नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन्।
महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे। उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे।
महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे। ओली कांग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाई थियो।
महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ। नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ। राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरी त्यसलाई लोकतान्त्रिक अभ्यासको रुपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ। म के सार्वजनिक रुपमा सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत गर्यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली कांग्रेसको उम्मेदवार बन्नु भएको थियो। त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुुनुहुन्थ्यो। नेपाली कांग्रेस पार्टी विपक्षमा थियो। विपक्ष दल नेपाली कांग्रेसले अगाडि सारेको उम्मेदवार डा. रामवरण यादव देशको राष्ट्रपति बने।’
महामन्त्री शर्माले सत्तारुढ दलहरुप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए।
उनले भने, ‘कमरेड केपी ओलीले चाहिँ सुनको बालाको कथा हालि राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो। अथवा यो संसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो। यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौं भन्ने सोचि दिए हुन्थ्यो। अलिकति अनुरोध गर्दैगर्दाखेरी चाहिँ मेरो जिल्लाबासी कमरेडलाई अर्को जिल्लाबासी नयाँनयाँ सांसदको के अपिल छ भने–कांग्रेस फोवियाबाट मुक्त भइदिनुस्।’
प्रतिक्रिया