राजनीति


राप्रपाले बागमती सरकार छाड्दा एमालेको अलमल, मुख्यमन्त्रीलाई ४ मन्त्रालयको जिम्मा

राप्रपाले बागमती सरकार छाड्दा एमालेको अलमल, मुख्यमन्त्रीलाई ४ मन्त्रालयको जिम्मा

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १८:५७, हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल ४ मन्त्रालयको जिम्मेवारी लिएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिएपछि जम्मकट्टेलको काँधमा जिम्मेवारी थपिएको छ। 

बागमती सरकारबाट राप्रपाका तीन मन्त्रीले शनिबार साँझ राजीनामा बुझाएका थिए। राप्रपाबाट खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, वन तथा वातारण मन्त्री राजु विष्ट, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङले राजीनामा बुझाएपछि मुख्यमन्त्रीसहित चार मन्त्रालयको जिम्मेवारी जम्मकट्टेलको काँधमा छ। 

त्यसो त, केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बागमतीमा पनि रिक्त मन्त्रालयमा पदपूर्ति गर्न मुख्यमन्त्री जम्मकट्टेललाई चुनौती थपिएको छ। 

राप्रपा सरकारबाट बाहिरिए सँगै एमाले पनि त्यही बाटोमा छ। केन्द्रमा सरकारको समर्थन फिर्ता लिँदै एमालेले मन्त्री पदबाट राजीनामा बुझाइसकेको छ। तर प्रदेशमा भने केन्द्रको निर्देशन नआएको भन्दै सरकार छाडेको छैन। 

२ महिना पनि नपुग्दै मुख्यमन्त्री जम्मकट्टेललाई फेरि नयाँ मन्त्रिपरिषद् गठनको झन्झट आइलागेको छ। 

यता, तीन मन्त्रालय रिक्त रहेको ४ दिन हुँदा पनि मुख्यमन्त्रीले मन्त्री थप्न सकेका छैनन्। कारण, तीन मन्त्रालय मात्रै घट्छन् कि? एमालेको चार पनि बाहिरिन्छ? अथवा माओवादी नै सत्ता बाहिर हुन सक्ला कि? यो द्विविधाले बागमतीमा यति रिक्त मन्त्रालयमा पदपूर्ति हुने अवस्था देखिँदैन।

तत्काल राजीनामा दिदैनौंः एमाले
केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछोड्ने भएको छ। सोमबार केन्द्रका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई गरेको समर्थन फिर्ता लिए पनि बागमतीमा अहिले नै सरकार छोड्ने स्थिति नरहेको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठ बताउँछन्। 

‘केन्द्रबाट जस्तो निर्देशन आउँछ, हामीले त्यस्तै निर्णय गर्ने हौं। अहिलेसम्म सरकारको समर्थन फिर्ता लिने अथवा राजीनामा दिने भन्ने कुरा आएको छैन,’ मन्त्री श्रेष्ठले भने।

राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय थियो। तर सोमबार नै केन्द्रीय सरकार छोडिसकेको छ। 

बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री छन्।

एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री छन्। ११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेका २७ सदस्य रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .