ad ad

राजनीति


प्रचण्डको स्पष्टीकरण : भारतसँग कालापानीको विकल्प खोज्न सकिन्छ भनेको छैन

प्रचण्डको स्पष्टीकरण : भारतसँग कालापानीको विकल्प खोज्न सकिन्छ भनेको छैन

संसद् बैठकमा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ २२, २०८० सोमबार १२:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपाली भूमि नै भएकाले आफूले यही कुरा भारतमा राखेको बताएका छन्। 

आफ्नो चार दिने भारत भ्रमणबारे सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘यो सदनलाई गम्भीरता र जिम्मेवारीसाथ भन्न चाहन्छु। यी समस्यालाई हामीले समाधान गर्नैपर्छ। यी समस्या समाधान नभएसम्मम नेपाल-भारत सम्बन्ध सुधार हुन सक्दैन’, उनले भने, ‘यसरी सिमानाको समस्या समाधान गर्नुपर्छ भनेर पहिलो पटक राखिएको हो। सीमा समस्या समाधान गरेर नेपाल-भारत सम्बन्ध हिमालको उचाइमा पुर्‍याइन्छ भनेर बोलेको पनि यो पहिलो पटक हो।’

उनले आफूले सीमाबारे आन्तरिक छलफलमा राखे पनि भारतीय प्रधानमन्त्रीले पत्रकार सम्मेलनमै बोलेको बताए।

‘मोदीजीले सीमा समस्या हल गरेर दुई देशको सम्बन्ध हिमालयको उचाइमा पुर्‍याइन्छ भन्नु भएको थियो’, उनले भने, ‘मोदीजीले २०१४ को सम्बोधनमा हित (hit) भन्नु भएको थियो। तर यसपटक हित मात्रै होइन, अब सुपरहिट हुन्छ भनेको हो।’
 

उनले सीमा समस्याबारे भारत सरकार र भारतका शक्तिशाली प्रधानमन्त्रीले पनि सीमा समस्या हल गर्नुपर्छ भनेको पनि बताए। 

‘कालापानीबारे मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेको छैन प्रष्ट होस्। मैले नेपालको भूमि नेपालकै हुनुपर्छ भनेको हो’, ‘केही बुद्धिजीवीहरुले सीमा समस्या समाधान गर्न बंगलादेशी मोडल अपनाउन सकिन्छ भनेका हुन्। उनीहरुले बंगलादेश जाने बाटो पाउन सके कालापनी साट्न सकिन्छ भनेका हुन्। मैले त सीमा समस्या हल गर्नुको विकल्प नरहेको कुरा राखेको हुँ।’

उनले कालापानीसँग पूर्वीनाका साट्ने कुरा आफ्नो नभइ विज्ञहरुको भएको बताए। प्रचण्डले विज्ञहरुबाट यस्ता विकल्प पनि आएका छन् भनेर राखेको कुरालाई अतिरञ्जित नगर्न पनि आग्रह गरे। 

‘कहीँ कोही कन्फुजन नहोस् कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो भन्ने मैले प्रष्ट राखेको छु’, उनले भने, ‘पञ्चेश्वर पनि आएको छ, बाढी र डुबान पनि आएको छ। धेरै कुरा समेटिएका छन्। हामीले धेरै हल्ला गर्दा कुरा अड्किन्छ भन्ने भएको छ।’

उनले सांसदहरुलाई यथार्थ जे हो, तथ्य जे हो त्यो बुझिदिन आग्रह गरे। ‘राम्रो जे हो त्यो बोलिदिनुस्। यो पटक म सुरुदेखि आर्थिक समस्या समाधानको उपायको खोजीमा छु’, उनले भने, ‘म जनतालाई सेवा दिने कुरामा, सुशासन दिने कुरामा प्रतिबद्ध छु। भारत भ्रमण त्यसकै लागि हो। यो भारत भ्रमणले नयाँ आयाम दिएकै रहेछ भन्ने पुष्टि हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .