ad ad

राजनीति


दिल्लीमा प्रचण्डले भने– मोदीसँग तीन पटक एक्लाएक्लै भेटपछि ‘ब्रेक थ्रु’ भयो (अडिओसहित)


नेपालखबर
जेठ १९ , नयाँ दिल्ली

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेटवार्ता भएपछि नेपाल–भारत सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको बताएका छन्। 

बिहीबार नेपाल र भारतबीच दुई पक्षीय औपचारिक वार्ताको आसपास प्रधानमन्त्री प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।  

‘तीन पटक मोदीजीसँग एक्लाएक्लै भेटवार्ता भएपछि बिग्रिन लागेको परिस्थिति धेरै सहज भयो,’ प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नेपाली सञ्चारकर्मीसँग होटल मौर्यमा भने, ‘त्यसपछि मोदीजीले नेपाल–भारत सम्बन्ध हिटबाट सुपरहिट तर्फ जाने र हिमालयकै उचाइमा पुर्याउने कुरा गर्नु भयो।’ 

प्रचण्डले मोदीसँगको त्यो ‘वान अन वान’ वार्तामा नै नेपालबाट भारतले १० हजार मेगावाट जलविद्युत किन्ने सहमति भएको खुलाए। 

‘नेपालका लागि त्यो नै हो ब्रेक थ्रु,’ प्रचण्डले भने। 

भारत भ्रमणको तेस्रो दिन शुक्रबार दिल्लीबाट मध्यप्रदेशको धार्मिक सहर उज्जैन उड्नुअघि होटल आइसीटी मौर्यको ‘ओबामा स्वीट’ मा प्रधानमन्त्री प्रचण्ड प्रफुल्ल मुद्रामा यसरी प्रस्तुत भए : 

प्रचण्ड : मेरो यो चौथो भ्रमण ‘अफिसिल’ हो। पहिलाका भ्रमणहरु बरु ‘स्टेट भिजिट’ थिए। तर यो पटक भारतीय सञ्चारमाध्यमले पनि मेरो भ्रमणलाई प्रमुखताका साथ स्थान दिएका छन्। यस्तो पहिलाका कुनै पनि प्रधानमन्त्रीहरुका भ्रमणमा भएको थिएन। यो पटक अलि बढी नै महत्व दिएको त प्रष्ट रुपमा देखियो नै।

हामीले भारतसँग पहिलादेखि जोड दिएको विषय भनेको जलविद्युतको व्यापार नै थियो। नेपालसँग भएको स्रोत भनेकै जलविद्युत हो। त्यसलाई सही रुपमा मार्केटिङ गर्न सक्दा मात्र हामीले भारतसँगको व्यापार घाटामा सन्तुलन कायम गर्न सक्ने र देशको समृद्धिमा टेवा पुग्ने हुन्छ। त्यसैले भारतसँग कसरी लङटर्म विद्युत व्यापार गर्ने भन्ने सोच ममा थियो। हामीमा समस्या पनि यसमा नै थियो र अहिले ‘ब्रेक थ्रु’ भएको पनि यसैमा हो। बंगलादेश, भारत र नेपालको बीचमा उर्जा व्यापार सम्बन्धी त्रिपक्षीय रुपमा नै सम्झौता भइसकेको जस्तै अवस्था छ। यो पनि निकै ठूलो कुरा हो। हवाइ रुट अनुमतिको कुरा हाम्रो लागि अलि ठूलो र महत्वपूर्ण थियो। नेपालगञ्जबाट ‘लो अल्टिच्युट’ को रुट दिने त सहमति भयो तर हामीलाई ‘हाइ अल्टिच्युट’ को र महेन्द्रनगरबाट हुँदा सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा राखिएको छ। त्यसमा उनीहरुले हामी ‘पोजेटिभ’ छौँ भनेका छन्। त्यसैले त्यतापटि पनि यो सानो भएपनि ‘ब्रेक थ्रु’ नै हो। 

सीमा समस्या अर्को हाम्रो मुख्य कुरा थियो। हिजो मेरो प्रधानमन्त्री मोदीजीसँग कुरा भइसकेपछि अब यसलाई गम्भिर रुपमा लिएर हल गरौं भन्नुभएको छ। संयुक्त प्रेस मिटमा पनि उहाँले सीमा समस्या हल गरिन्छ भनेर बोल्नु भयो। 

अहिलेसम्म मोदीजीले आफैले आफ्नो मुखबाट सीमाको समस्या हल गर्ने भनेर कहिल्यै पनि भन्नु भएको थिएन। त्यसैले यो पटकको भ्रमणमा यसलाई पनि अर्को ‘ब्रेक थ्रु’ नै हो भन्ने लागेको छ मलाई। त्यतिमात्र होइन, पेट्रोलियम पाइपलाइन, संयुक्त चेकजाँच चौकी, रेलमार्गजस्ता विषयहरु जसरी सहमतिमा पुगियो। यी सबै सकारात्मक उपलब्धी हुन्। यसले नेपालको आर्थिक गतिविधि बढाउन सहयोगी हुने खालको नै छन्। समग्रमा भन्नुपर्दा भ्रमणमा सबैको आँखा त परेकै थियो। हिजो बिहानबाट वातवरण विस्तारै सकरात्मक बन्दै गयो। हैदरावाद हाउसमा जति समझदारी र सहमति भए, जुन परिणाम आयो त्यसले भ्रमण सफल भयो। मेरै मुखबाट अहिले नै धेरै भन्नु राम्रो हुन्न जस्तो लाग्छ। तर जे परिणाम आयो, त्यो सुखद छ। धेरै राम्रो कुराको सुरुवात भएको छ। तर अहिले नै सबैथोक भइहाल्यो भन्ने पनि होइन। तर यो भ्रमणबाट धेरै ठूलो कुराको सुरुवात भयो। 

मोदीले आफ्नो सम्बोधनमा ‘हीटबाट हाम्रो सम्बन्ध सुपरहीट तर्फ जाँदैछ’ भन्नु भयो। खासमा त्यो एक्लाएक्लै भेटमा त्यस्तो के सहमति भएको हो?
खास कुरा के भने सीमा समस्याको बारेमा मैले रचनात्मक तरिकाले पोजेटिभ रुपमा प्रस्तुत गर्दै यसलाई एकैपटक समाधान गर्ने दिशामा जानुपर्दछ। यसलाई थाँती राखेर नेपाल–भारत सम्बन्ध अघि बढ्न नै सक्दैन भन्ने मेरो कुरामा मोदीजी अलि सकरात्मक बन्दै गएको मैले अनुभूति गरें। अर्को जलस्रोत र विद्युत व्यापार नै हो। मोदीजीको अलि बढी ध्यानचाहिँ यो क्लीन इनर्जीबाट जानुपर्दछ भन्ने थियो। उर्जाको प्रयोगमा यो नै उत्तम विकल्प भएकोले सायद उहाँले त्यसो भन्नुभएको होला। मोदीजीसँग खुलेर कुराकानी भयो। हिजो (बिहीबार) मात्रै मोदीजीसँग मेरो तीनपटक एक्लाएक्लै वार्ता भयो। पहिला २५ मिनेट र पछि दुई पटक ५–७ मिनेट ५–७ मिनेट गरेर तीन पटक कुरा भए। सबै कुरा त अहिले म यहाँ राख्दिनँ। ती भेटङहरुले गर्दा नै वातावरण सहज हुन पुगेको हो। हाम्रा यिनै कुराकानीबाट हाम्रो सम्बन्ध हीटबाट सुपरहीट र हिमालयको हाइटमा पुग्छ भन्ने ‘कन्फिडेन्ड’ उहाँमा भएको देख्छु मैले।

आर्थिक गतिविधि चलायमान बनाउन र नेपालको समृद्धिलाई अघि बढाउन यता दिल्लीमा ‘ब्रेक थ्रु’ नगरी उता (नेपालमा) केही हुन्न। यो वातावरण बनाउनका लागि धेरै मेहनत गरियो हेर्नुहोस्। एकपटक त वातावरण बिग्रिएला कि भन्ने मलाई परिसकेको थियो। दूतवासमा मेरो अनुहारमा दबाब मात्र देख्नुभयो नि (हाँसो)। अहिले यो वातावरण बनाउन मोदीकै बढी भूमिका देख्छु म।

तपाईंले प्रधानमन्त्रीकै हैसियतमा चारपटक भारतको भ्रमण गर्नुभयो। त्यसमा यो भ्रमण अरुभन्दा बढी उपलब्धीमूलक हो?
अहिलेको भ्रमण धेरै किसिमले हेर्दा यसलाई ‘ब्रेक थ्रु’ नै भन्छु म। दीर्घकालीन विद्युत व्यापारको नेपालीको चाहाना यो पटक पूरा भयो। बंगलादेश, भारत र नेपालबीचमा विद्युत व्यापार गर्ने ढोका यो भ्रमणले खोलेको छ। अर्को हवाई रुट अनुमति चाहिन्छ भन्ने हाम्रो मागमा हामीले भनेजस्तो नभएपनि कम्तिमा यसको प्रक्रिया सुरु भयो। सीमा समस्या हल गर्नुपर्दछ भनेर जहिल्यै पनि हामी मात्र भन्थ्यौं। अहिले यो कुरा भारतले पनि भन्यो। यी यस्ता कुराहरु हुन् जसले नेपालको आर्थिक र राजनीतिक क्षितिजमा धेरै परसम्म महत्व राख्दछ। त्यसैले मेरो लागि यो भ्रमण ऐतिहासिक मानेको छु। 

अघि हाइड्रोजन इनर्जीको कुरा गर्नुभयो। के नेपाल र भारतबीचमा यसको पनि कुनै सम्बन्ध छ?
त्यसको लागि क्लिन इनर्जीको धेरै महत्व हुने रहेछ। हामीसँग क्लिन इनर्जीको प्रचुरता भएको हुनाले त्यसलाई हाइड्रोजन इनर्जीमा रुपान्तरण गर्नको लागि चाहिने भएकोले दुवै देशले त्यसमा सहकार्य गर्न चाहेको मैले अनुभूति गरेको छु।

हामीले १० वर्षमा १० हजार मेगाावाट बिजुली भारतलाई बेच्ने त भनेका छौँ। हामी त्यति धेरै विद्युत उत्पादन गर्न सक्ने अवस्थामा छौँ त?
नेपालमा अन्तर्राष्ट्रिय कम्पनीहरु हाइड्रोमा लगानी गर्न डराउने कारण विद्युत निर्यातको ग्यारेन्टी नभएर हो। नेपालमा सबै उत्पादन खपत हुने बजार छैन्। भारत लिन तयार थिएन। त्यसैले लगानीको वातवरण बनिरहेको थिएन। हिजो भएको घोषणाले अब त्यो डर हरायो। अब ठूलो मात्रामा लगानीकर्ताहरु नेपालमा हाइड्रोमा लगानी गर्न उत्साही भएर आउँछन्। त्यसअर्थमा यसको महत्व रणनीतिक नै छ जस्तो लाग्दछ। अहिले नै हामीसँग ३७ सय जति उत्पादन भइसकेको छ। पाइपलाइनमा भएका परियोजनाहरुलाई अघि बढायो भने १० हजार मोगावाट उत्पादन गर्न सकिन्छ। 

फेरि १० हजार नै भारत बेच्ने भन्ने पनि होइन। सकेसम्म त देशभित्र पनि खपत बढाउनुपर्दछ भन्ने मेरो मान्यता छ। बेच्ने भन्दा आफैँ खपत गर्ने कुरा प्राथमिकतामा छ। 

चीनको लगानीबाट उत्पादित बिजुली नकिन्ने अडान भारतले राख्दै आएको छ। यस विषयमा पनि मोदीसँग केही छलफल भयो कि?
तपाईंहरुलाई थाहा छ नि तामाकोसीको विद्युत किन्न भारतले आनाकानी गरेको। यसमा मैले के भनेको छु भने कुनै पनि परियोजना ग्लोबल टेन्डरबाट कुनै पनि देशको कम्पनीले प्राप्त गर्‍यो भने त्यो विद्युत लिन्न भन्ने कुरा त बिल्कुल मिल्दैन। भनेपछि हिजोबाट त्यो ढोका खुलेको छ। लगानी गर्ने कुरामा त दिल्लीको ‘रिर्जभेसन’ भएको कुरा सिधै बुझिएकै छ। तर ग्लोबल टेण्डरबाट उत्पादित बिजुली लिन्न भन्नु त तर्कसंगत हुन्न र त्यो मिल्दैन पनि।

सीमा विवादबारे के कुरा भयो?
भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ। त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन्। हामीले छलफल गर्दा विभित्र विकल्पमा कुरा भएको छ। एउटा त बंगलादेश मोडलको विकल्प पनि छ। बंगलादेश र भारतबीचमा पनि लामो समयदेखि समस्या थियो तर उनीहरूले हल गरे। एउटा त्यो मोडेल हुन सक्छ। अर्कोचाहिँ बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता हो र चाहना पनि हो। त्यसमा कहिँ ‘म्यानेज’ गर्न सक्ने हो भने पनि एउटा हल हुनसक्छ। हाम्रा विज्ञहरूको सुझाव पनि त्यस्तो आउने गरेकै छ। नेपालमा विज्ञहरूले त्यतापट्टी पाउने हो भने पनि ठीकै छ भनेका छन्। अरू विकल्प पनि हुन सक्छन्। कालापानीबारे विकल्पहरू सोच्न सुरु भएको छ हिजोबाट। विकल्पबारे सोच्न सुरू हुनु नै ‘ब्रेक थ्रु’ हो। त्यसैले गर्दा त मोदीजी बोल्नुभयो आफैंले यो हल गर्नुपर्छ भनेर।

मोदीजीमा पनि यो (सीमा समस्या) राखिरह्यो भने नेपाल–भारत सम्बन्ध कहिले पनि सुध्रिने भएन भन्ने परेको छ। जहिले पनि लिपुलेक, कालापानी भन्यो, अनि त्यसैमा अल्झिरहने भयो। यसलाई हल गर्यो भने अरू आर्थिक, सांस्कृतिक सम्बन्ध त छँदै छ हामीबीच। यसकारण हिजोबाट विकल्पहरू हुनसक्छन् भन्नेमा गयो। त्यहीँ (कालापानी क्षेत्रमै) पनि केही गर्न सकिन्छ भन्ने पनि छँदै छ। हिजोबाट सीमाबारे सकारात्मक छलफल सुरु भयो। 

ईपीजीको प्रतिवेदन चाहिँ अब बिर्सँदै बिर्सँदै गएको हो?  
ईपीजी प्रतिवेदनलाई नेपालमा हामी सबैले गम्भीरतापूर्वक लिएका छौं। तर अब यो विषयमा विवाद गरेर सबै काम अड्काउनुभन्दा फुकाएर अघि बढ्नुपर्छ। पछि वातावरण बनाएर एउटा बिन्दुमा गएपछि यो काम पनि हुन्छ। यसपाली चाहिँ ईपीजीबारे कुरा उठ्दै उठेन। उठाएर माहोल बिगार्नतिर लागिएन। अहिले त्यसले माहोल बन्दैन। हुने कुरा पनि बिग्रिने गरी किन गर्ने? हामीले राम्रा काम अघि बढाउँदै गर्दा यो ईपीजी पनि हुन्छ। 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे नेपालले अपेक्षा गरेअनुसार कुरा हुन सकेन? 
पञ्चेश्वरबारे हामी छलफल गर्दै जाँदा तल्लो शारदामा प्रयोग भएको पानीको कुरा मुख्य थियो। महाकाली सन्धिमा तल्लो शारदाको कहीँ पनि चर्चा छैन। हामीलाई तल्लो शारदाको ‘एग्जिस्टिङ युज अफ वाटर’ ले अप्ठ्यारो बनायो। त्यही कारण पञ्चेश्वर अगाडि नबढ्ने अवस्था आयो। अहिलेचाहिँ यी सबै कुरा छाडेर महाकाली सन्धिलाई नै केन्द्रबिन्दुमा राखेर पहिला त्यसअनुसार डीपीआर तयार गर्ने, त्यो डीपीआर तयार गरेपछि परियोजना पनि अघि बढ्छ र पञ्चेश्वरसम्म पुगिन्छ भन्ने भएको छ। नयाँ रूपमा यसलाई अगाडि बढाउने भन्ने भएको छ।

भारत भ्रमणमा आउनुअघि तपाईंले काठमाडौंमा चिनियाँ नेतालाई भेट्नुभयो ... 
भारत आउनुअघि चिनियाँ नेतालाई भेट्नु केवल संयोग हो। समग्रमा के हो भने सबैले मिलेर भारत भ्रमणको नतिजा राम्रो आएको छ। अब यसलाई राम्रो बनाएर जाऊँ। 

भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि संयोग नै हो त?  
नागरिकताको कुरामा मैले धेरै पहिले नै राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ भनेकै थिएँ। राष्ट्रपतिले सल्लाह गर्दै जाँदा संयोगवश म भारत आउने दिन नै नागरिकता विधेयक प्रमाणीकरण भएको हो। नागरिकता विधेयक पहिल्यै होस्, मेरो भारत भ्रमणसँग यो नजोडियोस् भन्ने चाहेको थिएँ। तर राष्ट्रपतिजीले गर्दै जाँदा त्यही दिन पारिदिनुभयो। 

गो​र्खा भर्तीबारे पनि दिल्लीमा केही कुरा भयो कि?
गो​र्खा भर्तीबारेमा अप्रत्यक्ष कुरा भएको छ, यसबारे म पछि भनौँला। 

जेठ १९, २०८० शुक्रबार ९:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .