ad ad

राजनीति


पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : विश्वप्रकाश शर्मा

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन १०, २०७९ बुधबार १७:२५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका हुन्। उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताए। उनले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे।

उनले भने, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो। तर फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरुलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाईहरुको भावनासँग म एकदम सहमत छु।’

महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे। 

उनले थपे, ‘त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ। त्यसकारण उहाँहरु समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरुलाई अगाडी सारेर जानु बढी उचित हुन्छ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए। ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनले बताए।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उनले बताए।

उनले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताए। संसदको दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .