ad ad

राजनीति


कांग्रेस इतर समूहमा खटपट, गगनले पाखा लगाउन खोजेको शेखरको शंका

कांग्रेस इतर समूहमा खटपट, गगनले पाखा लगाउन खोजेको शेखरको शंका

केशव सावद
माघ १५, २०७९ आइतबार १९:५९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संस्थापन इतर समूहमा चिसोपन बढ्दै गएको छ। मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहमा बेमेल देखिएको हो।  

२०७८ मंसिर अन्तिम साता सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाखा लगाएर कोइरालालाई सभापतिमा अघि सारेका नेताहरुको बढ्दो महत्वकांक्षाका कारण इतर समूहमा खटपट सुरु भएको चर्चा कांग्रेस वृत्तमा छ। 

पुस ५ गते कांग्रेस संसदीय दलको नेतामा कोइरालालाई ‘पाखा’ लगाएर महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएसँगै बढेको चिसोपनले इतर समूहमा पछिल्लो समय प्रष्ट दुई कित्ता देखिएको छ।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीले दिएको विश्वासको मतमा पनि इतर समूहमा दुईथरी मत देखिएको थियो। विश्वासको मतबारे छलफल गर्न संसद् भवनमै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमै उक्त समूह दुई भागमा विभक्त भएको थियो। 

समूहको नेतृत्व गर्दै आएका नेता कोइराला विश्वासको मत दिने विषयमा सभापति शेरबहादुर देउवाकै ‘लाइन’ मा सहमत देखिएका थिए भने महामन्त्री थापाले फरक मत दर्ज गराएका थिए। फरक मतमा उनलाई इतर समूहबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले साथ दिएका थिए। 

यद्यपि, दलको निर्वाचनमा महामन्त्री थापालाई सघाएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र १४ औं महाधिवेशनबाट देउवालाई सघाउँदै आएका प्रकाशमान सिंहले पनि फरक मत राखेका थिए।

कार्यसम्पादन समितिको बैठकपछि संसद् भवनमै बसेको संसदीय दलको बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पनि विश्वासको मत दिने निर्णयमा फरक मत राखेका थिए। उनी पनि दलको निर्वाचनमा महामन्त्री थापाको पक्षमा उभिएका थिए। 

इतर समूहमा दलको नेता चयन, विश्वासको मत र आगामी महाधिवेशनको नेतृत्वका विषयमा चिसो बढेको नेताहरु बताउँछन्। इतर समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापाले आफूलाई वैकल्पिक नेता रुपमा उभ्याउन खोजेपछि कोइरालानिकट नेताहरु झस्किएका छन्। 

पार्टीको विधानअनुसार नियमित समयमै महाधिवेशन आयोजना गरिए पनि १५ औँ महाधिवेशन आउन तीन वर्ष बाँकी छ। तर, थापाले १५ औँ महाधिवेशनलाई लक्षित गरेर कोइरालालाई पाखा लगाउने राणनीति बुनेको भन्दै कोइरालानिकट नेताहरु सशंकित देखिन्छन्। 

सोही आशंकामा माघ ८ गते बत्तिसपुतलीमा बसेको समूहको बैठकमा उपसभापति धनराज गुरुङले नेता कोइरालालाई १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। 

‘हाम्रो समूहबाट १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कोइरालालाई अघि सारौँ र आजैदेखि रूपान्तरण र पुस्तान्तरणका मुद्दा लिएर जाऔँ,’ उनले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भनेका थिए, ‘समयमा सहमति गरेर अघि बढ्न सकेनौँ भने भोलि मलाई पनि आकांक्षा जाग्न सक्छ। महामन्त्री गगनजीलाई पनि आकांक्षा जाग्न सक्छ। त्यसले फेरि पनि हामी एक हुन नसक्ने अवस्था आउन सक्छ।’ 

संसदीय दलको चुनाव, समूहको बैठकमा उपसभापति गुरुङले प्रवेश गराएको विषय र उनले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले शंकाको वातावरण उत्पन्न गरेको महामन्त्री थापा पक्षीय नेताको बुझाइ छ। यद्यपि, समूह नै दुई कित्तामा विभक्त भएर फरक–फरक ढंगले कामहरु भने नभएको उनले जिकिर गरे। 

‘दलको चुनावमा मत नआउनु, गुटको बैठकमा उपसभापतिले सभापतिको उम्मेदवारबारे प्रस्ताव गर्नु र मिडियामा अन्तर्वार्ता दिनुले शंकाको वातावरण बनेको कुरालाई नकार्न सकिँदैन,’ महामन्त्री निकट एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘तर, शंका गर्ने ठाउँ बने पनि अनेक कामहरु समूहमै आपसी सर–सल्लाह भइरहेका छन्।’    

बैठकपछि महामन्त्री थापानिकट नेताहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयमा भ्रम सिर्जना गर्न खोजेको कोइराला पक्षको आरोप छ। उक्त बैठकमा ‘सरकारलाई विश्वासको मत दिएर गल्ती गर्यौँ’ भन्ने समाचार गलत नियतका साथ प्रचार गरिएको कोइराला पक्षको दाबी छ। 

महामन्त्री थापानिकट नेताहरुले उक्त समूहको बैठकमा दलको निर्वाचनमा कम मत खस्नुको कारण खोजेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार दलको नेताका लागि भएको निर्वाचनमा इतर समूहको मत एकीकृत हुन नसक्नुको कारणबारे कुरा उठेको थियो। 

बैठकमा समूह भनेर लागेपछि त्यसमा आबद्ध सबैको मत आउनुपर्ने अन्याथा समूह भनेर हिँड्न नहुनेसमेत कुरा उठेको पनि ती नेताले बताए। 

‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन, किन कम आयो? टिम भनेर लागेपछि टिममा भोट आउन पर्यो नि, कि टिम भनेर हिँड्न भएन,’ ती नेताले भने।

नेता कोइरालाले माघ ९ गते सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भएको भनेर नभनेको प्रस्टीकरण नै दिएका थिए। 

विश्वासको मत दिनु गलत थियो भन्ने भाष्य स्थापित गराउन महामन्त्री थापाको पक्षबाट भ्रम सिर्जना गराउन खोजिएको कोइराला पक्षको आरोप छ। नेता कोइराला निकट मानिने सहमहामन्त्री बद्री पाण्डेले पनि विश्वासको मतका बारेमा सञ्चारमाध्यममा आएजस्तो समूहको बैठकमा कुरा नउठेको दाबी गरेका छन्। 

‘डाक्टर शेखर कोइरालाले त बैठक सुरुवात मात्रै गर्नुभएको थियो। उहाँले आफ्ना धारणा त्यहाँ प्रस्तुत गर्नुभएको थिएन। बैठकमा धारणा राख्नेहरुले पनि समग्र समीक्षा गर्नुभएको हो। गठबन्धन गर्न हुन्थ्यो, गर्न हुन्नथ्यो, गठबन्धन जोगाउन के कमिकमजोरी भए र, विश्वासको मत दिनु पर्ने आधार, कारणहरु के हुन् हामी स्पष्ट हुनुपर्छ भन्ने ढंगका समीक्षात्मक कुराहरु प्रस्तुत भएका थिए,’ उनले भने।

समूहको बैठकमा भएको छलफलबारे सञ्चारमाध्यममा त्यस्तो समाचार आएपछि इतर समूहले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको भोलिपल्ट (माघ १०) का लागि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरेको थियो। यद्यपि, उक्त बैठक सभापति देउवाको आग्रहमा स्थगित गरिएको पनि बताइन्छ। 

उपसभापति गुरुङले समूहका तर्फबाट भावी सभापतिमा नेता कोइरालाको उम्मेदवारीको विषय प्रवेश गराएपछि खटपट झन् बढेको बताइन्छ। उनले १४ औँ महाधिवेशनमा पद हत्याउन मात्रै कोइराला समूहबाट चुनाव नलडेको जिकिर गर्दै अहिले पनि उनलाई सबैले साथ दिनुपर्नेमा जोड दिँदै आएका छन्। 

‘एक वर्ष नबित्दै रुपान्तरणका लागि शेखर कोइरालालाई नालायक भन्न मिल्छ? मिल्दैन। हुँदैन। मेरो नैतिकताले दिन्न। अरुको नैतिकताले पनि दिन्न,’ उनले भनेका छन्, ‘शेखर कोइरालालाई हामीले पूर्ण रुपमा साथ दिनुपर्छ। के हिजो हामी शेखरको प्यानलमा बसेको उपसभापति महामन्त्रीमा जित्न मात्र हो त?’  

इतर समूहमा कोइरालाको पक्षमा उपसभापति गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, सरिता प्रसाईं, रामकृष्ण यादव, सञ्जयकुमार गौतम, डा. गोविन्द पोखरेललगायतका नेता छन्। 

महामन्त्री थापाको पक्षमा अर्जुननरसिंह केसी, बलबहादुर केसी, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, जगदीश्वर नरसिंह केसी, मनोजमणि आचार्य, डिल्लीराम सुवेदीलगायतका नेताहरु छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .