ad ad

राजनीति


प्रधानमन्त्री नजाने निश्चित भएको बोआओ फोरममा राष्ट्रपतिलाई पनि आएन निम्तो

प्रधानमन्त्री नजाने निश्चित भएको बोआओ फोरममा राष्ट्रपतिलाई पनि आएन निम्तो

नेपालखबर
चैत ८, २०७९ बुधबार २०:५२, काठमाडौँ

नेपालका लागि चिनियाँ राजदूत छन सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपरान्ह भेटवार्ता गरे। राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका राजदूत छनसँग चिनियाँ राष्ट्रपतिले पठाएको ‘धन्यवाद पत्र’ पनि साथमा थियो। 

आफू राष्ट्रपति निर्वाचित भएकोमा नेपालका राष्ट्रपतिबाट बधाई सन्देश प्राप्त भएको भन्दै चिनियाँ राष्ट्रपति सीले पौडेललाई धन्यवाद पत्र पठाएका थिए। तर, राष्ट्रपति सीलाई बधाई सन्देश भने पौडेलबाट होइन, निवर्तमान राष्ट्रपतिबाट पठाइएको थियो।

पौडेल २६ फागुनमा भएको निर्वाचनमा राष्ट्रपति निर्वाचित भएका थिए। उनले राष्ट्रपतिका रुपमा कार्यभार भने २९ फागुनदेखि सुरु गरेका हुन्। उता तेस्रो कार्यकालका लागि सी २६ फागुनमा राष्ट्रपति चुनिएका थिए।

सी राष्ट्रपति निर्वाचित हुँदा राष्ट्रपतिको जिम्मेवारीमा रहेकी विद्यादेवी भण्डारीको तर्फबाट बधाई सन्देश पठाइएको थियो। तर, त्यसको औपचारिक रेस्पोन्स भने चिनियाँ राष्ट्रपति कार्यालयको तर्फबाट हुन पाएको थिएन।

त्यसैले, अघिल्लो राष्ट्रपतिको पालामा पठाइएको बधाई सन्देशप्रति चिनियाँ राष्ट्रपतिको तर्फबाट औपचारिक धन्यवाद पत्र राजदूत छनले राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरेका हुन्। 

राष्ट्रपतिले सीले पठाएको ‘धन्यवाद पत्र’ का अलावा राजदूत छनसँग पौडेलका लागि औपचारिक बधाई सन्देश पनि थियो। 

राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको भोलिपल्ट ३० फागुनमा काठमाडौँस्थित चिनियाँ राजदूतावासले विज्ञप्ति निकालेर राष्ट्रपति सीले राष्ट्रपतिलाई बधाई ज्ञापन गरेको जानकारी दिएको थियो।

त्यही बधाई सन्देश औपचारिक तबरमा बुधबारको भेटमा राजदूत छनले राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्। आफूलाई बधाई ज्ञापन गरेकोमा राष्ट्रपति पौडेलले पनि राजदूत छनमार्फत् चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद ज्ञापन गरेका छन्।

राजदूत छनसँगको भेट पौडेल राष्ट्रपति निर्वाचित भएपछिको तेस्रो कूटनीतिक भेट हो। यसअघि पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अमेरिकी राजदूत डिन आर थमसनले भेट गरिसकेका छन्। 

राष्ट्रपति निर्वाचित भएपछिका पहिलो भेट भएकाले होला, राजनीतिक–कूटनीतिक दृष्टिले नेपालका लागि महत्वपूर्ण मानिने तीनै मुलुकका राजदूतहरुले राष्ट्रपति पौडेललाई आफ्नो मुलुक भ्रमणको निम्तो भने दिएका छैनन्। 

राष्ट्रपति पौडेलका हकमा भने आगामी १४–१७ चैतमा हाइनान प्रान्तको बोआओमा हुने बोआओ फोरममा सहभागिताका लागि चीनको तर्फबाट निम्तो दिइने अपेक्षा गरिएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो प्राप्त भए पनि उनी बोआओ फोरममा सहभागी नहुने पक्काजस्तै भएकाले राष्ट्रपतिलाई निम्तो प्राप्त हुने अपेक्षा गरिएको थियो। 

तर, बुधबारको भेटमा चिनियाँ पक्षबाट निम्तो नदिइएपछि फोरममा नेपालको तर्फबाट राष्ट्राध्यक्ष र सरकार प्रमुखको तहबाट सहभागिता नहुने पक्का भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .