नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकीकरणको सम्पुर्ण काम नसकिँदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पूर्व नेकपा एमालेको सबै कमिटीहरुको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोखेका हुन्। उनले माओवादीसँगको एकीकरण लगत्तै पार्टीका सम्पुर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, ८ लाख बढी कार्यकर्ताहरु २० महिनामा सम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा पार्टीभित्र धमिरा लाग्दै गएको दाबी गरे।
उनले भने, ‘खुसीको क्षणमा हामीले अर्को अपराध गर्यौं पार्टी विघटन गरेर। के जरुरी थियो विघटन गर्नु? के जरुरी थियो पार्टीका सारा कमिटीहरु विघटन गर्नुपर्ने? त्यो ब्लन्डर हो। तर त्यो ब्लन्डर भएकाले हामीले २० महिनासम्म चुपचाप बस्नुपर्यो। ८ लाख सदस्यहरु चुपचाप बस्नुपर्ने बाध्यता खडा भयो। क्रियाशिल भएको भए पार्टीको क्रियाशिलता रहीरहन्थ्यो। पार्टी भित्र धमिरा लाग्ने थिएन। पार्टी भित्रै हिलो जम्ने थिएन। धुलो जम्ने थिएन। फोहर मैला जम्ने थिएन। निस्क्रियता धुलो मैलो जम्ने प्रक्रियाको अंग हुन्छ।’
उनले पार्टीले सरकारलाई ठोस निर्देशन दिन नसकेको तर्क गरे। सरकारले पार्टी सञ्चालन गर्ने काम भएमा उल्टो दिशामा अघि बढिने भन्दै उनले ‘टाउकोले पुच्छर हल्लाउनु’ पर्ने टिप्पणी गरे।
उनले भने, ‘पार्टीले ठोस दिशा दिनुपर्याे। निर्देशन दिनुपर्याे। भिजन दिनुपर्याे। सरकार त्यही ढंगले सञ्चालित हुनुपर्याे। सरकारबाट पार्टी सञ्चालित हुने होइन। पार्टीबाट सरकार सञ्चालित हुनुपर्याे। टाउकोले पूच्छर हल्लाउनु पर्याे। पूच्छरले टाउको होइन। यदि पूच्छरले टाउको हल्लाउन थाल्यो भने हामी उल्टो दिशा तर्फ जान्छौं। सरकारले पार्टी सञ्चालन गर्न थाल्यो भने हामी उल्टो दिशामा जान्छौं।’
उनले यथास्थितिबाट माथि उठ्न पनि सरकारलाई सुझाव दिए। उनले यथास्थितिबाट माथि नउठ्ने हो भने शुसासन कायम हुन नसक्ने र जनताले व्यवस्था परिर्वतनको महसुस गर्न नसक्ने तर्क गरे।
लोकतन्त्रलाई सम्मुन्नत गर्ने अभिभारा वर्तमान सरकारको काँधमा रहेको भन्दै उनले रुपान्तरणलाई आत्मसाथ गर्दै व्यवहारमा परिर्वतन ल्याउनु आवश्यक रहेको बताए।

प्रतिक्रिया