ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले कहिले लिन्छन् विश्वासको मत?

प्रधानमन्त्री प्रचण्डले कहिले लिन्छन् विश्वासको मत?

सागर न्यौपाने
फागुन १६, २०७९ मंगलबार २२:१५, काठमाडौँ

एमाले र राप्रपाले छोडेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कहिले विश्वासको मत लेलान्, टुंगो छैन। उनी निकट स्रोत र उनको दल नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताहरुको भनाइमै पनि एकरुपता छैन। 

बालुवाटार स्रोत तत्काल विश्वासको मत लिने प्रयास भइरहेको बताउँछ। तर, नेताहरु २० दिनपछि मात्र प्रक्रिया अघि बढ्ने दाबी गर्छन्। प्रचण्ड अझै केही समय विश्वासको मत लिन हतार नगर्ने मुडमा रहेको उनीहरुको भनाइ छ। 

२५ फागुनमा राष्ट्रपति र चैत पहिलो हप्ता उपराष्ट्रपतिको चुनाव तय भएको छ। सम्भवतः त्यसपछि मात्रै प्रचण्डले विश्वासको मत लिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नेपालखबरलाई बताए।

‘विश्वासको मत लिने कुरा अझै टुंगिएको छैन,’ गजुरेलले भने, ‘८ दलको बैठक बसेर साझा धारणा बनाएपछि अनि तय होला।’

तर, स्रोतले भने उनले चुनावअघि नै विश्वासको मत लिने बतायो।

‘अहिलेसम्मको चर्चा अनुसार २५ अघि नै विश्वासको मत लिने भन्ने नै छ,’ स्रोत भन्छ, ‘प्रधानमन्त्रीले आन्तरिक रुपमा तयारी पनि गरिराख्नुभएको छ।’

संसद बैठक बुधबार (१७ फागुन) बस्दैछ। तर, त्यसका लागि अहिलेसम्म कुनै कार्यतालिका बनेको छैन। गठबन्धन दलभित्र पनि छलफल नभएको राजनीतिक सल्लाहकार गजुरेल दाबी गर्छन्। 

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पनि विश्वासको मत लिन प्रधानमन्त्रीले हतार नगर्ने बताए। 

‘प्रधानमन्त्रीले राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि मात्र विश्वासको मत लिुनुहुन्छ,’ बस्नेतले नेपालखबरसँग भने, ‘३० दिनको समयभित्र संसदमै विश्वास देखाए हुनेभएकोले अहिले नै हतार गरेर कुनै कार्यक्रम बनाइएको छैन।’

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका अन्य शीर्ष नेतासँग उनको छलफल छ।

‘भोलि एकपटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक हुन्छ होला,’ देउवाका स्वकीय सचिव भानु देउवाले नेपालखबरसँग भने, ‘त्यही छलफलपछि विश्वासको मत र मन्त्रिमण्डल विस्तारबारे पनि एउटा निष्कर्ष निस्कन्छ।’

प्रचण्ड नेकपा एमाले लगायतका ७ दलको १६९ सांसदको समर्थन पाएर १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए। तर, राष्ट्रपतिको उम्मेदवारीका विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि सो गठबन्धन टुटेको थियो। १२ फागुनमा कांग्रेससहितका ८ दलको नयाँ गठबन्धन बन्यो। जसकारण सरकारमा रहेका एमाले र राप्रपा बाहिरिए।

एमालेले आफ्नो पार्टीकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई संयुक्त राष्ट्रसंघको महासभामा जानबाट रोकेर अपमान गरिएको भन्दै सोमबार (१५ फागुन)मा सरकारबाट आफ्ना सबै मन्त्री फिर्ता बोलाउनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लियो।

त्यसअघि १३ फागुनमा सत्तारुढ राप्रपाले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लियो। प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा समर्थन गरेकामध्ये एमाले ७८ र राप्रपा १४ सांसदको समर्थन नरहेपछि उनी अल्पमतमा परेका छन्।

अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने सांसद मात्र ७७ छन्। प्रधानमन्त्रीमा रहिरहनको लागि कूल सांसदको बहुमत  अर्थात् १३८ आवश्यक पर्छ।

सोमबार (१५ फागुन) देखि अल्पमतमा परेका प्रचण्डले ३० दिनभित्र संसदमा आफूमाथि विश्वास रहेको प्रमाणित गर्नुपर्छ।

राष्ट्रपति चुनाव पछि कांग्रेसको मनस्थिति फेरिने खतरा हुनसक्ने विश्लेषण गर्दै तत्कालै विश्वासको मत लिने चर्चा थियो।

विश्वासको मत पाउनेमा ढुक्क प्रचण्ड
प्रधानमन्त्री विश्वासको मत पाउनेमा ढुक्क रहेको गजुरेल बताउँछन्। कांग्रेससँग भरपर्दाे समझदारी बनेकोले धोका नहुने उनले ठोकुवा गरे।

‘कांग्रेसलाई राष्ट्रपति बनाउने समझदारी जुटिसकेको र ८ दलकै साझा उम्मेदवार रामचन्द्र पौडेललाई बनाएर उम्मेदवारी मनोनयन भइसकेकाले धोकाधडी नहुने बुझाइ प्रधानमन्त्रीमा छ,’ गजुरेलले थपे, ‘विगतमा जस्तो खेल्ने काम हुँदैन, भरपर्दाे समझदारी बनेको छ।’

उनले कस्तो खालको समझदारी बनेको खुलाउन चाहेनन्। 

‘आवश्यक परेको बेला देखाउनसक्नेगरी समझदारी र सहमति भएका छन्,’ उनले भने। 

तर, कांग्रेसले भने कुनै पनि लिखित सहमति नभएको र समझदारी मात्र जुटेको बताएको छ।

उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीमा प्रचण्ड रहनेगरी राष्ट्रपतिमा कांग्रेस उम्मेदवार जिताउने र उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने समझदारी मात्र भएको बताए।

‘कुनै लिखित सहमति बनेको छैन,’ खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको भागबण्डा टुंगो लगाएका हौँ, अरु विषय छलफल गर्दै निर्णय गर्ने समझदारी मात्र बनेको हो।’

त्यसो त गठबन्धनभित्र साझा धारणा बनाउन, राष्ट्रपति र उपराष्ट्रपति चुनाव प्रचार गर्न फागुन १४ गते गठबन्धनले ८ दलका नेताहरुलाई फोकल पर्सन तोकेको छ।

उपसभापति खड्कासहित माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जसपाबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेललाई फोकल पर्सन तोकिएको छ।

उनीहरुको बैठक दैनिकजसो बसिरहेको छ। आठ दल एकै ठाउँमा रहन र एउटै धारणा बनाउन उनीहरु जुटिरहेका छन्। 

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले माओवादी विश्वस्त हुनेगरी सहमति र समझदारी दुवै भएकोले विश्वासको मत लिन ढिलाइ गर्दा पनि समस्या नहुने बताए।

‘हामीबीच धेरै चरण छलफल भएरै सहमति र समझदारी बनेका छन्,’ लेखकले नेपालखबरसँग भने, ‘नत्र गठबन्धन भत्किन्छ भन्ने कुरा कांग्रेसले राम्रो बुझेको छ, यसपटक सबै शक्ति राख्ने मनस्थितिमा पनि हामी छैनौँ, गठबन्धनमा कुनै अविश्वास हुने काम गर्दैनौँ।’

उनले मन्त्री बाँडफाँटमा पनि सोही अनुसार हुने बताए।

यसअघि प्रधानमन्त्री नियुक्त भएको १६ दिनमा प्रचण्डले विश्वासको मत लिएका थिए।

त्यसबेला उनलाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी बाहेक संसदमा उपस्थित २६८ सांसदले विश्वासको मत दिएका थिए। सानदार मत सहित सांसदको विश्वास पाएका प्रचण्ड सिंहदरबार प्रवेश गरेको ६४ दिनमै अल्पमतमा परेपछि उनले फेरि संसदको सामना गर्नुपर्ने भएको हो।

त्यसो त प्रधानमन्त्रीले संसदमा जुन दिन पनि बैठक राखेर विश्वासको मत लिन सक्छन्। प्रधानमन्त्रीले विश्वासको मत लिन चाहे भने संसद नभएको बेलामा समेत अधिवेशन बोलाउन सक्छन्। 

यसअघि २७ वैशाख २०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनको लागि मात्र संसद अधिवेशन बोलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .