ad ad

राजनीति


तनहुँ १ : रामचन्द्रले ५ वर्षमा फर्काएका थिए, ५ महिनामै गुम्यो

तनहुँ १ : रामचन्द्रले ५ वर्षमा फर्काएका थिए, ५ महिनामै गुम्यो

फाइल तस्बिर


सागर न्यौपाने
बैशाख १२, २०८० मंगलबार २:११, काठमाडौँ

चुनाव जित्न कति मिहेनत गर्नुपर्छ? वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई सोध्दा हुन्छ। 

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव लडेका उनले ०४८ सालदेखि नै लगातार जितिरहेका थिए।

बहुदलपछिका तीनवटा चुनाव ०४८, ०५१, ०५६ मा उनी विजयी भए। ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभा चुनाव पनि उनले त्यहीँबाट जिते।

शान्ति प्रक्रियामा आएपछि सबैतिर माओवादी लहर भइरहेका बेला पौडेलले कांग्रेसबाट दुर्लभ जित निकाल्न सफल भएका थिए। 

तर, २०७४ सालमा पौडेलले तनहुँ १ मा नेकपा एमालेसँग नराम्रो हार व्यहोरे।

एउटै क्षेत्रबाट पाँच पटक चुनाव जितेका पौडेललाई रोक्ने उम्मेदवार थिए, वामगठबन्धनबाट नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ।

पराजयले पौडेललाई निकै तनाव दियो। 

कांग्रेसका वरिष्ठ नेता, आफ्नै बलियो निर्वाचन क्षेत्र गुमेको विषयलाई उनले प्रतिष्ठासँग जोडे। त्यही भएर पौडेलले तनहुँमा बाक्लो आउजाउ गरे। सकेजति विकास योजना पारे।

विगतमा मत नदिनेहरुसँग घरघर पुगेर भेट गरे, काम गर्न नसकेकोमा माफी मागे र अब भने प्रधानमन्त्री नै बनेर विकास गर्ने आश्वासन दिएर ४ मंसिरको चुनावमा होमिए।

पाँच वर्षमा उनले तनहुँका मतदाताको मन फर्काए र जिते। उनलाई जित्न सहज बनाउन कांग्रेस–माओवादीसहित ५ दलीय गठबन्धन थियो।

पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरे।

पौडेलले २५ हजार ३६१ मत पाएर विजयी हुँदा एमालेका रानामगरले १९ हजार ९८१ मत पाए।

यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। 

मंसिरको चुनाव जितेका पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भए र सांसद पद रिक्त भयो। सो क्षेत्रमा वैशाख १० गते उपचुनाव भयो। 

उपचुनावमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनायो।

एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउँदा रास्वपाले कांग्रेसमै लामो समय रहेका डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको थियो।

आइतबार (१० वैशाख) मध्यरातिदेखि मतगणना जारी छ। तनहुँ १ मा रास्वपाका वाग्लेले मतगणना सकिनुअघि नै जित सुनिश्चित बनाइसकेका छन्।

अर्थात् त्यस क्षेत्रमा कांग्रेसका भट्टराई जित्ने सम्भावना अब सकिएको छ। त्यहाँ खसेको ६३ हजारमध्ये ५८ हजार मत गनेर सकिएको छ।

यो परिणामले कांग्रेसका वरिष्ठ नेता पौडेलले पाँच वर्ष लगाएर फिर्ता ल्याएको त्यस क्षेत्र पाँच महिनामै गुमाउने अवस्था आएको छ।

अघिल्लो पटक (२०७४) मा एमालेका किसान श्रेष्ठले पौडेलबाट खोसेर जितेको त्यस क्षेत्रमा यसपटक (२०८०) रास्वपाले जित्ने भएको छ। 

रोचक त, उपचुनावमा पनि कांग्रेस–माओवादीसहित ५ दलको गठबन्धन थियो। तर सत्ता गठबन्धनको यहाँ केही लागेन।

यतिसम्म कि उनलाई २०७४ मा पराजित गर्ने किसान श्रेष्ठ पनि कांग्रेस जिताउन मरिमेटेर खटिएका थिए। 

तर, उनीहरुको केही सीप चलेन। 

एमाले तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार सबै दलको मत रास्वपातिर खसेको छ। 

‘०६४ मा माओवादीले पाएको मत जस्तै यसपटक स्वर्णिमलाई मत खसेको छ,’ श्रेष्ठले भने, ‘सबै मत सोहोरिएर उनैलाई खसेको देखिन्छ। अब हामीले जित्ने अपेक्षा त कल्पनाभन्दा बाहिर गइसक्यो।’

कांग्रेसले निकै मिहिनेत गरेको तनहुँ १ मा महामन्त्री गगन थापा चुनावी कमान्डर बनेर खटिएका थिए। उनले चितवन र तनहुँ दुवैमा हरि (भगवान) ले हेरिरहेको भन्दै कार्यकर्तालाई दायाँबायाँ नगर्न निर्देशन दिए।

तर उनको निर्देशन अवज्ञा गर्दै मंसिरमा तनहुँ २ बाट विजयी कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडाबाट दोब्बर बढी मत स्वर्णिमलाई गएको छ।

निर्वाचनअघि गठबन्धनले तनहुँ २ का ठाउँ ठाउँमा ठूला आमसभा राखेको थियो। तर, शीर्ष नेताले गोविन्द भट्टराईलाई मन्त्री बनाउने र कयौँ विकास योजनाका सपना देखाए पनि गठबन्धन यहाँ फेल भएको छ। 

कांग्रेसका शीर्ष नेतादेखि कयौँ केन्द्रीय सदस्यहरु दैनिक परिचालित हुँदा पनि तनहुँ २ अब रास्वपाको पोल्टामा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .