नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले तनहुँ नेता आयत गर्ने नभई निर्यात गर्ने जिल्ला रहेको दाबी गरेका छन्।
‘तनहुँ जिल्लालाई आयात गर्न परेको छैन। हामी नेताहरू निर्यात गर्छौं,’ सांसद श्रेष्ठले भने। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेलाई चुनौती दिँदै तनहुँलाई बेकुप नबनाउन आग्रह गरे।
‘उम्मेदवारहरू साथीहरुको घर कहाँ हो भन्दा तनहुँमै घन्टी बजाउँछु भने जसरी भोट माग्दै हिँड्नुभएको छ। खबरदार तनहुँलाई यति बेवकुफ नबनाऊ,’ सांसद श्रेष्ठले भने।
दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले आफू भाग्यमानी नेता भएको पनि दाबी गरे। आफूले छाडेको तनहुँले राष्ट्रपति र निर्वाचित भएको बाराले उपराष्ट्रपति पाएको भन्दै आफू भाग्यमानी नेता भएको श्रेष्ठले दाबी गरेका हुन्।
भोलि रास्वपाका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले साथ छाडेको अवस्थामा स्वर्णिमको अवस्था के हुने? भन्दै उनले प्रश्न गरेका छन्।
‘भोलि तपाईंको पार्टीका अध्यक्ष रविजी र निकिता भाउजुले पेलाइदिनुभयो भने कहाँ जानुहुन्छ तपाईं? अनि तपाईं नेपाली कांग्रेसले पेल्यो, दाइ भाउजुले पेल्यो भनेर भन्ने? खबरदार! तनहुँ १ नम्बर डम्पिङ साइट होइन। हामी सचेत छौं।’ सांसद श्रेष्ठले भने।
‘म त्यस्तो भाग्यमानी नेता हुँ, मैले जुन जिल्ला छाडेँ त्यहाँबाट राष्ट्रपति बनाएँ,’ उनले भने, ‘जुन जिल्ला गएँ त्यहाँबाट उपराष्ट्रपति बनाएँ। गोविन्द दाई, म यस्तो भाग्यमानी भाइको साथ पाउनुभएको छ। त्यसमा कुनैपनि तलमाथि हुने छैन।’
Shares

प्रतिक्रिया