ad ad

राजनीति


एकीकृत समाजवादी : राष्ट्रपतिका लागि एमालेसँग मिल्न तयार, तर तत्काल एकता नगर्ने

एकीकृत समाजवादी : राष्ट्रपतिका लागि एमालेसँग मिल्न तयार, तर तत्काल एकता नगर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १७:४६, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रपति पद लिनका लागि संसदका सबै दलसँग संवाद थाल्ने भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा अहिलेसम्म राष्ट्रपतिमा कसैले प्रस्ताव नगरेको ब्रिफिङ अध्यक्ष माधवकुमार नेपालले गरेका थिए। 

अहिलेसम्म कसैले राष्ट्रपतिमा प्रस्ताव नगरेकाले यो विषयको 'च्याप्टर क्लोज' भइसकेको निष्कर्ष निकालेको समाजवादीले आफैंले पहल गरेर यो पद लिने रणनीति बनाएको छ।

त्यही रणनीतिअनुसार समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति पदबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराही पुगेका छन्। 

राष्ट्रपति पद आफूले लिने गरी सबै दलसँग छलफल अघि बढाउने निर्णय लिएसँगै समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले यसबारे एमालेसँग समेत छलफलका लागि ढोका खुल्ला गरिएको बताए।

'राष्ट्रपति पद हाम्रो पार्टीले लिने गरी संसदका सबै दलसँग छलफल गर्ने रणनीति अनुसार कांग्रेससँग संवाद हुन लागेको हो', उनले भने, 'हामीले राष्ट्रपतिमा किन दाबी नगर्ने? त्यसका लागि हामी सबै दलसँग संवाद गर्छौँ, मिलेसम्म राष्ट्रपति लिने वातावरणका लागि यो संवाद अघि बढेको हो।' 

समाजवादीको बैठकअघि बालुवाटारमा बुधबार बिहान १०.४० बजेदेखि पौने १ बजेसम्म भएको छलफलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राष्ट्रपतिमा समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए।

ओलीले प्रचण्डलाईसमेत गरेको प्रस्तावलाई लिएर उत्साहित बनेको समाजवादीले राष्ट्रपति पद लिनका लागि संसदका सबै दलसँग संवादको निर्णय लिएको हो। 

बुधबारको सचिवालय बैठकपछि बोल्दै समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको बैठकमा अध्यक्ष नेपालले आफूलाई कुनै पनि दलबाट राष्ट्रपतिमा प्रस्ताव नआएको बताएका थिए। तर ओलीले त्यसअघि नै उनको नाम राष्ट्रपतिका लागि बालुवाटारमा दाहालसमक्ष प्रस्तुत गरिसकेको अवस्थामा समाजवादी आफ्नो पक्षमा माहोल बनाउन जुटेको हो। 

एमालेले राष्ट्रपतिमा अध्यक्ष नेपालको नाम प्रस्ताव गरेको विषयमा समाजवादी उपमहासचिव खतिवडा गम्भीर रुपमा कुरा आए तयार रहेको बताउँछन्।

'राष्ट्रपति पद लिनका लागि हामीले एमालेसँग पनि वार्ताको ढोका खुल्ला गरेका छौँ', उनले भने, 'तर त्यस्तो अवस्थामा बिनाशर्त सम्वाद हुनेछ।'

राष्ट्रपति लिन समाजवादीले पुस १० अघिको गठबन्धनको प्रमुख दल कांग्रेस र पुस १० पछिको गठबन्धनको शीर्ष दल एमालेसँग समानान्तर वार्ताको रणनीति बनाएको छ।

'अहिलेको हाम्रो एजेन्डा राष्ट्रपति हामीले किन नलिने भन्ने हो। एमाले र माओवादीले सभामुख र प्रधानमन्त्री लिइसकेका छन्', खतिवडाले भने, 'राष्ट्रपतिमा हाम्रो दाबी स्वभाविक हो। हामी राष्ट्रपति लिन सबै दलसँग बिनाशर्त वार्ता गर्न तयार छौँ।'

ओलीले नेपालको नाम प्रस्ताव गरे पनि समाजवादीले राष्ट्रपतिका लागि सम्भावित उम्मेदवारको नाम टुंग्याएको छैन। 'हाम्रोबाट अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवै राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ', खतिवडाले भने, 'अब कसलाई पठाउने भन्ने पार्टीको कुरा हो। त्यसबारे हामी थप छलफल गर्छौँ।'

समाजवादीले यदि अध्यक्ष नेपाल या सम्मानित नेता खनाल राष्ट्रपति भएमा तत्कालै कुनै दलसँग एकता नहुने अडान राखेको छ।

उसले एमालेसँग मिलेर राष्ट्रपति लिने तर तत्कालै एकता नगर्ने रणनीति बनाएको हो। 'अहिले नै एमालेसँग एकताको कुनै सम्भावना छैन', समाजवादीका एक नेता अशेष घिमिरे भन्छन्, 'पार्टी एकताको शर्त राखेर राष्ट्रपतिमा कुरा हुँदैन। एमालेसँग राष्ट्रपतिमा कुरा हुँदा अरु शर्त मान्न तयार छैनौँ।'

राष्ट्रपतिको सम्भावित उम्मेदवारका रुपमा नाम चर्चामा आइरहेका बेला बुधबार आलोकनगर बैठकपछि चिनियाँ राजदूत चेन सोङले नेपाललाई कोटेश्वर पुगेर भेटेका छ्न्।

'चिनियाँ राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालसॅग शिष्टाचार भेटवार्ता गर्नुभएको छ', नेपालको सचिवालयले भनेको छ, 'कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा आज दिउँसो भएको भेटमा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो।'

तर उक्त भेटको मुख्य एजेन्डा भनेको राष्ट्रपति निर्वाचन नै थियो। लामो समयदेखि नेपालका कम्युनिस्टलाई एक ठाउँमा ल्याउने कोसिसमा रहेको चीनका राजदूतको यो सक्रियतालाई अर्थपूर्ण मानिएको छ। 

भेटका क्रममा सोङले राजदूतका रुपमा नेपाल आउन पाउँदा खुसी लागेको बताएको पनि नेपालको सचिवालयले उल्लेख गरेको छ। दुई जनाबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .