फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण हुने भएको छ। भुईंतलासहितको तीनतले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि यसको पुननिर्माण हुन लागेको हो।
तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार २०७२ सालको भुइँचालोले मन्दिर परिसरमा रहेको आँपको बोट नै दक्षिणतर्फ ढल्किएको थियो भने प्यागोडा शैलीमा रहेको मन्दिरको अधिकांश भाग चर्किएको थियो। ढल्किएको रुख आफैं मर्यो।
अध्यक्ष कुँवरका अनुसार आँपको रुख निकालेपछि इन्जिनियरहरुलाई देखाउँदा मन्दिर पनि ढल्केको थाहा भयो। पुरातत्व विभागका इन्जिनियरहरुले मन्दिर पुननिर्माण गर्नुपर्ने निष्कर्ष सुनाए।
अध्यक्ष कुँवरका अनुसार पुनर्निर्माणको लागि पुरातत्व विभागले २५ लाख विनियोजना गरेको छ।
‘मन्दिरको स्वरुप बदल्न मिल्दैन, पुनर्निर्माण गर्ने हो, एक करोड ४५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’उनले भने, ‘बाँकी रकम प्रदेश र स्थानीय सरकार एवं भक्तजनबाट संकलन गर्ने लक्ष्य छ।’
उनका अनुसार मन्दिर पुननिर्माणको लागि क्षमापूजा गरिएको छ।
सोमबार र मंगलबार प्राण प्रतिष्ठासहित क्षमापूजा सम्पन्न गरिएको सुनाउँदै पण्डित विश्वेश्वर पौडेलले भने, ‘देवीको मन्दिर पुनर्निर्माण गर्दा कहीँकतै भुलबस कुनै काम भएमा, कसैलाई पनि नराम्रो नहोस् भन्ने उदेश्यले पूजा गरिएको हो।’
उनका अनुसार पुनर्निर्माणको बेला मन्दिरकै बाहिर राखिएको प्रतिमूर्तिमा भक्तजनले पूजा गर्ने व्यवस्था मिलाइएको छ।
मुख्य मूर्तिमा भने मन्दिरकै पुजारीबाट दैनिक नित्यपूजा गरिने उपाध्यक्ष जुना अधिकारीको भनाइ छ। पाँच महिनामा पुनर्निर्माण सम्पन्न हुने उनले अनुमान लगाइन्।
कास्कीका पहिलो शाहवंशीय राजा कुलमण्डन शाहले १६६७ सालतिर फेवातालबीचको टापुमा तालबाराही मन्दिर बनाएको अभिलेख रहेको छ। कुनै अभिलेखमा भने मन्दिर १४४७ सालमै अस्तित्वमा रहेको पाइएको अध्यक्ष कुँवरले बताए।
प्राचिनकालमा माटोको ढिस्कामा पूजा गरिँदै आएकोमा कुलमण्डनले त्यहाँ खरको छानोसहितको मन्दिर स्थापना गरेको किंवदन्ती रहेको अध्यक्ष कुँवरले सुनाए।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको तालबाराही क्षेत्रमा हालको मन्दिर निर्माण गराएका थिए।
तालबाराही अहिले प्रसिद्ध शक्तिपीठका अलावा पर्यटकीय आकर्षणको केन्द्र पनि हो। फेवा किनारबाट डुंगा चढेर तालबाराही पुग्न सकिन्छ।
Shares

प्रतिक्रिया