राजनीति


मेरो फोटोमा राखेजति सुन त बोक्न सक्दिनँ होला : ओली

मेरो फोटोमा राखेजति सुन त बोक्न सक्दिनँ होला : ओली

नेपालखबर
जेठ १७, २०८० बुधबार १७:६, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेका छन्।

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उनले आपत्ति समेत जनाए।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको पनि पटकपटक बताए। उनले त्यो सत्यलाई बंग्याएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए।

उनले भने, ‘केपी ओलीको फोटोमा हातभरी सुनैसुनका, यता पनि सुनैसुनका बोकि नसक्नु। त्यति सुन म बोक्न पनि सक्दिन होला। तर मेरो शरीरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औैँठी लगाएको छैन। म सानो हुँदा मेरो आमा बित्नु भएको। आमाले लगाउने गर्नु भएको औंठी यो तैँले लगा भनेर सानो छँदैखेरी एक पल्ट लगाई दिएका थिए। ३÷४ दिन मैले लगाएँ।

आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए।

उनले भने, ‘अब अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाई दिएको छ। मतलव यति साह्रो झुट नि। यति साह्रो झुट पनि मान्छेले, यत्रो मेहनत गरेर, एउटा चिजलाई अर्को ठाउँमा लगेर कस्तो घटिया कुरा होला। सत्य पो उजागर गर्ने त। आफ्नो क्षमता त सत्य सम्प्रेषण, सत्य ऊजागर गराउन प्रयोग गर्ने कि झूट फैल्याउनका लागि?’

इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै उनले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न पनि कलाकारहरुलाई आह्वान गरे।

उनले पार्टीमा प्रवेश गरेका कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताए। एमालेले मुलुकको समृद्धिको अभियान सञ्चालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .