तनहुँ– क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ। गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रपति रामचन्द्र पौडेलले जित निकालेका थिए।
पौडेल २५ हजार ३६१ मत सहित त्यतिबेला निर्वाचित भएका थिए। नेपाली कांग्रेस परित्याग गरेर रास्वपाका उम्मेदवार बनेका वाग्लेले भने ३० हजार बढी मत प्राप्त गरिसकेका छन्।
यहाँ गणना हुन बाँकी मतभन्दा वाग्ले बढी मतान्तले अघि लागिसकेका छन्।
नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई चुनावी कमाण्डर बनाएर तनहुँ पठाएको थियो। कांग्रेसका शीर्ष नेतादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत भट्टराईको चुनावी सभामा मत माग्न पुगेका थिए।
तनहुँमा नेपाली कांग्रेसबाट बागी उठेका गोविन्द जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन्।
गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन नसकेको परिणामले देखाएको छ।
यहाँ सुरुदेखि नै रास्वपाका वाग्लेले अग्रता लिएका थिए। ६३ हजार ७५९ मत खसेको तनहुँ–१ को परिणाम मंगलबार बिहानसम्म आइसक्नेछ।
Shares

प्रतिक्रिया