नेकपा माओवादी केन्द्रले यही महिना हुने भनिएको राष्ट्रपति निर्वाचनका लागि आफूलाई राष्ट्रिय सहमतिको पक्षमा उभ्याएको छ।
बिहीबारदेखि पेरिस डाँडामा जारी स्थायी समिति बैठकपछि शुक्रबार अपरान्ह सञ्चारकर्मीहरुसँग बोल्दै पार्टी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले यसबारे जानकारी दिएका हुन्।
'राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा आवाज आएको छ। बैठकमा सहभागी अधिकांश नेताहरुले राष्ट्रपतिका लागि साझा व्यक्ति आवश्यक पर्ने बताउनु भएको छ', उनले भने, 'राष्ट्रिय सहमतिको दिशामा हामी जान्छौँ। सहमति खोज्ने नीति छ।'
उनले त्यो राष्ट्रिय सहमति नेकपा एमालेसहितको हुने पनि बताएका छन्। 'राष्ट्रिय सहमति हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिँदैन। तर त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो', उनले थपे, 'हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन।'
उनले अहिले नै राष्ट्रपतिमा कसलाई सघाउने भन्ने टुंगो नभएको उनले बताए। 'चुनावका बेला उम्मेदवारबारेको सिन क्लियर हुन्छ', उनले भने, 'राष्ट्रपतिको निर्वाचन २५ देखि २८ माघको बीचमा हुन्छ। यसका लागि राष्ट्रिय सहमति कायम गर्न खोज्ने दिशामा छौँ। त्यसका लागि अरु पार्टीसँग पनि हामी छलफल गर्छौँ।'
प्रतिक्रिया