ad ad

राजनीति


कांग्रेसबाट राष्ट्रपतिको दौडमा यी चार नेता

कांग्रेसबाट राष्ट्रपतिको दौडमा यी चार नेता

फाइल तस्बिर


केशव सावद
माघ ११, २०७९ बुधबार १९:१, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षीय दोस्रो कार्यकाल आगामी फागनु २९ गते सकिँदै छ। 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार पदावधि सकिनु एक महिनाअघि नै नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नु पर्छ।

नयाँ राष्ट्रपतिका लागि निर्वाचन आयोगले मिति घोषणा गरेको छैन। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो। 

बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपतिमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरिएको बताएका थिए। तर उम्मेदवारबारेमा पार्टीभित्र औपचारिक रुपमा छलफल सुरु भइनसकेको उनले बताएका थिए। 

‘राष्ट्रपतिमा नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ भन्ने हाम्रोबीच कुरा भयो,’ पदाधिकारी तथा पूर्वापदाधिकारी बैठकलगत्तै उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिया दिँदै भनेका थिए, ‘व्यक्तिबारे कुनै कुरा भएको छैन।’ 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका तर्फबाट अघि सारिएका उम्मेदवारलाई जिताउन अन्य दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय बैठकले गरेको बताएका थिए। 

‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले अरु दलहरुको सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण रहेको छ,’ बैठकपछि उनले भनेका थिए, ‘त्यसका लागि संसदका अन्य दलहरुसँग छलफल अगाडि बढाउने निर्णय बैठकले गरेको छ।’

कांग्रेसले राष्ट्रपतिको आशन्न निर्वाचनमा कसलाई उम्मेदवार बनाउँछ भन्ने निश्चित छैन। तर, कांग्रेस वृत्तमा राष्ट्रपतिको उम्मेदवारका लागि ४ नेताको नाम चर्चामा छ। 

धुम्बाराहीमा बसेको सोमबारको बैठकमा चार नेताको नामबारे चर्चा भएको थियो। बैठकमा सहभागी नेताहरुका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माको नाम राष्ट्रपतिको उम्मेदवारका रुपमा आएको हो। 

बैठकमा सहभागी एक नेताकाअनुसार पौडेल र सिटौलाको नाम नै लिएर सभापति देउवाले राष्ट्रपतिको आकांक्षीका रुपमा प्रस्तुत गरेका थिए। ती नेताका अनुसार पौडेल र सिटौलाको नाम आउँदा अन्य नेताले श्रेष्ठ र विश्वकर्माको पनि चर्चा गरेका थिए।

‘सभापतिज्यूले हाम्रो पार्टीबाट रामचन्द्रजी र सिटौलीजी आकांक्षी हुनुहुन्छ भन्नुभयो,’ ती नेताले भने, ‘उहाँले त्यसो भन्दा अरु साथीहरुले गोपालमानजी र मानबहादुरजी पनि हुनुहुन्छ। उहाँहरुले पनि इच्छा राख्नुभएको छ भने। त्यसमा सभापतिज्यूले हो–हो गोपालमानजी र मानबहादुरजीले पनि भन्नुभएको छ, भन्नुभएको हो।’

कांग्रेस प्रवक्ता महतले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौलासँगै नेताद्वय श्रेष्ठ र विश्वकर्माको पनि नाम राष्ट्रपतिको आकांक्षीका रुपमा आएको पुष्टि गरे। 

‘उहाँहरु (पौडेल र सिटौला) बैठकमै हुनुहुन्थ्यो। सभापतिले दुवैको नाम लिनुभएको थियो,’ उनले नेपालखबरसँग भने, ‘अरुले गोपालमान र मानबहादुरले पनि इच्छा राख्नुभएको छ नि भन्नुभएको हो। सभापतिज्यूले पनि हो भन्नुभा’थ्यो।’  

कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारका लागि ४ जनाले आकांक्षा देखाए पनि पौडेल र सिटौलामध्ये एक उम्मेदवार बन्ने सम्भावना बलियो छ। 

मंसिर ४ मा सम्पन्न निर्वाचनलगत्तै राष्ट्रपतिमा आकांक्षा राखेका वरिष्ठ नेता पौडेलले पछिल्लो समय राष्ट्रिय सहमतिमा जोड दिँदै आएका छन्। 

वरिष्ठ नेता पौडेलले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका थिए। 

‘आज तीनवटा कारणले देशलाई राष्ट्रिय सहमतिको आवश्यकता छ। एउटा कुरो मुलुकको जुन अर्थतन्त्र छ, यो कमसल आर्थिक अवस्था।अर्काे भू–राजनीतिक दबाब,’ उनले भने, ‘अर्काे कुरा हाम्रो शान्ति प्रक्रिया अझै पूरा भइसकेको छैन। १२ वर्षे द्वन्द्वले देशलाई कति ठूलो घाउ लागेको छ? कति ठूलो चोट परेको छ? शान्ति प्रक्रियालाई पूरा गर्नु हाम्रो कर्तव्य हो।’

पुस १० गते ५ दलीय गठबन्धन टुटेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएर कांग्रेस प्रतिपक्षमा पुगेपछि सिटौलाको नाम पनि राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा आएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग झापा–३ मा पराजित सिटौलाले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

कांग्रेसको १४ औं महाधिवेशनमा उनले आफ्नो समूहका युवा नेता प्रदीप पौडेललाई संस्थापन समूहबाट महामन्त्रीमा अघि सारेर देउवालाई सभापतिमा सघाएका थिए। 

महाधिवेशनमा नेता पौडेलले पनि ‘अदृश्य’ रुपमा देउवालाई सहयोग गरेको कांग्रेसमा चर्चा हुने गरेको छ। 

सिटौला कांग्रेसको १३औं महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’को नेतृत्वकर्ताका रुपमा चिनिन्छिन्। 

सिटौलाले बेला–बेला पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको असमझदारी हटाउन समन्वयकारी भूमिकासमेत निर्वाह गर्दै आएका छन्। 

अर्का आकांक्षी विश्वकर्माले १४ औँ महाधिवेशनमा संस्थापन पक्षबाट दलिततर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए। 

उनी कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको संस्थापक अध्यक्ष हुन्। दुईपटक सांसद तथा वातावरण, विज्ञान तथा प्रविधिमन्त्री भइसकेका विश्वकर्मा कांग्रेसको नीति तथा प्रशिक्षण विभाग प्रमुख रहिसकेका छन्। 

उनले पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए। 

उनले लामो समय अमृत साइन्स क्याम्पसमा प्राध्यापन गरेका थिए। विश्वकर्मा मन्त्री हुँदा पनि प्राध्यापनलाई निरन्तरता दिएर चर्चामा आएका थिए। 

अर्का आकांक्षी श्रेष्ठ मंसिर ४ मा सम्पन्न निर्वाचनका चुनावी कमान्डर थिए। कांग्रेसले पूर्वउपसभापति श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो। 

उनी समानुपातिकमा आदिवासी–जनजाति पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा बसेका थिए। तर उनी सांसदमा निर्वाचित हुन पाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .