ad ad

राजनीति


तनहुँ, चितवन, बारामा गठबन्धनका उम्मेदवार जिताउन मैदानमै खटिए यी नेता

तनहुँ, चितवन, बारामा गठबन्धनका उम्मेदवार जिताउन मैदानमै खटिए यी नेता

सागर न्यौपाने
बैशाख ३, २०८० आइतबार २१:२३, काठमाडौँ

आगामी १० गते तीनवटा क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि सत्ता गठबन्धनले पदाधिकारीससहितका प्रभावशाली नेतालाई प्रचारमा खटाएको छ। 

तनहुँ क्षेत्र नम्बर १, चितवन २ र बारा क्षेत्र २ मा उपचुनाव हुँदैछ।

तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रामक प्रचार गरिरहेको छ। नेकपा एमाले पनि बलियो प्रतिस्पर्धी रहेकोले गठबन्धन दलले चुनाव प्रचारमा केन्द्रीय नेतालाई उतारेका हुन्।

तनहुँ र चितवनमा कांग्रेस र बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार छन्। 

चुनावी परिणाम आफ्नो पक्षमा पार्न गठबन्धनका सबै घटक केन्द्रदेखि स्थानीय तहसम्म परिचालित भएको नेताहरु बताउँछन्। 

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल लगायतका दलबाट उम्मेदवार छैनन् ।

उम्मेदवार नबनेका दलहरुले वर्चस्व भएका स्थानमा प्रभावशाली नेतालाई चुनाव प्रचारमा खटाएको दाबी गरेका छन्। 

सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले तनहुँ १ मा महासचिव देव गुरुङलाई खटाएको छ। त्यहाँ कांग्रेसका गोबिन्द भट्टराई उम्मेदवार छन्।

त्यसबाहेक स्थायी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर केन्द्रीय सदस्य हरिबहादुर चुमान पनि सो क्षेत्रमा खटिने निर्णय भएको छ।

त्यस क्षेत्रमा माओवादीको समेत प्रभाव राम्रो छ। त्यही भएर महासचिवलाई चुनाव प्रचारमा उतारेको उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले नेपालखबरलाई जानकारी दिए।

‘तनहुँमा हाम्रो पार्टीका महासचिव देव गुरुङ खटिनुभएको छ,’ महराले नेपालखबरसँग भने, ‘त्यसबाहेक चितवन र बारामा त्यहाँको आवश्यकता र प्रभावका आधारमा नेताहरु खटिनुहुन्छ।’

गठबन्धनमा भएकोले तीनै क्षेत्र जिताउने जिम्मेवारी लिएर परिचालित भएको उनले बताए।

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठलाई तनहुँको जिम्मा दिइएको छ।

उनी सोही क्षेत्रबाट २०७४ मा चुनाव जितेका सांसद हुन्।

यसपटक कांग्रेससहितको गठबन्धन भएकोले सो क्षेत्र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोडेर श्रेष्ठ बारा ४ मा चुनाव लड्न गएका थिए।

४ मंसिरको चुनावमा तनहुँमा समानुपातिकतर्फ एमालेले २२८०४, कांग्रेसले २२२६३, रास्वपाले १०१२९, माओवादी केन्द्रले ५२४७ मत पाएका थिए।

पाँच महिनाभित्र हुन लागेको उपचुनावमा निकै फेरबदल हुने आकलन गरेर गठबन्धन केन्द्रित भएको छ।

‘हाम्रो पार्टीका नेता किसान श्रेष्ठ तनहुँमा खटिनुभएको छ, त्यो उहाँको पनि क्षेत्र भएकाले गठबन्धनको पक्षमा माहोल बन्छ,’ एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘उहाँले भनेका मान्ने मतदाता धेरै हुनुहुन्छ। युवाहरु परिचालित हुन्छन् ।’ 

तनहुँमा कांग्रेसले महामन्त्री गगन थापालाई प्रचारको कमाण्डर बनाएको छ। 

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन्। उनले त्यही क्षेत्रबाट मंसिर ४ को चुनाव जितेका थिए। 

नागरिकता प्रकरणले उनको सांसद पद गुमेपछि उपनिर्वाचन हुन लागेको हो।

आक्रामक चुनाव प्रचार गरिरहेका रविलाई रोक्न कांग्रेसले स्थानीय नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावी कमाण्डर छन्। 

चितवन २ मा माओवादीको स्थानीय नेताहरु बढी क्रियाशील छन्। भरतपुर महानगरपालिकाको १० वटा वडा पर्ने भएकोले त्यस क्षेत्रमा मेयर रेनु दाहाल खटिएकी छन्।

‘विकासप्रेमी मेयर’ को उपमा पाएकी उनी घरदैलो अभियानसँगै प्रचारप्रसारमा छिन्। यस्तै केन्द्रीय नेताहरु नारायण दाहाल पनि चुनाव प्रचारमा जानेछन्। 

महासचिव गुरुङका अनुसार चितवन र बारामा मतदाताले चिनेको नेताहरु खटिएका छन्।

‘नेताहरु जाँदा मत बढ्ने साथीहरु जानुभएको छ,’ गुरुङले नेपालखबरसँग भने, ‘जो जाँदा इफेक्टिभ देखिन्छ त्यही अनुसार केन्द्रीय नेताहरु जानुहुन्छ।’

एकीकृत समाजवादीले चितवनमा स्थायी समिति सदस्य सावित्री भुसाललाई प्रचारमा खटाएको छ। कांग्रेस उम्मेदवार श्रेष्ठको पक्षमा जनमत फर्काउन एकीकृत समाजवादीले चितवनको जिल्ला कमिटी परिचालन गरेको खतिवडाले दाबी गरे।

‘उपचुनावमा हाम्रो पार्टीले लोकल नेता र कार्यकर्ता परिचालन गर्दा इफेक्टिभ हुने विश्लेषण गरेर त्यही अनुसार नेताहरु खटाएका छौँ,’ उनले भने।

मंसिर ४ को चुनावमा रास्वपाले चितवनमा सबैभन्दा बढी समानुपातिक मत पाएको थियो।

त्यस दलले ३५९४५ मत पाउँदा दोस्रोमा एमालेले १६७८४, कांग्रेसले १२१३२, माओवादीले ८४०७ र एकीकृत समाजवादीले ६१६ मत पाएका छन्। 

यस्तै बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मरिमेटेर सघाउने वचन दिएका छन्। 

सोही अनुसार कांग्रेसका स्थानीय, केन्द्रीय नेताहरु परिचालित भएका छन्। 

त्यस क्षेत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचारमा जाँदैछन्। प्रचार विभाग प्रमुख खतिवडाका अनुसार आगामी ७ गतेभित्र उनी बारा पुगेर प्रचारमा जोडिनेछन्।

त्यसैगरी स्थायी कमिटी सदस्य एवं मधेस प्रदेश कमिटी संयोजक रामचन्द्र यादव, इन्चार्ज धर्मनाथ साह यादवको पक्षमा मत माग्दै प्रचारमा छन्। 

हाम्रो आफ्नो कर्तव्य अनुसार प्रचार प्रसारमा लागेका छौँ,’ खतिवडाले भने, ‘गठबन्धनमा इमान्दार भएर उम्मेदवार जिताउन सबै तह र तप्कालाई क्रियाशील राख्छौं।’

बारामा जसपाको समानुपातिक मत सबैभन्दा धेरै
१३२४२ मत पाएको छ। यस्तै दोस्रोमा कांग्रेस १११७९ पाएको छ। तेस्रोमा एमाले ९१९३ मत पाएको छ। 

यसैगरी जनमत पार्टी ८८४६ मत पाएको थियो। लोकतान्तित्रक समाजनवादी पार्टीले ४२३५, नागरिक उन्मुक्ति पार्टीले ३७९४ र माओवादीले ३२६५ मत पाएको छ।

बारा २ मा लोसपाले पनि उपेन्द्र यादवलाई समर्थन गरेको छ।

त्यसक्षेत्रमा जनमत पार्टीले मंसिर ४ को चुनावमा माओवादीबाट पराजित शिवकुमार कुशवाहालाई उम्मेदवार बनाएको छ। एमालेबाट पुरुषोत्तम पौडेलको उम्मेदवार छन्। 

रास्वपाले रमेश खरेललाई उठाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .