ad ad

राजनीति


यस्तो छ गगनको कांग्रेस बदल्ने ‘रोडम्याप’

सदस्यतादेखि टिकट वितरणसम्मको विधि परिवर्तन गरिँदै
यस्तो छ गगनको कांग्रेस बदल्ने ‘रोडम्याप’

केशव सावद
जेठ २६, २०८० शुक्रबार १९:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता–कार्यकर्तामा देखिएको अलमल चिर्न र मतदातामा आशाको सञ्चार जगाउन महामन्त्री गगन थापा पार्टीले लामो समयदेखि अवलम्बन गर्दै आइरहेको कार्यशैली परिवर्तन गर्ने प्रयासमा देखिन्छन्।  

गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिकूल आएपछि उनी पार्टीको कार्यशैली फेर्न खोजिरहेका छन्। त्यसका लागि पार्टीको सदस्यतादेखि टिकट वितरणसम्मको विधि फेर्ने योजना उनले अघि सारेका छन्।

कांग्रेसले अवलम्बन गर्दै आएको परम्परा र नेतृत्वको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेपछि नेता–कार्यकर्तामा उर्जा भर्न तथा मतदातामा आशाको सञ्चार जगाउन थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर यो प्रयासमा लागेका हुन्।

कांग्रेसको विधानमा उल्लेख भएअनुसार पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने कर्तव्य महामन्त्रीको हो। 

सोही अधिकारमा टेकेर महामन्त्री थापाले कांग्रेसको परम्परागत शैली परिवर्तन गरेर नयाँ ढंगले पार्टी अघि बढाउने प्रयासस्वरुप केन्द्रीय कार्यसमिति मातहतका निकायलाई जेठ मसान्तभित्र सम्मेलनहरु सम्पन्न गर्न निर्देशन दिइसकेका छन्। 

‘७७ जिल्ला, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश, ७५३ पालिका, ६ हजार ७४३ वडालाई जेठ मसान्तभित्र सम्मेलन गरिसक्न भनेर पार्टीका तर्फबाट निर्देशन गरेका छौँ,’ उनले भने। जसलाई महामन्त्री थापा पार्टीको नयाँ थालनीका रुपमा चित्रित गर्छन्। 

‘यो एक प्रकारले पार्टीको नयाँ थालनी पनि हो। पार्टीको विधानमा यसको व्यवस्था सधैँभरि थियो। तर, हामीले गरिरहेका थिएनौँ,’ उनी भन्छन्, ‘यो वर्षदेखि सम्मेलन अनिवार्य रुपमा वार्षिक गर्ने भनेर हामीले पहलकदमी लियौँ।’

महामन्त्री थापाले पार्टीका तर्फबाट सम्मेलन गर्न दिइएको निर्देशनलाई जिल्ला कार्यसमितिहरुले सकारात्मक रुपमा लिएको पनि बताए। 

‘जिल्लाका साथीहरुले यसलाई सुनिदिनुभयो। केही जिल्लाहरुमा सुरुवात भयो। केही जिल्लाहरुमा गर्ने क्रममा हुनुहुन्छ,’ उनले भने, ‘जसले नगर्ने सोच बनाउनुभएको छ, उहाँहरुलाई गर्ने बनाउने काम हाम्रो हो।’ 

कांग्रेस रुपान्तरणका लागि महामन्त्री थापाले यसपालिदेखि परम्परागत शैलीमा वितरण हुँदै आएको क्रियाशील सदस्यता वितरणलाई खुला गर्ने तयारीसमेत गरेका छन्। 

‘यो पटक सदस्यताको जिम्मेवारी महामन्त्रीको रुपमा मैले पाएको हुँदा सदस्यता खुला गर्छु,’ उनी भन्छन्। 

असार १ बाट कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले अनलाइन फाराम भर्न सक्ने थापाको भनाइ छ। 

‘असार १ बाट कुनै पनि मान्छेले भर्न चाह्यो भने कांग्रेसको अनलाइन फाराम भर्न सक्छ,’ उनले भने, ‘कांग्रेसको क्रियाशील सदस्यता ८ लाखभन्दा बढी छ। पहिला हामी थोरैलाई सदस्यता दिन्थ्यौँ। अब खुला गर्छौँ, जतिसक्यो बढीभन्दा बढी मान्छेलाई सदस्य बनाउँछौँ।’

यसअघि कांग्रेसले अधिवेशन हुने वर्ष मात्रै क्रियाशील सदस्यता बाँड्ने गरेको थियो। क्रियाशील सदस्यता वितरण गर्दा पनि नेताहरुले आफूनिकटका व्यक्तिहरुलाई मात्रै दिँदै आएका थिए। कांग्रेसमा क्रियाशील सदस्य बन्न इच्छुकले समेत सहजै सदस्यता नपाउने अवस्था देखिँदै आएको छ। 

‘विधानले अधिवेशनको वर्ष सदस्यता नदेऊ भन्छ। हामी बाँकी रहेको वर्ष सुत्छौँ। अधिवेशनको वर्ष क्रियाशील सदस्यता बाँड्छौँ,’ महामन्त्री थापा भन्छन्, ‘अब त्यस्तो हुँदैन। नयाँ क्रियाशील बन्न मन छ भने अब अधिवेशनको वर्ष कुर्नु पर्दैन। सदस्यता फाराम जिल्ला पठाइसकिएको छ।’

केन्द्रबाट पठाइएको क्रियाशील सदस्यता फाराम जिल्ला कार्यसमितिले प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिमार्फत् तलको एकाइलाई पठाउने र एकाइले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने महामन्त्री थापाले बताए। 

उनले पार्टीका पुराना क्रियाशील सदस्यहरुलाई जिल्लाबाटै सदस्यता प्रमाणपत्र दिने व्यवस्था पनि सुरुवात गर्न खोजेका छन्। 

‘पुराना क्रियाशील सदस्यहरुले कार्ड लिन अब काठमाडौं आउनु पर्दैन। अनलाइन नवीकरण गरेपछि जिल्ला कमिटीले कार्ड प्रिन्ट गरेर निकाल्छ र क्रियाशील सदस्यलाई दिन्छ,’ थापाले योजना सुनाउँदै भने, ‘वा फोनमा अनलाइन कार्ड पठाइदिने काम हुन्छ।’ 

कांग्रेसले स्थानीय सरकारको नेतृत्वमा रहेका नेताहरुलाई पार्टीप्रति जवाफदेही बनाउन र पार्टीले जनतासामु गरेको वाचाहरु स्थानीय सरकारमार्फत् पूरा गराउन जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि गर्ने भएको छ। 

‘पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम राख्छौँ। निर्देशन दिन्छौँ,’ महामन्त्री थापा भन्छन्, ‘स्थानीय सरकार पार्टीप्रति पनि जवाफदेही हुनुपर्छ। र पार्टीले जनतासँग गरेको वाचा पूरा गर्ने भन्दा तलमाथि काम गर्न पाउँदैन।’ 

उनले कांग्रेसबाट चुनिएका जनप्रतिनिधिको कार्यसम्पादनका आधारमा ‘रेटिङ’ समेत गरिने बताए। ‘कुन स्थानीय सरकारले कस्तो काम गर्यो भनेर हामी सँगसँगै रेटिङ गर्छौँ,’ थापाले भने। पार्टी रुपान्तरणका लागि जिल्ला सभापति, सचिव र क्षेत्रीय सभापतिहरुको पनि भेला बोलाएर प्रशिक्षण दिने महामन्त्री थापाको तयारी छ।  

कांग्रेसले भदौमा नीति अधिवेशन गर्ने गरी काम भइरहेको महामन्त्री थापाले बताए। उनका अनुसार अब बस्ने केन्द्रीय कार्यकार्यसमिति बैठकले नीति अधिवेशनको मिति र स्थान तय गर्नेछ। 

‘नीति अधिवेशनअघि पार्टीलाई सांगठनिक रुपमा चुस्तदुरुस्त बनाउँछौँ,’ थापा भन्छन्, ‘अनि नीति अधिवेशनबाट कांग्रेसको आगामी कार्यदिशा पनि प्रस्ट पार्छौं।’ 

नीति अधिवेशनबाट कांग्रेसमा आन्तरिक र संसदीय निर्वाचनका लागि टिकट वितरणको परम्परागत शैली परिवर्तन गर्नेसमेत महामन्त्री थापाको आन्तरिक तयारी छ। उनले अर्का महामन्त्री शर्मासँग बसेर टिकट वितरणका लागि अपनाइने विधिको मस्यौदासमेत तयार पारिसकेका छन्। 

कांग्रेसमा अहिलेसम्म सीमित शीर्ष नेताहरु बसेर टिकट वितरण गर्दै आएका छन्। महामन्त्रीद्वयले तयार पारेको मस्यौदाअनुसार टिकट वितरणको परम्परागत शैली परिवर्तन गरेर क्रियाशील सदस्यहरुबाट उम्मेदवार छान्ने विधि अपनाइने छ। 

‘पार्टी रुपान्तरणका लागि गुट भत्काउन जरुरी छ। गुट भत्काउन जिम्मेवारी पाउने र टिकट पाउने शैली परिवर्तन आवश्यक छ,’ महामन्त्री थापा भन्छन्, ‘टिकटका आकांक्षी धेरै हुन्छन्, पाउँछ एक जनाले। यसले गुट चलाइरहन्छ। किनकि जिम्मेवारी पाउन र टिकट पाउन गुट चाहिन्छ। उम्मेदवारको टुंगो क्रियाशील सदस्यहरुले चुनावी प्रक्रियाबाट चयन गरौँ। गुट भत्किन्छ। 

महामन्त्री थापाले पार्टी रुपान्तरणका लागि मातहतका कार्यसमितिहरुलाई वार्षिक कार्ययोजना बनाउन लगाउने समेत तयारी गरिएको जानकारी दिए। 

‘कांग्रेसलाई औपचारिकतामा सीमित राखेर हुँदैन। यसलाई जनतासम्म लैजानु पर्छ। काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि अब हामी सबै तहलाई २०८० सालको कार्ययोजना तयार गर्न लगाउँछौँ। जिल्लामार्फत् उनीहरुको वार्षिक कार्ययोजना माग्छौँ।’ 

‘पार्टीमा शुद्धिकरण चाहिएको छ,’ उनी थप्छन्, ‘कार्यकर्तामा निराशा र अलमल छ, उत्साह छैन भन्ने कुरा मान्नु पर्छ। विश्वास गुमाएको स्वीकार गर्नुपर्छ। गल्ती–कमजोरी गरेका छौँ, विश्राम लिनुपर्ने बेला आएको छ भन्ने मान्नु पर्छ। हामी सबैले पार्टीलाई ठिक ठाउँमा उभ्याउनका लागि त्याग गर्न तयार हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .