ad ad

राजनीति


रवि लामिछानेको सांसद पद रिक्त, सभामुखले दिए संसदलाई सूचना

रवि लामिछानेको सांसद पद रिक्त, सभामुखले दिए संसदलाई सूचना

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०७९ बुधबार १८:४, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना बुधबार प्रतिनिधिसभालाई दिइएको छ। 

सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका हुन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट शुक्रबार आएको उत्प्रेषणको आदेशले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायत निर्णय बदर भएको जानकारी घिमिरेले सुनाएका हुन्।

सर्वोच्चले रविको नागरिकता मुद्दासम्बन्धी निर्णयको जानकारी तीन दिनअघि नै प्रतिनिधिसभालाई दिएको थियो। 

अधिवक्ता रविराज बसौला र सिन्धुलीका युवराज पौडेल सफलसहित रिट निवेदक रहेको मुद्दालाई एकै ठाउँ राखेर संवैधानिक इजलासले फैसला गरेको थियो। खारेज भइसकेको नागरिकता प्रयोग गरेको ठहरसहित अदालतले लामिछाने सांसद पदमा अयोग्य भएको फैसला  दिएको थियो। 

'रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन । निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारवाही नेपालको संविधानको धारा १३३ को उपधारा (२) (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,' भन्ने सर्वोच्चको फैसलाको व्यहोरा घिमिरेले संसदमा सुनाएका हुन्।

रविको सांसद पद गएपछि अब चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुनेछ। उपनिर्वाचन अघि बढाउनेबारेमा निर्वाचन आयोगले आवश्यक निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .