राजनीति


स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण: जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै भेट्न नगई बस्न सकिनँ

स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण: जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै भेट्न नगई बस्न सकिनँ

प्रेम आचार्यलाई भेट्न गएका बेला स्वास्थ्य राज्यमन्त्री कार्की।


नेपालखबर
माघ १३, २०७९ शुक्रबार ९:४७, काठमाडौँ

आत्मदाह गरेका प्रेम आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै व्यापक आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन्। 

गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो। उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो। त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन्। 

त्यसको भिडिओसहित समाचार सार्वजनिक भएपछि स्वास्थ्य राज्यमन्त्रीले आईसीयू कक्षमा पस्दा प्रोटोकल पालना नगरेको र प्रचारका लागि त्यसो गरेको भनी आलोचना भइरहेको छ। 

त्यस विषयमा राज्यमन्त्री कार्कीले आज शुक्रबार बिहान फेसबुकमा लामो स्टाटस लेखेर स्पष्टीकरण दिएकी हुन्।  

आत्मदाहको प्रयास गरेका आचार्यले चाँडै संसार छाड्दैछ भन्ने थाहा पाएरै आफू उनको आँखा तथा बोली बन्द हुनुअघि नै भेट्न गएको राज्यमन्त्री कार्कीले उल्लेख गरेकी छन्।

‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ऊ चाँडै नै यो संसार छोड्दै छ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनुअगावै, उनका बोली सधैँको लागि रोकिनुअगावै म उहाँलाई भेट्न पुगेको थिएँ’, उनले भनेकी छन्, ‘भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ, धन्न मैले ढिला गरिनछु।’

आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझेपछि आफूभित्रको ‘मानव’ले उनलाई नभेटी रहन नदिएको राज्यमन्त्रीको कार्कीको भनाइ छ।

‘आत्मदाह गरेका प्रेम आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिनँ, मभित्रको शल्यचिकित्सक उहाँको स्वास्थय स्थिति, उहाँको चेत र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिनँ र मभित्रको ‘राज्य प्रतिनिधि’ जीवनबाट आजित भएर जीवन त्याग्दै गरेको यही देशको नागरिकलाई अन्तिम घडीमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनी बस्न सकिनँ।’

स्वास्थ्य राज्यमन्त्री कार्कीले आफू कुनै प्रचारका लागि नगएको र आफ्ना तर्फबाट भिडिओ/फोटो नखिचेको स्पष्टीकरण पनि दिएकी छन्।  

‘खबर सुन्नेबित्तिकै हतार–हतार म र मेरो स्वकीय मात्र गएका थियौँ, हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरूले ओ हो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आईसीयूसम्म पुर्‍याउन आउनुभयो, ड्युटीको डाक्टर भने आईसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो’, उनले भनेकी छन्, ‘अहिले सबैको हातहातमा मोबाइल भएको अवस्थामा तत्पश्चात् त्यहाँभित्र को कसलाई छिर्न दिइयो, को को छिर्‍यो , को छिरेन, को बिरामीको अभिभावक, को मिडिया थियो, हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडिओ खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौँ।’ 

हेर्नुहोस् स्वास्थ्य राज्यमन्त्री कार्कीकाे स्टाटस :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .