नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि तीन जनालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको छ।
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको हो।
चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाद्वारा हस्ताक्षरित पत्रमा तीन महिनाभित्र विश्वविद्यालय समितिको अधिवेशन सम्पन्न गर्ने गरी उनीहरुलाई अध्यक्षको जिम्मेवारी तोकिएको उल्लेख छ।
बडैलालाई दिएको पत्रमा १०३०–०७८/८०, जोशीलाई दिएको पत्रमा १०३९–०७९/८०, भण्डारीलाई दिएको पत्रमा १०३८–०७९/८० चलानी नम्बर उल्लेख छ।
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनय (स्ववियु) निर्वाचनमा बडैला र जोशीले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए।
तर पछि ओझालाई सघाउने गरी उनीहरुले अन्तिम समयमा उम्मेदवारी निष्कृय बनाएका थिए। ओझा स्ववियु सभापतिमा निर्वाचित भएपछि अध्यक्षको जिम्मेवारी दिइएका पत्रहरु सार्वजनिक भएका हुन्।
यद्यपि, अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएका पत्रहरु नक्कली भएको दाबी गरेका छन्।
‘स्ववियु निर्वाचनको मुखमा माहोल भड्काउन नक्कली पत्रहरु सार्वजनिक भएको हुन्,’ उनले नेपालखबरसँग भने, ‘ती हस्ताक्षरसहित आएका पत्रहरु आधिकारिक होइनन्।’
सार्वजनिक भएका ३ पत्रहरूः
प्रतिक्रिया