ad ad

राजनीति


जो गठबन्धन ब्युँताउने ‘मिसन’ सफल भएकोमा सबैभन्दा दङ्ग छन्

जो गठबन्धन ब्युँताउने ‘मिसन’ सफल भएकोमा सबैभन्दा दङ्ग छन्

केशव सावद
फागुन २६, २०७९ शुक्रबार २१:३१, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) का अनुयायी मानिन्छन्। उनले बेलाबखत ललितपुरको बाडेगाउँस्थित किशुनजीको आश्रम पुगेर केही समय व्यतीत गर्दै पनि आएका छन्। 

खड्काको भनाइ मान्ने हो भने उनी विशेष गरी राजनीतिक जीवनमा सफलता प्राप्त हुँदा र आफूलाई दुःख आइपर्दा बाडेगाउँ पुगेर किशुनजीको पूर्णकदको सालिकमा माल्यार्पण गर्ने र चरणमा ढोग्ने गर्दछन्। किशुनजी जीवित हुँदा संगत भएदेखि नै सुख हुँदा सुख साट्न, दुःख हुँदा दुःख साट्न र कुनै अभियान अगाडि बढाउँदा आशीर्वाद माग्न आफूले उनलाई भेट्ने गरेको उपसभापति खड्काको भनाइ छ।  

‘यो मेरो उहाँ जीवित हुँदा महत्वपूर्ण दैनिकी हुन पुग्यो। जीवनको एउटा अभियान, अभ्यास नै रह्यो। त्यसपछि उहाँ स्वर्गवास भएपछि पनि म त्यसैगरी नै कुनै सफलता प्राप्त भयो, सुख प्राप्त भयो भने यहाँ आएर उहाँको पूर्णकदको सालिकमा आफूलाई समर्पित गरेर सुख साट्ने गर्छु,’ उनी भन्छन्, ‘र, कुनै दुःख वा अप्ठ्यारो परेको बेला त्यसै गरी आउँछु र उहाँको आशीर्वाद, ताकत प्राप्त गर्ने साधनाका लागि उहाँसँग समर्पित हुन आउँछु।’

तेस्रो राष्ट्रपतिका रुपमा कांग्रेसमा लामो समय राजनीति गरेका पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट अर्थात् शुक्रबार बिहान १० बजे पनि उनी बाडेगाउँमा दुई जना सुरक्षाकर्मीका साथ देखा परे। 

किशुनजी जीवित रहँदा उनकी सहयोगी रहेकी अमिता कपालीले आश्रमबाट ल्याइदिएको अगरबत्ती र दियो जलाएर खड्काले किशुनजीको शालिकको चरणमा दुई गुच्छा फूल चढाए। फूलको माला गलामा पहिर्याए। 

फूलमाला किशुनजीको पूर्णपदको सालिकमा पहिर्याएपछि उनले सालिककै चरण ढोगे। त्यसपछि खड्का केहीबेर मौन उभिए र सञ्चारकर्मीसँग प्रतिक्रिया दिन तयार भए। 

‘अहिले एउटा मिसन सफल भएको छ,’ किशुनजीको आश्रम आउनुको कारण खुलाउँदै उपसभापति खड्काले जवाफ दिए।

उनको संकेत गत पुस १० गते भत्किएको पाँच दलीय गठबन्धनलाई दुई महिनामै जोडेर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनमा पाएको सफलतातर्फ थियो।   

‘पुस १० गते विविध कारणले तत्कालीन गठबन्धनमा तलमाथि भयो। गठबन्धन भत्कियो भनौं,’ खड्काले भने, ‘त्यही दिनको बेलुकीको सात, साढे ७ बजे सम्माननीय प्रधानमन्त्रीज्यूसँग उहाँलाई बधाई दिने क्रममा भएको टेलिफोन संवाद, सभापतिसँगको विमर्श, पार्टीका पदाधिकारी साथीहरु, अन्य दलका नेताहरुसँगको छलफलले वातावरण बन्दै गयो।

पुस १७ गते पनि उनले यस्तै अभिव्यक्ति दिएर आफू गठबन्धन भत्किएकै बेलुकीबाट पुरानो गठबन्धन ब्युँताउने प्रयासमा लागिपरेको बताएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकै (पुस १०) बेलुकीको टेलिफोन संवादबाट नै आफू तत्कालीन गठबन्धन ब्युँताउने प्रयासमा रहेको उपसभापति खड्काको भनाइ थियो।     

‘पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीमा नियुक्ति भएपछि राति साढे ७ बजे मैले बधाई दिने क्रममा उहाँलाई गरेको फोन र उहाँ र मेरोबीचमा भएको लगभग १० मिनेटको संवादको क्षणदेखि सुरु भएको विभिन्न चरणका, विभिन्न तहका नेताहरुबीच भएका सबै प्रसंग र तत्कालीन गठबन्धनबीच भएका घटना जोडिएर प्रगति अगाडि बढ्दै बढ्दै राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलजीलाई आठ दलले राष्ट्रपतिको उम्मेदवरमा समर्थन गर्ने ठाउँमा दुई महिनाभित्रमा मुलुकको राजनीति पुग्यो,’ उनले भनेका थिए। 

गत पुस पहिलो सातासम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन लगभग सहमत थिए। उनीहरुका बीचमा पहिले दुई वर्षी अध्यक्ष प्रचण्ड र त्यसपछि तीन वर्ष सभापति देउवाले सरकारको नेतृत्व गर्ने समझदारी पनि बनेको थियो। 

प्रचण्ड उपराष्ट्रपति, उपसभामुखमध्ये कुनै एक पद माओवादी केन्द्रका लागि लिएर आफू सरकारको नेतृत्व गर्दै कांग्रेसलाई राष्ट्रपति र सभामुख दिनसमेत तयार थिए। तर, पुस १० गते पार्टीकै एकथरी नेताहरुको दबाबमा तत्कालीन प्रधानमन्त्री देउवा समझदारीअनुसार प्रचण्डलाई पहिले प्रधानमन्त्री पद दिन तयार भएनन्।  

त्यसपछि प्रचण्ड नेकपा एमालेसँग मिलेर सरकार गठन गर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालकोट पुगे। एमालेसहितका अन्य ५ दलको समर्थनमा उनी सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भए। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस एकाएक देशभर प्रतिपक्षमा पुग्ने अवस्था आयो। कांग्रेसका देशभरका नेता–कार्यकर्ताहरु सत्ता गुमेपछि निराश बन्न पुगे। 

देशभरका नेता–कार्यकर्तामा छाएको निराशाका बीच उपसभापति खड्का भने माओवादीसहितको तत्कालीन पाँच दलीय गठबन्धनमा रहेका दलहरुलाई एक ठाउँमा उभ्याउने ‘मिसन’ मा लागेका उनी निकट केन्द्रीय सदस्य रामहरि खतिवडा बताउँछन्। 

उनका अनुसार पुस १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता नगर्दासम्म उपसभापति खड्काले निकटका नेताहरुलाई पुरानो गठबन्धन ब्युँताउन गरिएका प्रयासहरु गोप्य राख्न भनेका थिए। 

पुरानै गठबन्धन ब्युँताउने प्रयासस्वरुप उनी प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सरेकै बेलुकी (पुस १३) औपचारिक रुपमा बधाई दिन पुगेका थिए। उक्त भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र भेटबारे सञ्चारमाध्यमलाई जानकारी नगराउन उनले आफूसँगै गएका नेताहरुलाई भनेका थिए। 

यस्तै उनी प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिएकै दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। साथमा थिए, उनका विश्वास पात्र केन्द्रीय सदस्य रामहरि खतिवडा। 

‘विश्वासको मत लिएलगत्तै उपसभापतिज्यू मलाई साथमा लिएर प्रधानमन्त्रीज्यू कहाँ जानुभएको थियो। हामीले फोटो खिच्यौं। त्यो फोटोमा पनि उहाँले भन्नुभयो– सक्सेस नभई यो फोटो नहाल्नुस् है रामहरिजी,’ खतिवडाले नेपालखबरसँग भने, ‘तीन जना मात्रै थियौ, पूर्णबहादुर दाइ, म र प्रधानमन्त्रीज्यू।’

उक्त तस्बिरलाई नेता खतिवडाले राष्ट्रपतिका लागि मनोनयन दर्ता गरेको दिन ट्विटरमार्फत् सार्वजनिक गरेका थिए। ‘माननीय रामचन्द्र पौडेललाई हार्दिक शुभकामना। पार्टीको  निर्णय ठीक  छ। पुस १० देखि आजसम्म मेहनत गर्ने सबैलाई धन्यवाद। सभापति र उपसभापतिज्यूलाई अझ धन्यवाद,’ उनले तस्बिरसँगै लेखेका थिए। 

उनी पुस १० गते बनेको सात दलीय गठबन्धन भत्किएर अहिलेको गठबन्धन बन्नुमा उपसभापति खड्काको भूमिका महत्वपूर्ण रहेको बताउँछन्।

‘टुटेको गठबन्धनलाई निर्माण गर्न वास्तवमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको छ,’ खतिवडा भन्छन्, ‘गठबन्धन ब्युँताउनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको भूमिका महत्वपूर्ण छ। विशेषगरी प्रधानमन्त्री प्रचण्डको योगदान थिएन भने त सम्भव नै थिएन।’

तर, उपसभापति खड्का पुस १० मा बनेको सात दलीय गठबन्धन टुट्नुमा एमाले अध्यक्ष ओली नै जिम्मेवार भएको दाबी गर्छन्। कांग्रेस सभापति देउवालाई एमाले अध्यक्ष ओलीले पुस १० मा दिएको धोका र प्रधानमन्त्रीले विश्वासका मत लिने दिन संसदमा दिएको अभिव्यक्तिले नै आफूहरु एक ठाउँमा आएको उनको भनाइ छ। 

‘पुस १० गतेको दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीजीले नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवालाई दिनुभएको धोका र विश्वासघात एउटा कारण। अर्को कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले विश्वासको मत लिने बेलामा ओलीले संसदको रोस्ट्रममा उभिएर आफूले पटक–पटक संसद् विघटन गरेको असंवैधानिक कदमलाई संवैधानिक थियो, ठिक थियो र त्यो कुरा भोलिका दिनमा पनि स्थापित गर्ने खालको छनक दिँदै जसरी प्रस्तुति गर्नुभयो त्यसले हामी एक ठाउँमा आयौं,’ खड्का भन्छन्।   

उनी अहिलेको सत्ता गठबन्धन ५ वर्षसम्म नभत्किने दाबीसमेत गर्छन्। 

‘पुस १० गते भएका कमीकमजोरीलाई हामीले महसुस गर्यौँ। एकअर्कामा नयाँ विश्वासको जग स्थापना गर्यौँ,’ उनले भने, ‘त्यही विश्वासको जगमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चालगायत पार्टी छलफल गर्दै गयौँ र राष्ट्रपति चुनावमा आइपुग्दा स्वतन्त्र सांसदबाहेक ११ दल एक ठाउँमा उभिएका छौँ। अब यो गठबन्धन निरन्तर रहन्छ।’

उपराष्ट्रपति निर्वाचन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन अहिलेको गठबन्धन अघि बढ्ने र विश्वासको मत लिएको एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार भइसक्ने खड्का बताउँछन्।

‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुन्छ। यो सरकार निरन्तर रूपमा अगाडि बढ्छ। कांग्रेस सरकारमा जान्छ, को–को मन्त्री पठाउने भन्ने चरणमा हामी पुगेकै छैनौँ, छलफल हुनै बाँकी छ,’ खड्काले भने, ‘हामीले उठाएका एजेन्डाहरू विकास र समृद्धि, शान्ति प्रक्रिया टुंगोमा पुर्याउने लगायतमा सरकारले प्रभावकारी काम गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .