नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा संसद सुचारु कसरी गर्ने, सरकार र पार्टीबीचको सम्बन्ध कसरी जोड्ने र मन्त्रिपरिषद् विस्तार टुंगोमा पुर्याउनेबारे छलफल भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
साथै, बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को विषय कसरी टुंगोमा पुर्याउने भन्ने विषयमा पनि सामान्य छलफल भएको उनले बताए।
‘संसदलाई सूचारु गर्नेबारेमा कसरी जाने, विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर कसरी अघि बढाउने, टीआरसी टुंग्याउने विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल भयो,’ पौडेलले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने।
त्यस्तै, सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने विषयमा पनि आजको बैठकमा छलफल भएको छ।
‘गठबन्धनलाई साथमा लिएर जनताले उठाएका जनसरोकारका विषयलाई पार्टीसँग जोड्ने लगायतका विषयमा छलफल भएको छ,’ पौडेलले अघि भने, ‘प्रदेशका सरकारलाई सातै प्रदेशमा आलोपालो संरचना अनुरुप अघि लाने भन्ने विषयमा संक्षिप्त कुराकानी भयो।’
साथै, उनले पर्सि (सोमबार) सम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरे।
‘क्याबिनेट विस्तार पर्सिसम्ममा गरेर डेलिभरीका कुरामा अघि बढ्ने छलफल भएको छ,’ पौडेलले भने।
उनले मन्त्रिपरिषद् विस्तार गर्न कुनै समस्या नरहेको पनि दाबी गरे।
प्रतिक्रिया