आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघले रिले अनसन सुरु गरेको छ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले हिजो निर्वाचन समितिको कार्यलयमा तालाबन्दी लगाएर स्थगित भएको स्ववियु चुनावको कार्यक्रम पुनः सुचारु गर्न दबाब दिन नेविसंघले अनसन सुरु गरेको हो।
अन्तिम परीक्षा दिइसकेका बिएएमएस इन्टर्न प्रशिक्षार्थीले पनि निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले हिजो तालाबन्दी गरेका थिए। यद्यपि त्रिविले यसपटकको स्ववियु निर्वाचनमा अन्तिम परिक्षामा सामेल भएका विद्यार्थी स्ववियु निर्वाचनमा सामेल हुन नपाउने नँया व्यवस्था राखी निर्देशिका जारि गरेको छ।
इन्टरर्न प्रशिक्षार्थीले अन्तिम परीक्षा उत्तीर्ण गरिसकेको हुनाले महाराजगंज मेडिकल क्याम्पसमा पनि एमबिबिएसका इन्टर्न प्रशिक्षार्थीले यसपटकको स्ववियुमा मतदान गर्न पाउने छैनन्।
स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सुनिश्चिताको लागि दबाबमुलक कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसोबाट विद्यार्थीहरु इन्द्रमणि बस्याल र आशिष अर्यालले अनसन सुरु गरेका हुन्।
‘इन्टर्नलाई पनि समावेश गरे निर्वाचन जितिन्छ भन्ने झिनो आशले अनेरास्ववियु र अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेका हुन्,’ अनसनरत विद्यार्थी आशिष अर्याल भन्छन्, ‘२०७३ को स्ववियु निर्वाचनमा यस्तो व्यवस्था थिएन। तर नँया निर्देशिका र आचारसंहिता नै पालना गर्देनौ भन्दै केहि संगठनले तालाबन्दी गरेका छन्।’
त्रिविद्वारा जारि निर्देशिका अनुसार निर्वाचनको समयमा क्याम्पसमा बन्द(हड्ताल गर्न नपाइने नियम छ।
२०७३ को स्ववियुमा नेविसंघ त्यस क्याम्पसमा पुरै प्यानल सहित विजयी भएको थियो। यसपटकको स्ववियु निर्वाचनमा सत्ताधारीले गठबन्धनबीच तालमेल भएता पनि आयुर्वेद क्याम्पसमा भागबण्डा छैन।
Shares

प्रतिक्रिया