ad ad

राजनीति


कसको नेतृत्वमा सरकारमा जाला कांग्रेस?

कसको नेतृत्वमा सरकारमा जाला कांग्रेस?

फाइल तस्बिर


केशव सावद
फागुन २२, २०७९ सोमबार २०:१६, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि सोमबार मध्यरातबाट मौन अवधि सुरु हुँदैछ। आयोगले फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि ४८ घण्टा अगावै प्रचार प्रसारमा रोक लगाउन मौन अवधि सुरु गर्न लागेको हो। 

आयोगले मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरेको छ। 

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका तर्फबाट पूर्वसभामुख रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। पौडेललाई सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादीसहितका दलको समर्थन छ। 

प्रतिनिधि सभामा रहेका ८ दल गठबन्धन गरेर राष्ट्रपति निर्वाचनमा जाँदा गठबन्धनमा नरहेका अन्य तीन दल औपचारिक रुपमा कसैको पक्षमा खुलेका छैनन्। 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले पौडेललाई समर्थन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने कतै पनि खुलेका छैनन्।

राष्ट्रपतिको निर्वाचनसँगै राजनीतिक वृत्तमा कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने नेताहरु र मन्त्रालयको संख्याका बारेमा अनेक अड्कलबाजी भइरहेका छन्। यद्यपि, कांग्रेसले राष्ट्रपति निर्वाचनमा केन्द्रित हुनु परेका कारण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरु र लिनुपर्ने मन्त्रालयका बारेमा भने छलफल सुरु नै गरेको छैन। 

कांग्रेस नेताहरु उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यहरु विलेन्द्र निधि, प्रकाशमान सिंहमध्ये कुनै एक नेताको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने बताउँछन्। यस्तै इतर समूहका नेताहरु केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा सरकारमा सहभागी हुनु पर्ने पनि बताइरहेका छन्।  

सभापति शेरबहादुर देउवापछिको वरियतामा रहेका उपसभापति खड्काले पार्टीको नेतृत्व गरेर सरकारमा जाने अनुमान भइरहेका बेला उनले मन्त्री नबन्ने संकेत गरिसकेका छन्।  

‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनर्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन,’ उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस्, सबैमा अनुरोध।’ 

उनले फागुन १७ गते गृहजिल्ला सुर्खेत पुगेर आफू अब मन्त्री नबन्ने दोहोर्याएका थिए। सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति खड्काले भनेको थिए, ‘म मन्त्री बन्दिनँ। मैले मन्त्री नबन्ने कुरा २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको हुँ। र, त्यसमा म अहिलेसम्म पनि अडिग रहेको छु।’

उपसभापति खड्काले मन्त्री नबन्ने संकेत गरेपछि पूर्वउपसभापति विमलेन्द्र निधि पार्टीको नेतृत्व गरेर सरकारमा जान तयार देखिन्छन्। उपसभापति खड्काले नेतृत्व नगरेको अवस्थामा निधि नेतृत्व गरेर सरकारमा जान तयार रहेका उनीनिकट नेताहरु बताउँछन्। 

‘सिनियर उपसभापति भएका कारण पूर्ण दाइ स्वाभाविक दाबेदार हुनुहुन्छ। तर, उहाँले सुर्खेत पुगेर मन्त्री नबन्ने अभिव्यक्ति दिनुभयो,’ निधिनिकट नेताले भने, ‘उहाँ इच्छुक नभएको अवस्थामा सभापतिले पठाए नेतृत्व गरी जान तयार हुनुहुन्छ।’

ती नेताले पार्टीको नेतृत्व गरेर जाने अवस्था नदेखिए पूर्वउपसभापति निधि पनि मन्त्री नबन्ने बताए। 

‘बाहिर कहीँ कतै कुरा गर्नुभएको त छैन। सभापतिले पठाउँदा नाइँ भन्ने कुरा हुन्न,’ उनले भने, ‘तर, अरुको नेतृत्वमा उहाँ मन्त्री बन्नुहुन्न।’ 

उपसभापति र महामन्त्रीको दायित्व निर्वाह गरिसकेका नेता प्रकाशमान सिंहको नेतृत्वमा पनि कांग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको नेताहरु बताउँछन्। उनीहरु सिंहलाई उपप्रधानमन्त्री बनाएर १४ औं महाधिवेशनमा लगाएको गुन तिर्न सल्लाह दिइरहेका छन्। सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई सभापतिमा निर्वाचित हुन मद्दत पुगेको थियो। 

सिंहलाई भूमिका दिँदा काठमाडौंको राजनीतिमा संस्थापन पक्ष थप सुदृढ हुन सक्ने आकलनका बारेमा पनि देउवालाई बुझाइएको एक नेता बताउँछन्। तर, चाक्सीबारी निकट स्रोत भने पार्टीको नेतृत्व गरेर सरकारमा जानेबारे कुनै छलफल नभएको बताउँछन्।

‘राष्ट्रपति निर्वाचन नसकी सरकारका बारेमा केही हुन्न। मन्त्रालय र मन्त्री को–को बन्ने भन्नेबारे छलफल भएको छैन,’ उनले भने, ‘यसबारे सभापतिले छलफल सुरु गर्नु भयो भने उहाँ (सिंह) ले आफ्नो कुरा राख्नु होला।’ 

कांग्रेस इतर समूहका नेता सरकारमा जाँदा केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई नेतृत्व दिएर पठाउनु पर्ने बताउँछन्। तर, उनका स्वकीय सचिव दिनेश थपलियाले भने नेता कोइरालाको सरकारमा जानेबारे कुनै सोच नभएको प्रतिक्रिया दिए। 

‘सरकार गठनका बारेमा छलफल नै भएको छैन। यो बारे न नेताहरुका बीचमा न पार्टीमा कुरो भएको छ,’ उनले नेपालखबरसँग भने, ‘सरकारमा जाने, सरकारको नेतृत्व गर्ने न कतै बोल्नु भएको छ, न सोच्नु नै भएको छ।’ 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने र त्यही बेला मन्त्रिपरिषद् विस्तार हुने बताए। 

‘राष्ट्रपति–उपराष्ट्रपति चुनावपछि मात्र कांग्रेस सरकारमा जान्छ र त्यही बेला मन्त्रिपरिषद् बिस्तार हुन्छ,’ उनले भने। 

उपसभापति खड्काले पनि सरकार निर्माणबारे छलफल नै सुरु नभएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने उनको भनाइ छ। 

‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन,’ उपसभापति खड्काले भने, ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .