नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न गर्न पाइने बताएका छन्।
लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्।
'नो नट अगेन भनेर चुनावमा लडेको पार्टी सरकारमा किन गएको? सरकारमा गएको मान्छे सरकारबाट बाहिर किन गएको? सरकारमा किन गएको पनि बताउन नपर्ने, सरकारबाट बाहिर किन गएको पनि भन्न नपर्ने, अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग गरेका सहमति पालना भएन। सहमति कल्ले पालना नगरेको?', उनले सोधे, 'प्रधानमन्त्रीले पालना नगर्नुभएको। सबैभन्दा रिसाउनु पर्ने प्रधानमन्त्रीसँग होइन? अनि अहिले सरकारबाट फिर्ता हुँदा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने होइन? सहमति पालना नभएको भए समर्थन किन फिर्ता नलिएको? हामीलाई विश्वासको मत किन दिएको भने जस्तै समर्थन फिर्ता किन नलिएको भन्ने प्रश्न उठ्दैन? कि राष्ट्रय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो?'
उनले व्यक्तिगत रुपमा आफू अनेक लाञ्छना लागे पनि कसैको विरोध गर्न पाउने, बोल्न पाउने अधिकार दायाँ बायाँ गर्न नहुने पनि बताए।
'सूचना प्रविधिसम्बन्धी कानुन प्रस्ताव हुँदै गर्दा सामाजिक सञ्जालमा कसैविरुद्ध लेख्दा आपत्तिजनक लाग्यो भने ५ वर्ष जेल हाल्न सक्ने, १५ लाख जरिवाना गराउन सक्ने व्यवस्था थियो। सुरुमा कसैले याद पनि गर्नु भएको थिएन। संसदमा सबैभनदा पहिले बालेको हुँ', उनले भने, 'कांग्रेसका साथीहरुलाई राखेर फरक मत तयार गरेर संसदीय समितिमा गएको हो। त्यतिले नपुगेर माइतीघर मण्डलामा गएको हुँ। त्यो कानुन बने सबैभन्दा बढी फाइदामा पर्ने मान्छेमा पर्थेँ।'
उनले आपत्तिजनक कुरा प्रायः शक्तिमा भएको मान्छेबारे लेखिने गरेको बताए। 'आपत्तिजनक के हो र के होइन भन्ने कुरा कसले निर्धारण गर्छ भन्दा शक्तिमा बसेको मान्छेले गर्छ। शक्तिमा त हामी जस्तो मान्छे कुनै न कुनै रुपमा हुने नै भयौँ। हाम्राबारे लेखिस् भने थुन्दिन्छौँ भनेको हो नि त्यो', उनले भने, 'सबैभन्दा बढी लेखिनेमध्येको म थिएँ। सबैभन्दा बढी लेखिने भएकाले सबैभन्दा बढी फाइदा मलाई हुन्त्थ्यो होला नि। तर, मेरोबारे लेखिने कुरा मलाई लगाइने लाञ्छनाबीच अभिव्यक्ति स्वतन्त्रता दुरुपयोग गर्ने कुरालाई रोक्न खोज्दै गर्दा अभिव्यक्ति स्वतन्त्रतालाई हान्छ भनेर विरोध गरेको हुँ।'
कडा कानुन ल्याउँदा प्रश्न उठाउने मान्छेको अधिकार कुण्ठित गर्छ भनेकैले आफू आन्दोलनमा गएको बताए।
'सार्वजनिक ओहोदामा बसेको मान्छेले दुई कुरा सहेर भए पनि समाजमा प्रश्न गर्न पाउने अधिकारलाई सुरक्षित राख्नुपर्छ भन्ने ठानेर त्यो कानुनको विरुद्धमा गएँ', उनले भने, 'म अहिलेसम्म कति भारी बोकेर हिँडिरहेको छु। कहीँ यसो खसी करायो कि आफूलाई लअअअ... लाग्छ। साँच्चिकै लाग्छ भनेको। त्यो लाग्दै गर्छ, भन्दै जाने। हिँड्दै जाने, गर्दै जाने। मैले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेतिर सोँचे भने त्यो एकदम घातक हुन्छ।'
प्रतिक्रिया