ad ad

राजनीति


उपप्रधानमन्त्री लिङ्देनको निर्देशन : सरुवा, बढुवा र नियुक्तिको फाइल लिएर मन्त्रालय नआउनू

उपप्रधानमन्त्री लिङ्देनको निर्देशन : सरुवा, बढुवा र नियुक्तिको फाइल लिएर मन्त्रालय नआउनू

नेपालखबर
माघ ५, २०७९ बिहिबार १९:६, काठमाडौँ

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले सरकारमा रहँदा आफूले कुनै किसिमको भ्रष्टाचार र अनियमितता नगर्ने बताएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उनले पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित पार्टीको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री, मन्त्रीहरु, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको सम्मान कार्यक्रममा उनले यस्तो भनेका हुन्। 

पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै उनले 'भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह' भन्ने नारालाई व्यवहारमै प्रमाणित गर्ने बताए। 

'आलोचकले यसलाई नाराको रुपमा बुझेका छन्', उनले भने, 'राप्रपाले यो विषय व्यवहारिक रुपमै कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौं।'

उनले शुभेच्छुक र शुभचिन्तकको पंक्तिले राप्रपा सरकारमा नजाओस् भन्ने चाहना राखेका पनि स्वीकारे।

'यसलाई राप्रपा पनि अरु जस्तै नबिग्रियोस् भन्ने सकारात्मक चाहनाको रुपमा लिएका छौँ', उनले भने, 'स्वागतमा होइन, सरकारबाट निस्किँदा फूलमाला लगाउने गरी परिणाममुखी काम गर्छौं, हामी आफ्नो जिम्मेवारीमा खरो उत्रन्छौं।'

उनले कार्यकर्तालाई सरुवा, बढुवा र नियुक्तिको फाइल लिएर नआउन पनि भनेका छन्। 'सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गर्छु। विकास र योजनाका विषय ल्याउनुस्, स्थानीय ठाउँमा तपाईंको शीर ठाडो पार्ने जिम्मेवारी हामी लिन्छौं', उनले भने, 'तर सरुवा, बढुवा र नियुक्तिको विषय सम्भव हुने छैन। यसले तपाईंलाई सम्बन्धित व्यक्तिका अगाडि लज्जित तुल्याउनेछ, त्यस्तो काम गर्न सकिँदैन।'

उनले सरुवा, बढुवा र नियुक्तिमा प्रत्यक्ष, अप्रत्यक्ष आर्थिक स्वार्थ जोडिएको हुने बताए। 'हामी त्यस्तो स्वार्थमा जोडिन हुँदैन भन्नेमा प्रष्ट छौँ, तपाईहरु पनि नजोडिनुस्', उनले भने। 

अध्यक्ष लिङ्देनले केन्द्रदेखि प्रदेशका मन्त्री वा सार्वजनिक पद धारण गरेकासमेत कुनै घुस वा आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भए एक निमेष विलम्ब नगरी कारबाही गर्ने बताए। उनले उनीहरुलाई सामाजिक जीवन र प्रतिष्ठा उठ्न नसक्ने बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए। 

उनले राप्रपालाई आशाको नजरले हेर्नेलाई निराश नबनाउने बताए। 'हाम्रा प्रतिबद्धता पूरा गर्न यो कठोर अग्नीपरिक्षामा होमिएका हौँ', उनले भने, 'तपाईँहरुको सदाझैँ साथ, सहयोग, समर्थन र हौसलाको अपेक्षा राखेका छौँ।'

उनले शुभेच्छुक, शुभचिन्तक र पार्टीका कार्यकर्ताहरूलाई धैर्य गर्न आग्रह गरेका छन्। 'हाम्राबारे अहिल्यै मूल्यांकन गर्न र कुनै धारणा बनाउन हतारो हुनेछ', उनले अन्तिममा भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .