ad ad

राजनीति


कांग्रेस राष्ट्रपतिमा केन्द्रित हुँदा संगठन बढाउँदै एमाले र माओवादी

कांग्रेस राष्ट्रपतिमा केन्द्रित हुँदा संगठन बढाउँदै एमाले र माओवादी

फाइल तस्बिर


केशव सावद
फागुन ७, २०७९ आइतबार २१:११, काठमाडौँ

दुई ठूला सत्तारुढ दलहरु संगठन सुदृढीकरण र विस्तार अभियान गाउँ पसिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ।

सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुई महिने अभियान लिएर गाउँ पुग्दा कांग्रेस भने कन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर फागुन २५ को राष्ट्रपति निर्वाचन कुरेर बसेको छ।

माओवादीले माघ २६ गतेदेखि दुई महिने ‘संगठन सुदृढीकरण अभियान’ अन्तर्गत नेताहरुलाई ‘फिल्ड’ मा उतारिसकेको छ। माघ १२ देखि २१ सम्म बसेको स्थायी कमिटी बैठकबाट माओवादीले संगठन सुदृढीकरणका लागि दुई महिने अभियानबारे निर्णय गरेको थियो। 

अभियानअन्तर्गत माओवादीले पार्टीका नेता–कार्यकर्तासहित आममतदातालाई पनि भेट्ने अभियान चलाउँदैछ। देशभर पुगिसकेपछि प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेर नयाँ योजना बनाउने लक्ष्य माओवादीको छ। 

अर्को सत्ता साझेदार एमालेले पनि फागुन ५ गतेदेखि दुई महिने ‘ग्रास रुट’ अभियान सुरु गरेको छ। माओवादीले फागुन र चैतमा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान थालेकै दिन माघ २६ मा एमालेले स्थायी कमिटी बैठक बोलाएर ‘ग्रास रुट’ अभियान थाल्ने निर्णय गरेको थियो। 

एमालेले फागुन ५ गतेदेखि सबै केन्द्रीय कमिटी सदस्यहरूलाई दुई महिनाका लागि पालिकासम्म खटाएको छ। 

एमालेले एक केन्द्रीय सदस्यलाई ३ पालिका जिम्मा दिएर पठाएको छ। यो अभियान लिएर एमाले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यहरु धमाधम फिल्डमा पुगिसकेका छन्। 

राष्ट्रपतिमा कांग्रेसको ध्यान
तर, कांग्रेसले भने सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेर सबै ध्यान फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा केन्द्रित गरेको छ। 

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९’ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन एजेन्डा तय गरेर कांग्रेसले पुस २२ का लागि केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो। उक्त बैठक पुस २२, पुस २८ र माघ १५ गरी ३ पटक स्थगित भएको छ। 

सभापति शेरबहादुर देउवाले गत पुस १० गते गठबन्धन तोडेको माओवादी केन्द्रका विषयमा घोचपेच हुँदा राष्ट्रपति निर्वाचनको वातावरण बिग्रिने डरले केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको बताइन्छ।  

‘बैठकमा मंसिर ४ को चुनाव र तत्कालीन सत्ता गठबन्धनको निर्मम समीक्षा गर्ने भनेका छौ। बैठकमा बाहिर–भित्रका कुरा उठ्लान। त्यसले माहोल बिग्रन सक्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘हाम्रो ‘मेन फोकस’ राष्ट्रपति नगुमाऊँं भन्ने छ। त्यही भएर बैठक सारेका हौँ।’ 

कांग्रेस नेता एनपी साउद केन्द्रीय कार्यसमिति बैठकका लागि पर्याप्त समय चाहिने भएकाले स्थगित भएको बताउँछन्। राष्ट्रपति निर्वाचनपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने उनले बताए। 

‘केन्द्रीय समिति बैठकका लागि पर्याप्त समय चाहिने भएकाले स्थगित गरिएको छ,’ साउदले भने, ‘राष्ट्रपति निर्वाचनपछि केन्द्रीय कार्यसमिति बैठक बस्छ।’ 

बैठक स्थगित गरेर सभापति देउवा राष्ट्रपति निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न मिहिनेत गरिरहेका छन्। उनले राष्ट्रपतिका लागि वातावरण बनाउन आफैँले पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। 

देउवाले राष्ट्रपतिका लागि पार्टीको पक्षमा माहोल बनाउन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसहितका नेता खटाएका छन्। 

एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर राष्ट्रपतिका लागि प्रचण्डको साथ लिन कांग्रेस नेताहरूको बालुवाटार दौड बाक्लो छ। उनीहरु विगतको गल्ती नदोह¥याउने प्रतिवद्धता गर्दै प्रचण्डलाई फकाइरहेका छन्। 

‘कांग्रेस नेताहरु दैनिकजसो बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नुहुन्छ,’  बालुवाटार स्रोत भन्छ, ‘यो क्रम पुस २० देखि जारी छ।’ 

प्रधानमन्त्री प्रचण्डसँग संवादमा रहेका कांग्रेस नेताहरु माओवादी पदाधिकारी तहका नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन्।
कांग्रेसले राष्ट्रपतिमा माओवादीको साथ पाए प्रचण्डलाई पूरै पाँच वर्ष प्रधानमन्त्री स्वीकार्ने बताइसकेको छ। 

‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दा हामीले दिएको विश्वासको मत निरन्तर हुनुपर्छ,’ प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘सबैभन्दा ठूलो दल बाहिर हुनु नै विडम्वना छ।’ 

राजनीतिक शक्ति सन्तुलनका लागि पनि अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा उचित र स्वभाविक हुने प्रवक्ता महतको तर्क छ।

‘अहिलेको कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ। संविधान रक्षाको कोणबाट पनि त्यो उपयुक्त हुन्छ। किनभने वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलाप काम गर्नुभयो, त्यो अब दोहोरिनु हुँदैन,’ उनले भने, ‘एमाले र ओलीजीले जसरी संसदको पहिलो बैठकमै संसद विघटनलाई मूल विषय बनाउनुभयो, त्यस सन्दर्भमा राष्ट्रपति पद महत्वपूर्ण भएको छ।’ 

सभापति देउवानिकट एक नेताले पनि राष्ट्रपतिमा माओवादीले सघाए प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न सकिने प्रतिक्रिया दिए। 

‘राष्ट्रपतिका लागि सबैखालको तयारी पार्टीले गरेको छ। सबै कुरा अनुकूल बन्दै जाँदा राष्ट्रपति आउने वातावरण बनेको छ,’ प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिनेसम्म तयारी हो भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘राजनीतिक लेनदेनमा असम्भव हुन्न। उच्चस्तरीय राजनीतिक समझदारीअन्तर्गत त्यो पर्न सक्छ।’

प्रचण्डसँग संवादमा रहेका कांग्रेसका अर्का नेताले पनि राष्ट्रपतिका लागि माओवादी नेतृत्व सकारात्मक रहेको जानकारी दिए। ती नेताले प्रचण्डको राष्ट्रिय सहमतिलाई कांग्रेसलाई राष्ट्रपति दिएर आफूले प्रधानमन्त्रीमा निरन्तरता दिने रुपमा अथ्र्याए। 

‘कांग्रेसलाई राष्ट्रपति दिन प्रधानमन्त्री लचिलो देखिनुहुन्छ। राष्ट्रपति महत्वपूर्ण पद हो। कांग्रेस ठूलो दल हो। ठूलो दलका हिसाबले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘उहाँले राष्ट्रिय सहमति भनेकै कांग्रेसलाई राष्ट्रपति, आफू प्रधानमन्त्रीमा रहिरहने हो। एमालेले सभामुख पाइसकेको छ भन्नेमा हुनुहुन्छ।’ 

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे राष्ट्रपति निर्वाचनपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने बताउँछन्। उक्त बैठकमा निर्वाचनको समीक्षा गरेर देशभर कार्यक्रम तय गरिने उनको भनाइ छ। 

‘अब केन्द्रीय समिति बैठक जहिले बस्छ देशभर संगठन निर्माण र सुदृढीकरण कार्यक्रम तोक्छौं,’ सहमहामन्त्री पाण्डेले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .