ad ad

राजनीति


राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने प्रचण्डको संकेत, एमाले मान्छ?

राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने प्रचण्डको संकेत, एमाले मान्छ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच माघ ३ गते सर्वदलीय बैठक बोलाउने सहमति भएको छ


पूर्ण बस्नेत
पुस ३०, २०७९ शनिबार १८:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन्।

नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री स्वयंले राष्ट्रपति र सभामुख पदमा कांग्रेससँग छलफल भइरहेको संकेत गरेका हुन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति हुँदा नै एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख (पहिलो आधा कार्यकाल) पद एमालेले लिने सहमति भएको विश्वास गरिएका बेला प्रचण्डले त्यस्तो सहमति नभएको बताएका हुन्। 

‘राष्ट्रपति, सभामुख कसलाई बनाउने भन्ने लिखित सहमति भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले शनिबार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग भने, ‘छलफल गर्दै जाने भन्ने छ, अब माघ ३ गते बस्ने सर्वदलीय बैठकमा त्यसबारे छलफल हुन्छ र सहमतिमा पुगिन्छ।’

प्रचण्डले आज शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग ३ गते सर्वदलीय बैठक बोलाउने सहमति भएको बताए। 

ओलीकै सहमतिमा हुन लागेको सर्वदलीय बैठक कांग्रेससहितको हो, जसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख पद बाँडफाँटबारे छलफल गर्ने सहमति हुनुले एमाले पनि कांग्रेससँग समेत सत्ता बाँडफाँट गर्न तयार भएको जनाउ दिन्छ।

प्रचण्डले सम्पादकहरूसँग त्यही संकेत गरे। 

‘सात दल राष्ट्रपतिकोमा गएर मलाई प्रधानमन्त्री प्रस्ताव गर्दासम्म कांग्रेस विपक्षमा बस्ने भन्ने थियो,’ प्रचण्डले भने, ‘अब कांग्रेसले मलाई विश्वासको मत दिएपछि मेरो कोसिस राष्ट्रपति र सभामुखमा पनि (कांग्रेस सहितको) सहमतिबाट जाउँ भन्ने हुन्छ।’

‘३ गते मलाई विश्वासको मत दिने पार्टीहरूको सर्वदलीय बैठकमा यसबारे छलफल हुन्छ र एउटा सहमति बन्छ,’ प्रचण्डले थपे।

तर प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आज भएको छलफलमा भोलि साँझसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको बताए, जसले कांग्रेस पनि सरकारमा सहभागी हुने वा राष्ट्रिय सहमतिको सरकार बनाउने चर्चाको खण्डन गर्छ। 

‘भोलि साँझसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने र पर्सि सोमबार मन्त्रिपरिषदको पूर्ण बैठक राख्ने सहमति ओलीजीसँग आज भएको छ,’ प्रचण्डले भने। 

माओवादी केन्द्रसम्बद्ध स्रोतहरूका अनुसार राष्ट्रपति र सभामुखमध्ये एक पद कांग्रेसलाई दिनेबारे सहमति जुटाउने कोसिस प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन्।

आज बिहान ओलीसँग भएको छलफलमा ३ गते बैठक बोलाउने सहमति भएकाले एक पद कांग्रेसलाई दिने सहमति जुटेको पनि हुन सक्ने माओवादीका एक नेताले दाबी गरे। 

‘एमाले राष्ट्रपति छाड्न तयार छैन, त्यसो हुँदा कांग्रेसलाई सभामुख दिने सहमति हुनसक्छ,’ ती नेताले भने, ‘तर मन्त्रिपरिषदले भोलि नै पूर्णता पाउने भएकाले कांग्रेस सरकारमा सहभागी हुँदैन, बरु देउवा सरकारले नियुक्ति दिएका कतिपय संवैधानिक पद र राजदूत नहटाउन कांग्रेसले प्रधानमन्त्रीसँग आग्रह गर्न सक्छ।’

तर एमालेका एक नेताले अहिलेसम्म कांग्रेससँग राष्ट्रपति र सभामुख पद बाँड्ने सहमति एमाले र माओवादीबीच नभएको बताए। 

‘कांग्रेसबाट पनि विश्वासको मत पाएकाले प्रधानमन्त्रीले शिष्टाचारका लागि कांग्रेससहितको राष्ट्रिय सहमतिको कुरा गर्नु अस्वाभाविक होइन,’ एमालेका नेताले भने, ‘तर राष्ट्रपति वा सभामुख पद कांग्रेससँग भागबन्डा गर्ने भन्ने कुरा भएको छैन। कांग्रेस सरकारमा आउने पनि होइन।’

‘सबैलाई थाहा छ– एमालेले राष्ट्रपति र पहिलो आधा कार्यकाल सभामुख पद लिने सहमति अनुसार पहिलो आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो, त्यो सहमतिबाट प्रधानमन्त्री प्रचण्ड यताउता हुनुहोलाजस्तो लाग्दैन’, उनले थपे।  

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .