रपति निर्वाचनमा २३ हजार ४ सय ५९ मत मात्र प्राप्त गर्नेछ। कांग्रेस–माओवादी सहितको नयाँ गठबन्धनले २७ हजार ८ सय ४७ मत प्राप्त गरी राष्ट्रपतिमा विजय हासिल गर्नेछ। 

अर्थात्, माओवादीको साथ पाएन भने एमालेका राष्ट्रपति उम्मेदवार झण्डै तीन हजार मतअन्तरले पराजित हुनेछन्। त्यो पनि अहिलेको सत्ता गठबन्धनमा सामेल अन्य दलले साथ दिएको स्थितिमा मात्र। 

हुन त प्रचण्डलाई प्रधानमन्त्री बनाइँदा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। सहमतिप्रति माओवादी नेतृत्व इमान्दार रहँदा पनि उसका सबै मत प्राप्त नहुन सक्छन्। किनकि राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन गोप्य मतदानका आधारमा हुन्छ। प्रदेश सभा सदस्यसमेत मतदाता हुन्छन्। यस हिसाबले शत–प्रतिशत मत गठबन्धनको पक्षमा नजाने सम्भावना पनि रहन्छ। 

त्यसबाहेक ओलीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाएका होइनन्। कांग्रेस–माओवादी गठबन्धन तोड्नका लागि मात्र उनले प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन्। एमाले–माओवादी केन्द्रबीचको तुष पूर्णतः पखालिएको छैन। ‘सत्ताकब्जा’ का लागि ओलीले दुई वर्षपछि आफू प्रधानमन्त्री र अहिले राष्ट्रपति–सभामुख लिन खोजेका हुन् भन्ने आम ठम्याइ कायमै छ। 

यही ‘माओवादी मनोविज्ञान’ र ‘आम मनोविज्ञान’ बुझेर नै कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो। ताकि आधिकारिक तवरमा माओवादी केन्द्रले एमालेलाई समर्थन गरे पनि गोप्य मतदानमा माओवादी मत कांग्रेसको ‘ढोक्सा’ मा आओस्। र, प्रचण्डलाई कांग्रेसबाट प्राप्त विश्वासको मतले ओली एवं एमालेमा थपेको संशयको कारण पनि यही हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .