असार, मानो रोपेर मुरी उब्जाउने महिना। यो वर्ष मनसुन ढिलो हुँदा रोपाइँले गति लिएको छैन।
टारीको त कुरै छाडौँ, पानीको मूल नफुट्दा खोलामा हिल्याउन पुग्ने पानी छैन।
गण्डकी प्रदेशमा धान खेती हुने जग्गा चाहिँ ३ लाख ५५ हजार ५०७ रहेको छ भने गण्डकी प्रदेशमै ४ लाख ९९ हजार २३३ हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख २५ हजार २५२ हेक्टर जमिन बाँझो रहँदै आएको छ।
पोखरा पर्यटन परिषद्ले असारे माचोलाई धेरै वर्ष पहिलेदेखि महोत्सवको रूप दिएको छ।

रोपाइँसँग जोडिएको श्रम, पसिना चुहाउँदाको उत्साह र आशा अनि त्यससँग जोडिएको संस्कृतिलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउने ध्येयले सुरु भएको रोपाइँ महोत्सवको २१ औं संस्करण लेखनाथको शिशुवामा आयोजना गरिएको छ।
महोत्सवमा अघिल्ला वर्षजस्तै पर्यटकहरुले हिलो खेले भने हिलामै विभिन्न मनोरन्जनात्मक प्रतियोगितासमेत आयोजना गरियो।
पोखरा महानगरपालिका-३०, देउराली खोला किनारस्थित खेतमा आयोजित महोत्सवमा भारतीयसहित विभिन्न मुलुकका पर्यटकहरू पुगेका थिए। स्थानीय किसानको करिब आठ रोपनी क्षेत्रफलमा चार हल गोरु हालेर महोत्सव आयोजना गरिएको हो।
महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। उनले कृषि, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने माध्यमका रूपमा रोपाइँ महोत्सवले पोखराको पहिचानलाई थप बलियो बनाएको पनि बताए।
यसैबीच पोखरा महानगरपालिकाले दुई जना कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ।

कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की (पोखरा-२१) र हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का (पोखरा-२७) लाई रोपाइँ महोत्सवका अवसरमा सम्मान प्रदान गरिएको हो।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरेका थिए। कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली र पशुपालन गर्दै आएका छन्।
कृषक खड्काले हेब्रोन लाइभ स्टक फार्म आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गरिरहेका छन्।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार परम्परागत पशुपालनलाई विस्थापित गर्दै व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित फार्मले जैविक सुरक्षा र दिगो कृषिको अवधारणालाई आत्मसात् गर्दै स्थानीयस्तरमा दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्याएको छ।
कुल ३२ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा उन्नत घाँस खेती र आधुनिक गोठ, दूध दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू निर्माण गरिएको छ।
Shares

प्रतिक्रिया