ad ad

राजनीति


महेश बस्नेतलाई भेट्न भक्तपुरको गुण्डु पुगे मेयर बालेन्द्र

बस्नेतले भने : हामीबीच विगतका असमझदारी सकियो
महेश बस्नेतलाई भेट्न भक्तपुरको गुण्डु पुगे मेयर बालेन्द्र

महेश बस्नेतसँग भक्तपुरको गुन्डुमा मेयर बालेन्द्र शाह। तस्बिर : आशीष पौडेल


नेपालखबर
फागुन २४, २०७९ बुधबार १४:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई उनकै गाउँ गुण्डु पुगेर भेटेका छन्।

आफ्नो सचिवालयका केही सदस्यसहित गुण्डु पुगेका शाह र बस्नेतबीच विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ।

बस्नेतले शाहसँग आगामी दिनमा विकासका एजेन्डामा मिलेर काम गर्दै जाने समझदारी भएको जानकारी नेपालखबरलाई दिए। 

बालेन्द्र बस्नेतको घरमै पुगेपछि त्यस क्षेत्रमा भएको विकासका कामको समेत अवलोकन गरेका थिए।  

'अब हामीबीच असमझदारी सकिएको छ', बस्नेतले भने, 'असमझदारी हटाएर सहकार्य गरेर जाने कुरा भयो। मेरो गुण्डु घरमा आएपछि सँगै खाना खाएर बिदा गरेँ।'

शाहले त्यसक्रममा सकारात्मक काममा सह्योग र सहकार्य गर्न आफू सदैव तयार रहेको बताएका थिए। 

यसअघि २०७८ भदौ १९ मा एमाले सांसद रहेका बस्नेतले काठमाडौँ महानगरका मेयर शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका थिए।

उनले त्यसबेला डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप पनि लगाएका थिए।

‘जनतालाई दुःख दिने काम नगरौँ भन्ने मेरो आग्रह हो, गर्नुहुन्छ भने त मेरो के लाग्छ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु। भक्तपुर गएर सिक्नुस्,’ बस्नेतले रिपोर्टर्स क्लबमा भनेका थिए, ‘नक्सापास नभएको भन्ने आधारमा डोजर चलाउन पाइँदैन।’

नक्सापासको अवधारणा भूकम्पपछि मात्र आएको उनको दाबी थियो। ‘उपत्यकाका १८ जना मेयरले नक्सा पास नभएका सबै घर डोजर लगाएर भत्काउने हो भने उपत्यका बस्नलायक रहँदैन,’ उनले भनेका थिए। 

त्यसयता लामो समय बस्नेतले शाहको आलोचनामा आफूलाई उतार्दै आएका थिए। शाहले चलाएको डोजर अभियानविरुद्ध खरो उत्रिएका बस्नेतले गत मंसिर ४ को चुनाव पनि हारे।

कांग्रेस नेता दुर्लभ थापासँग उनको पराजयको एक कारण बालेनको आलोचनालाई पनि भनिएको थियो। बालेनको आलोचनाकै कारण उनलाई युवा पुस्ताले भोट नदिएको बताइएको थियो।

तर अहिले आएर दुवैजना सम्बन्ध सुधारमा सक्रिय भएका हुन्। बस्नेतले आफ्नो चुनाव क्षेत्रसहित भक्तपुरमा सडकसहितका पूर्वाधारमा नमूना काम गरेको भन्दै प्रशंसा हुने गर‍ेको छ। यस्तोमा मेयर शाह उनकै घर पुगेर त्यहाँको विकास निर्माणको पनि अवलोकन गरेका हुन्। 

सबै तस्बिरहरु : आशीष पौडेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .