कला


‘सकम्बरी’प्रति पारिजात स्मृति केन्द्रको आपत्ति, माफी माग्दै दृश्य सच्याउन माग

‘सकम्बरी’प्रति पारिजात स्मृति केन्द्रको आपत्ति, माफी माग्दै दृश्य सच्याउन माग

नेपालखबर
बैशाख ११, २०८० सोमबार १५:५५, काठमाडौँ

गायक प्रकाश सपुतको भर्खरै सार्वजनिक ‘सकम्बरी’ गीतको विरोध गर्ने क्रम रोकिने छाँट देखिएको छैन। पछिल्लोपटक पारिजात स्मृति केन्द्रले उक्त गीतप्रति गम्भीर आपत्ति जनाएको छ। 

गीतमा पारिजातद्वारा लिखित ‘शिरीषको फूल’ पुस्तककी चर्चित पात्र ‘सकम्बरी’लाई नकारात्मक अर्थ र भूमिकामा प्रयोग गरिएको भन्दै केन्द्रले विरोध गरेको हो। साथै गीतको भिडिओमा अप्रासंगिक रूपमा ‘शिरीषको फूल’ पुस्तक देखाइएकोप्रति केन्द्रले तीव्र असन्तुष्टि व्यक्त गरेको छ। 

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘...महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडिओमा देखाइएका पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति पारिजात स्मृति केन्द्रको गम्भीर आपत्ति रहेको छ।’

गीतमा अनुमति नलिई ‘शिरीषको फूल’ पुस्तक र यसका पात्रका नाम प्रयोग गरिएकाले गायक सपुतले प्रतिलिपि अधिकार पनि उल्लंघन गरेको ठहर केन्द्रले गरेको छ। यसका लागि गायक सपुतले माफी माग्नुपर्ने र उक्त पुस्तकका प्रसंग समेटिएका दृश्य गीतको भिडिओबाट हटाउनुपर्ने उसको माग छ। 

‘यस प्रकारका अनधिकृत छायांकनबाट सुप्रसिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै उहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रहिआएको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै श्री प्रकाश सपूतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृश्यहरू सच्याउन माग गर्दछ।’

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .