ad ad

राजनीति


शेखर कोइराला सभापति देउवासँग नजिकिएपछि इतर समूहका नेताहरु सशंकित

एकै मञ्चमा देखिँदै दुई शीर्ष नेता
शेखर कोइराला सभापति देउवासँग नजिकिएपछि इतर समूहका नेताहरु सशंकित

फाइल तस्बिर


केशव सावद
जेठ २४, २०८० बुधबार १७:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्रीहरु पठाउँदा आ–आफ्नो समूहमा एकलौटी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला एउटै मञ्चमा देखिने भएका छन्।

देउवा र कोइराला पछिल्लो समय नजिकिएको चर्चा चलिरहेका बेला दुवै नेताहरुले मञ्च ‘सेयर’ गर्ने भएका हुन्।

महामन्त्री गगन थापा नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला सभापति देउवानिकट प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जिल्ला सम्मेलनको अवसर पारेर दुवै नेतालाई एकै मञ्चमा उभ्याउन लागेका छन्। 

जेठ २७ गते भक्तपुरको कालोपाटीस्थित एक ब्याङ्क्वेटमा हुन लागेको जिल्ला सम्मेलनमा उनले सभापति देउवालाई प्रमुख अतिथि र इतर समूहको नेतृत्व गरिरहेका नेता कोइरालालाई विशेष अतिथिका रुपमा निम्त्याएका छन्। 

नेतृत्वको कारण कांग्रेसको भविष्य अन्यौलपूर्ण देखिँदा कार्यकर्ताहरुमा निराशा छाएको गुनासो जिम्मेवार नेताहरुले गरिरहेका बेला जिल्ला सभापति थापाले पार्टीका दुवै धारहरुको नेतृत्व गरिरहेका शीर्ष नेताहरुलाई एकै मञ्चमा राखेर सम्मेलन गर्न लागेका हुन्।

‘पार्टीको भविष्य अन्यौलमा पर्यो। आमकार्यकर्तामा निराशा छायो भन्ने छ,’ उनी भन्छन्, ‘कार्यकर्ताहरु घण्टी बजाउन थाले भन्ने पनि छ। यस्तो अवस्थामा कार्यकर्ताहरु नअल्मिलिऊन्। पार्टीको रियालिटी के हो भनेर दुवै नेताबाट बुझून् भनेर दुवै धारका नेता बेलाएका हौँ।’ 

जिल्ला सभापति थापाका अनुसार नेता कोइराला भक्तपुरमा पार्टीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका छन्। 

सम्मेलनका लागि जिल्ला कार्यसमितिले सहमहामन्त्री बद्री पाण्डेलाई प्रमुख वक्ताका रुपमा आमन्त्रण गरेको छ। तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने निमन्त्रणा गरिएको छैन। 

महामन्त्रीद्वय थापा र शर्मालाई आमन्त्रण नगर्नुको कारण खुलाउँदै सभापति थापाले भने, ‘उहाँहरुलाई धेरै पटक बोलाइसकेका छौँ। फेरि उहाँहरु रुपान्तरण अभियानमा हुनुहुन्छ। पार्टी रुपान्तरण गर्ने भनेर व्यस्त हुनुहुन्छ। किन डिस्टर्ब गर्नु?’

१४ औँ महाधिवेशनमा एकअर्कासँग प्रतिस्पर्धा गरेर पछिल्लो समय नजिकिन थालेका सभापति देउवा र नेता कोइरालाले सरकारमा मन्त्री पठाउँदा आ–आफ्नो समूहमा आफूखुसी गरेका थिए।

मन्त्री पठाउँदा देउवाले संस्थापन समूहका र कोइरालाले संस्थापन इतर समूहका अन्य प्रभावशाली नेताहरुलाई ‘बाइपास’ गरेका थिए। कांग्रेसबाट चार चरणमा मन्त्रीहरु सरकारमा पठाउँदा दुवै नेताले आ–आफ्ना विश्वासपात्रहरुलाई मात्रै पठाएका थिए। 

कांग्रेसले पाएको ९ मन्त्रालयमध्ये सभापति देउवाले संस्थापनबाट ६, संस्थापन इतर समूहबाट २ र राष्ट्रपतिनिकट १ जनालाई मन्त्री बनाउँदा महामन्त्रीद्वय थापा र शर्माको रोजाइका कोही पनि नेता परेनन्। 

सभापति देउवा र नेता कोइरालाले मन्त्री बनाउँदा एकलौटी गरेपछि महामन्त्रीद्वय थापा र शर्मा असन्तुष्ट देखिएका थिए। उनीहरुले मन्त्रिपरिषद्का लागि पार्टीबाट नाम पठाउँदा गरिएको एकलौटीप्रति सभापति देउवासँग पदाधिकारी बैठकमै असहमति जनाएका थिए।  

सभापति देउवाले मात्रै नभएर आफ्नै समूहका नेता कोइरालाले समेत मन्त्री बनाउने विषयमा छलफल र परामर्श नगरेपछि महामन्त्री थापाले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए। 

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्दति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ उनले वैशाख २४ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो।’

त्यसयता निरन्तर नेतृत्वको चर्को आलोचना गर्दै आएका महामन्त्री थापाले गत शुक्रबार (जेठ १९) नेपाल प्रेस युनियन उपत्यका प्रदेश प्रतिष्ठानको प्रथम अधिवेशनमा भनेका थिए– अहिलेको कांग्रेस नबदली विश्वास फर्किनेवाला छैन। बदल्ने भनेको कांग्रेसलाई ठिक बाटोमा हिँडाउने हो।

उनले १४ औँ महाधिवेशनपछि पार्टी विधानअनुसार चल्न नसकेको, वर्तमान नेतृत्वबाट जनतामा आशा नफर्कने, पार्टीले आफू सबल भएका ठाउँमै विश्वास गुमाएको र कांग्रेसले समस्या समाधान गर्छ भनेर जनतामा विश्वाससमेत नरहेको अभिव्यक्त दिएका थिए। 

त्यसको तीन दिनपछि (जेठ २२) सभापति देउवा कांग्रेस ललितपुरको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा प्रतिवादमा उत्रिएका थिए। आफूविरुद्ध उभिएका पदाधिकारीहरूतर्फ लक्षित अभिव्यक्ति दिँदै उनले गाली गरेर पार्टी ठूलो बन्न नसक्ने तर्क गरेका थिए। 

‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस्, पार्टी ठूलो बनाउनुस्। बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन। पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो। जनतामा जानुपर्छ,’ देउवाको भनाइ थियो, ‘जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ? लडाइँ गर्ने हो? अप्ठ्यारोमा गयो भने के गर्ने? अहिले पार्टीलाई मजबुत बनाउने हो। मैले पार्टी ठूलो बनाइहालेँ। अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन।’

इतर समूहबाट महामन्त्रीमा विजयी थापा आक्रामक रुपमा प्रस्तुत हुँदा र इतर समूहकै एकथरी नेताहरुले देशव्यापी रुपान्तरण अभियान सञ्चालन गर्दा पनि समूहको नेतृत्व गरिरहेका नेता कोइराला भने देउवाप्रति नरम नै देखिन्छन्। 

सभापति देउवा प्रधानमन्त्रीबाट बाहिरिएसँगै धुम्बाराहीमा नेता कोइरालाको आउजाउ बढ्न सुरु भएको थियो। गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणदेखि दुई नेताबीचको भेटवार्ताले तीव्रता पाउन सुरु गरेको नेताहरु बताउँछन्। 

महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवा पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकहरुमा पनि आमन्त्रण गर्दै आएका छन्। यसअघि आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले शीर्ष तहका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउँदा कोइराला भने छुट्ने गर्दथे।

तत्कालीन सत्ता गठबन्धनका अन्य नेतासँगको संवादमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतलाई अघि सारे पनि कोइराला कुनै भूमिकामा देखिएका थिएनन्।

गत साउनमा इतर समूहले ४० प्रतिशतको शक्तिलाई सभापति देउवाले बेवास्ता गरेको निष्कर्ष पनि निकालेको थियो। त्यसअघि सभापति देउवा विधान र पद्धतिअनुसार नचलेको गुनासो गर्दै आएका कोइराला पछिल्लो समय उनीप्रति आक्रामक पनि सुनिँदैनन्। 

उनी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि सभापति देउवाकै ‘लाइन’ मा सहमत देखिएका थिए। आफ्नै समूहबाट महामन्त्रीमा निर्वाचित थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराए पनि कोइराला विश्वासको मत दिने ‘लाइन’ मा उभिएका थिए। 

गत माघ ८ गते बत्तिसपुतलीमा बसेको इतर समूहको बैठकमा उनले विश्वासको मत दिएर गल्ती गरिएको अभिव्यक्ति दिएको समाचार बाहिरिएको थियो। तर, माघ ९ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कोइरालाले विश्वासको मतबारे आफूले बोल्दै नबोलेको कुरा बाहिर आएको प्रष्टीकरण दिएका थिए। 

उनले माघ ९ गते देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो नभनेको प्रस्टीकरण नै दिएका थिए। उक्त बैठकपछि नेता कोइरालानिकट मानिने सहमहामन्त्री बद्री पाण्डेले पनि विश्वासको मतबारे सञ्चारमाध्यममा आएजस्तो समूहको बैठकमा कुरा नउठेको दाबी गरेका थिए। 

समूहको बैठकमा भएको छलफलबारे सञ्चारमाध्यममा त्यस्तो समाचार आएपछि इतर समूहले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको भोलिपल्ट अर्थात माघ १० का लागि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरेको थियो। उक्त बैठक सभापति देउवाको आग्रहमा नेता कोइरालाले स्थगित गरेको बताइन्छ।

२०७८ पुसमा सम्पन्न १४ औँ महाधिवेशनमा पराजित गरेपछि पार्टीकोे परम्पराअनुसार स्थान दिन अनिच्छुक देखिए पनि देउवाले एक वर्षपछि कोइरालालाई ‘स्पेस’ दिएर नजिक्याउन सुरु गरेका थिए। 

कांग्रेसमा १० औँ महाधिवेशनबाट सभापतिमा पराजित नेतालाई छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा सुरु गरिएको थियो। तर, १४ औँ महाधिवेशनमा देउवाले सो परम्परा टुटाएका थिए। महाधिवेशनको एक वर्षपछि भने देउवाले कोइरालाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिदिएका थिए।

१४ औँ महाधिवेशनमा सभापतिमा पराजित भएका कोइरालालाई २६ औं वरीयतामा थन्क्याएपछि सभापति देउवामाथि प्रतिस्पर्धीको अपमान गरेको आरोप लाग्दै आएको थियो। महाधिवेशन सम्पन्न भएको एक वर्ष पुग्दासम्म प्रतिस्पर्धीका लागि छुट्टै कार्यकक्षको खाँचो नदेखे पनि उनले अहिले केन्द्रीय कार्यालय सानेपामा कोइरालाका लागि कार्यकक्षको व्यवस्था गरिदिएका छन्। 

२०५७ सालमा सम्पन्न १० औं महाधिवेशनमा तत्कालीन सभापतिमा गिरिजाप्रसाद कोइरालाले आफूसँग पराजित देउवाका लागि केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरेर यो परम्पराको थालनी गरेका थिए।

सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा १३ औँ महाधिवेशनसम्म कायमै थियो। १३ औँ महाधिवेशनमा सभापतिमा पराजित रामचन्द्र पौडेललाई देउवाले वरिष्ठ नेताका रुपमा कार्यकक्षको व्यवस्था गरेका थिए। 

दोस्रो कार्यकालका लागि १४ औँ महाधिवेशनमा सभापतिमा विजयी भएपछि देउवाले विगतको परम्परा ‘ब्रेक’ गरे पनि पछिल्लो समय कोइरालाका लागि छुट्टै कार्यकक्ष तयार पारिदिएपछि दुई नेताको सम्बन्ध सुमधुर बन्दै गएको अड्कल गरिएको थियो।

इतर समूहको नेतृत्व गरेर १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी रहिसकेका कोइराला पछिल्लो समय देउवासँग नजिक देखिन थालेपछि महामन्त्री थापानिकट नेताहरु सशंकित देखिन्छन्। पूर्वमहामन्त्री डा. शशांक कोइराला जसरी डा. शेखर कोइराला पनि देउवाबाट उपयोग हुन थालेका उनीहरुको टिप्पणी छ। 

‘शशांक डाक्साप जसरी उपयोग हुनुभयो त्यसरी शेखर डाक्साप पनि हुन सक्ने देखिन थाल्यो। समूहको राजनीति फरक ढंगले जान थाल्यो,’ महामन्त्री थापानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘सभापति फेरि आफैँ नेतृत्वमा जान नमिल्ने भइसकेपछि मेजर सेक्टर शेखर–गगनसँग छ। उहाँहरुलाई फुटाउन सकियो भने आफूनिकटलाई नेतृत्वमा पुर्याउन सकिन्छ कि भन्ने सभापतिमा सोच आएको देखिन्छ।’

ती नेता कोइराला र थापाको बीचमा धेरै ध्रुवीकरण भने आइनसकेको दाबी गर्छन्। ‘त्यस्तो धेरै ध्रुवीकरण देखिसकेको छैन। शेखर डाक्साप नेता भएर गए उहाँ नै १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो,’ उनी भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .