नवलपुरको विनय त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ ले गण्डकी प्रदेशबाट छुट्टिएर लुम्बिनीमा गाभिने निर्णय गरेका छन्। वडा नम्बर ६ र ७ का वडाध्यक्ष सुरेन्द्र कार्की र उमेश साहको उपस्थितिमा भएको सर्वपक्षीय बैठकले ती वडालाई सुस्ता गाउँपालिकामा गाभ्ने निर्णय गरेको हो।
‘यस विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा गाभिदा यस क्षेत्रका वडावासीहरूलाई हुने प्रशासनिक, भौगोलिक कठिनाइ समाधान हुन्छ, त्यसैले यस विनयी त्रिवेणी गाउँपालिकाको गाउँ सभामा यस विषयलाई प्रस्तुत गर्न यस दुवै वडाको वडावासीको नेतृत्वमा लैजाने निर्णय गरियो,’ निर्णय पुस्तिकामा भनिएको छ।
गाउँ सभाबाट पारित गराएर गण्डकी प्रदेशमा सिफारिस गर्ने र त्यहाँबाट संघ सरकारमा पठाएर संविधान संशोधन गर्दै सच्याइ माग्ने पनि बैठकले निर्णय गरेको छ।
गाउँपालिका केन्द्र पुग्नै कठिन भएपछि उनीहरुले सो निर्णय गरेका हुन्। वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार गाउँपालिकाको कार्यालय जान लुम्बिनी भएर ५० किलोमिटर यात्रा गर्नुपर्छ। दुम्कीबासदेखि त्रिवेणीसम्मको ११ किलोमिटर बाटो नबनेको कारण पनि समस्या भएको उनको भनाइ छ।
पहिला लुम्बिनीमै थियो
तत्कालीन नवलपरासी जिल्लालाई टुक्र्याएर बर्दघाटदेखि सुस्ता पूर्व एउटा जिल्ला र बर्दघाट सुस्ता पश्चिमको अर्को जिल्ला बनाइएको थियो। यसरी टुक्रिएको नवलपरासीको सुस्ता पूर्वको भाग गण्डकीमा र पश्चिमको भाग लुम्बिनीमा पर्ने नेपालको संविधान, २०७२ को अनुसूची ४ मा उल्लेख गरिएको छ।
संविधानको अनुसूचीमा उल्लेख भएअनुसार, बर्दघाट सुस्ता पूर्वको भाग गण्डकीमा हुनुपर्ने हो। तर, सुस्ता गाउँपालिका नै लुम्बिनी प्रदेशमा छ। सुस्तालाई गण्डकी प्रदेशमा ल्याउनुपर्ने पटक–पटक माग उठ्दै आएको छ। तर, त्यसको कार्यान्वयन चाहिँ भएको छैन।
सरकारले २०७३ फागुन २७ गते गाउँपालिका, नगरपालिका तथा विशेष सुरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण र केन्द्र तोकेको सूचना राजपत्रमा प्रकाशन गर्यो। जहाँ सुस्ता गाउँपालिकाको नाम ‘त्रिवेणीसुस्ता गाउँपालिका’ भनेर नै उल्लेख गरिएको छ। दक्षिणमा भारतसँग सीमा जोडिएको यो पालिकामा त्यतिबेला सातवटा वडाहरु थिए। रुपौलिया, कुडिया, नरसही, पकलिहवा र त्रिवेणीसुस्ता गाउँविकास समितिलाई गाभेर गाउँपालिका बनाइएको थियो।
तर, मन्त्रिपरिषद्को २०७४ वैशाख १३ गतेको बैठकमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह स्पष्ट पार्ने एजेन्डा लग्यो। उक्त बैठकले नवलपरासी र रुकुम जिल्लाको स्थानीय तह स्पष्ट पार्ने निर्णय गर्यो। मन्त्रिपरिषद्को सोही निर्णयअनुसार मन्त्रालयले वैशाख १९ गते त्रिवेणी सुस्ता गाउँपालिकाका दुईवटा वडालाई अर्को गाउँपालिकामा मिसाइएको सूचना जारी गर्यो। उक्त सूचनाअनुसार गाउँपालिकाको वडा संख्या घट्यो भने नाम पनि परिवर्तन हुन पुग्यो।
‘नवलपरासी जिल्लाको विनयी गाउँपालिकाको नाम विनयीत्रिवेणी गाउँपालिका कायम गर्ने, त्रिवेणी सुस्ता गाउँपालिकाको वडा नं ६ र ७ लाई विनयीत्रिवेणी गाउँपालिकाको क्रमशः वडा नं ६ र ७ कायम गरी विनयीत्रिवेणी गाउँपालिकाको जम्मा वडा संख्या सात कायम गर्ने र त्रिवेणी सुस्ता गाउँपालिकाको नाम सुस्ता गाउँपालिका कायम गरी जम्मा वडा संख्या पाँच कायम गर्ने’ उक्त सूचनामा भनिएको छ।
सोही सूचनाले नै त्रिवेणी सुस्ता गाउँपालिकाको नाम परिवर्तनसँगै दोस्रो चरणको निर्वाचन हुने पालिकाको सूचीमा पनि समावेश गर्यो। २०७४ सालको स्थानीय तह निर्वाचन २०७४ साल वैशाख ३१ गते वाग्मती, गण्डकी र कर्णालीमा चुनाव हुँदै थियो। तर, मन्त्रालयको उक्त सूचनाअनुसार त्रिवेणी सुस्ता गाउँपालिकालाई दोस्रो चरणको निर्वाचनमा समावेश गर्ने उल्लेख गरिएको थियो।
‘नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, वुलिङटार गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, विनयीत्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकालाई पहिलो चरणको निर्वाचनमा र बाँकी गाउँपालिका तथा नगरपालिकालाई दोस्रो चरणको निर्वाचनमा समावेश गर्ने’ सूचनामा भनिएको छ।
संविधानले सुस्तालाई गण्डकीमा पर्ने भनेर उल्लेख गरे पनि मन्त्रालयको यो सूचनाले भने सुस्ता गाउँपालिकालाई गण्डकीमा हुने पहिलो चरणको निर्वाचनमा सहभागी हुने बाटो रोकिएको हो।
मन्त्रालयको यही पत्रकै कारण सुस्ता गाउँपालिका गण्डकीबाट छुटेर लुम्बिनीमा पुगेको गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डेले बताए।
अन्यथा, संविधानअनुसार पहिलो चरणको निर्वाचनमा नै सुस्ता गाउँपालिकामा पनि निर्वाचन हुनुपर्ने थियो। तर, मन्त्रालयले सुस्ता गाउँपालिकालाई दोस्रो चरणको चुनावमा समावेश गर्दा लुम्बिनी प्रदेशअन्तर्गत रहनेगरी असार १४ गते सुस्ता गाउँपालिकामा निर्वाचन भएको थियो।
सोही निर्वाचनबाट विजयी बनेका पाण्डेले पहिलो गाउँसभाको पहिलो बैठकमा नै सुस्ता गाउँपालिकाबाट छुटेर विनयीत्रिवेणी गाउँपालिकामा गाभिन पुगेका दुईवटा वडा फिर्ता ल्याउने र वडाको संख्या सात पुर्याउने, गाउँपालिकाको नाम पनि राजपत्रअनुसार नै त्रिवेणी सुस्ता राख्नुपर्ने निर्णय बहुमत जनप्रतिनिधिबाट गराएका थिए।
त्यतिबेला विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ सुस्ता गाउँपालिका (तत्कालीन त्रिवेणी सुस्ता गाउँपालिका)मा नै थियो। गण्डकी प्रदेशलाई (तत्कालीन प्रदेश नं ४) लाई भारतसँगको रुट दिन भनेर केही भूभागलाई नवलपुरसँग जोडियो। त्रिवेणी सुस्ता गाउँपालिका भनेर कायम भइसकेपछि पनि दुईवटा वडालाई विनयीत्रिवेणीमा मिसाइयो। त्यसपछि सुस्ता गाउँपालिका छुट्टै बन्यो।’
त्यतिबेला भर्खर भर्खर स्थानीय तहको संख्या तथा सीमा निर्धारण गरिएको थियो। प्रदेशहरुमा पनि उस्तै विवाद थियो। त्यही विवादकै बीच टुक्रिएको नवलपुरलाई भारतसँगको नाका खोल्ने, सीमाना जोड्न भनेर गण्डकीमा मिसाइएको थियो।
त्यतिबेला वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लगायतका नेताहरूले सुस्ता गण्डकी (तत्कालीन प्रदेश नं ४) मा नै हुनुपर्छ भन्नेतर्फ लागेका थिए।
Shares

प्रतिक्रिया