ad ad

राजनीति


स्ववियु निर्वाचनको मुखमा नेविसंघका दुई खेमाबीच आरोप-प्रत्यारोप

स्ववियु निर्वाचनको मुखमा नेविसंघका दुई खेमाबीच आरोप-प्रत्यारोप

फाइल फोटाे


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १९:५६, काठमाडौँ

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु २३ औँ महाधिवेशन धुमधामका साथ सम्पन्न गरिरहँदा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ आन्तरिक विवादमा रुमल्लिएको छ। 

अनेरास्ववियुले काठमाडौंमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरेका बेला नेविसंघका दुई समूह आरोप–प्रत्यारोपमा उत्रिएका छन्। 

आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। अन्य विद्यार्थी संगठन स्ववियु चुनावको तयारी गरिरहँदा नेविसंघभित्रको विवाद भने छताछुल्ल भएको छ।

इतर समूहले माघ २० गते छुट्टै भेला आयोजना गरेर समानान्तर गतिविधि गर्न विभिन्न १३ वटा समितिहरु गठन गरेपछि नेविसंघको आन्तरिक विवाद चर्कि‌दै गएको छ।   

इतर समूहले वैधानिक पूर्णताको माग गर्न र स्ववियु निर्वाचनको तयारीका लागि भन्दै धर्मराज शाहीको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति, इन्जनिनियर सुवास पौडेलको संयोजकत्वमा स्ववियु परिचालन समिति, इन्जिनियर भुवन भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ।

यस्तै, इतर समूहले स्ववियु समन्वय समिति संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा सुशान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन केडी, युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम बडाल, नेविसंघ सम्पर्क समिति परिचालन समिति संयोजकमा तिर्थ मिश्र चयन गरेको छ। 

इतर समूहको स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजकमा ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समिति संयोजकमा तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजकमा मुना कँडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटा रहेका छन्। 

तर, नेविसंघका मुख्य सचिव विजय खड्काले बुधबार प्रेस विज्ञप्ति जारी गरेर पुजन गन्धर्व संयोजकत्वको स्ववियु घोषणापत्र समिति, एलिजा ढकाल संयोजकत्वको स्ववियु प्रशिक्षण समिति, सन्तोष उपाध्याय संयोजकत्वको स्ववियु प्रचारप्रसार समिति, दिनेश शाही संयोजकत्वको विद्यार्थी संगठन समन्वय समिति र उज्जवल बज्राचार्य संयोजकत्वको स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा समन्वय समितिमात्र आधिकारिक समितिहरु भएको बताएका छन्। 

उनले विज्ञप्तिमार्फत् इतर समूहलाई ईंगित गरेर संगठनको भावनाविपरितका गतिविधि तत्काल नरोके कारबाही गरिने चेतावनी नै दिएपछि इतर समूह प्रतिवादमा उत्रिएको छ।

इतर समूहले गठन गरेको प्रचारप्रसार समितिका संयोजक भट्टले विद्यार्थीको भेलाले दिएको म्यान्डेडबाट गठन गरिएका समितिलाई अवैध भन्ने मुख्य सचिव खड्काको नाममा जारी विज्ञप्ति नै अवैध भएको टिप्पणी गरेका छन्। 

‘विद्यार्थी भेलाबाट नेपाल विद्यार्थी संघलाई चलायामान बनाउन र आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघलाई देशभरका क्याम्पसहरुमा विजय गराउन संगठनमा क्रियाशील साथीहरुलाई विद्यार्थी भेलाले दिएको म्यान्डेडबाट गठन गरिएका समितिलाई अवैध भन्ने र कोठाबाट पत्र जारी गर्नेलाई वैध भन्ने मुख्य सचिवका नाममा जारी भएको विज्ञप्ति नै अवैध हो,’ उनले भनेका छन्, ‘हामी सच्चा नेविसंघका सिपाही हौं। नक्कली भन्ने कोठे विज्ञप्ति विद्यार्थीको भावना र मर्म विपरित छ।’

मुख्य सचिव खड्काले सामाजिक सञ्जालमा नेविसंघका नाममा नक्कली लेटरहेड बनाएर र स्ववियु केन्द्रित गतिविधि र व्यक्तिका नाममा विभिन्न समितिहरु बनेको उजुरी केन्द्रीय कार्यालयमा आएको र नेविसंघका नाममा भइरहेका गतिविधिले नेविसंघमा आस्थावानलाई भ्रमित पर्ने अवैधानिक गतिविधिहरु गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।  

‘नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ को धारा २४ (२) बमोजिम अनुशासन उल्लंघन भएको देखिन्छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘नेविसंघको गरिमामा आँच आउने र नेविसंघको भावनाविपरित भएका यस्ता वाञ्छनीय गतिविधि तत्काल नरोके नेविसंघ केन्द्रीय समिति कारबाही गर्न बाध्य हुने कुरा यही विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छु।’ 

तर, इतर समूहले आम विद्यार्थीको भावना र मर्मविपरीत संगठन चलायामान बनाउने गतिविधि प्रति बन्द कोठावाट दूषित मनसायले विज्ञप्ति जारी गर्नु निन्दनीय भएको जनाएको छ।  

‘नेपाल विद्यार्थी संघ कोठे, बैठके र हुक्केहरुको संगठन होइन। कोठाभित्र बसेर पत्र काट्ने अधिकार कसैलाई छैन। संगठन निर्माण र नेविसंघको गरिमालाई जीवित राख्न हाम्रो पनि योगदान छ। आफूलाई नेविसंघको ठेकेदार ठान्नेभन्दा हाम्रो योगदान संगठनमा कम छैन’ विज्ञप्तिमा भनिएको छ, ‘ संगठनमा हाम्रो रगत र पसिना बगेको छ। नेविसंघ हामी सबै आम विद्यार्थीहरुको संगठन हो। आम विद्यार्थीको भावना र मर्मविपरीत संगठन चलायमान बनाउने गतिविधि प्रति बन्द कोठाबाट दूषित मनसायले विज्ञप्ति जारी गर्नु निन्दनीय छ।’ 

एकपक्षीय कमिटी बनाएको भन्दै नेविसंघ संस्थापन इतर समूहको आपत्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .