ad ad

राजनीति


परराष्ट्र सेवाबाट पहिलो मुख्यसचिव बनेका बैरागीको अर्को कीर्तिमान

परराष्ट्र सेवाबाट पहिलो मुख्यसचिव बनेका बैरागीको अर्को कीर्तिमान

सीताराम बराल
जेठ ३२, २०८० बिहिबार १६:१३, काठमाडौँ

साढे तीन वर्षअघि १५ असोज २०७७ मा मुख्यसचिव नियुक्त हुँदा नै एउटा प्रशासनिक रेकर्ड ‘ब्रेक’ गरेका थिए, शंकरदास बैरागीले। प्रशासन सेवाको सर्वाेच्च पदमा उनले पाएको जिम्मेवारी परराष्ट्र सेवाका कुनै पनि अधिकारीले त्यसअघि पाएका थिएनन्। 

अर्थात्, परराष्ट्रसचिव बनेर मुख्य सचिव बन्ने पहिलो प्रशासकको रेकर्ड उनको नाममा रह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर बिहीबार (१५ असोज २०७७) का दिन उनलाई मुख्यसचिव बनाएका थिए। 

त्यसो त परराष्ट्र मन्त्रालयमा सचिव भएका अधिकारीहरु मुख्य सचिव नभएका भने होइनन्। विसं २०१० को दशकको मध्यतिर तत्कालीन परराष्ट्रसचिव रामप्रसाद मानन्धरलाई शिक्षा मन्त्रालयको सचिवमा स्थानान्तर गरिएपछि शोभागजंग थापालाई परराष्ट्रसचिव बनाइएको थियो। 

पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईको भनाइमा २०१७ को राजनीतिक परिवर्तनपछि थापालाई परराष्ट्र मन्त्रालयको सचिवबाट रक्षा मन्त्रालयको सचिवमा स्थानान्तरण गरियो। रक्षा सचिव पछि मात्र उनी क्याबिनेट सेक्रेटरी (मुख्यसचिव सरह) बनेका थिए। 

यस हिसाबले परराष्ट्र सचिवबाट सिधै मुख्यसचिवको अवसर पाउने पहिलो रेकर्ड बैरागीकै नाममा छ।  
  

परराष्ट्र सेवाबाट पहिलो मुख्यसचिव बन्ने रेकर्ड निर्माण गरेका बैरागीले साढे तीन वर्षपछि बिहीबारकै दिन फेरि अर्काे रेकर्ड बनाएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार बनाउने निर्णय गरेको छ। उनलाई ‘क्याबिनेट स्तर’ को सल्लाहकारको हैसियत प्रदान गरिएको छ। 

‘राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार’ भनिए पनि उनको हैसियत दुई कारणले प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकारकै हो भन्न सकिन्छ। एक, उनलाई प्रधानमन्त्री आफैँले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। दुई, राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष प्रधानमन्त्री आफैँ छन्। 

प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार भएकाले उनी मूलतः प्रधानमन्त्रीकै राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्। 

सुब्बादेखि मुख्यसचिवसम्म 
विसं २०४४ मा परराष्ट्र सेवामा प्रवेश गर्दा बैरागीले पनि सायदै सोचेका थिए, ‘म कुनै दिन प्रशासन सेवाको सर्वाेच्च पदमा पुग्नेछु।’ 

विसं २०४४ मा परराष्ट्र सेवामा प्रवेश गर्दा बैरागी सुब्बा तहका कर्मचारी थिए। सुब्बा तहमा रहेको कर्मचारीले बढुवा हुँदै सचिव र मुख्यसचिवसम्म पुग्छु भन्ने सायदै सोच्दो हो। 

तर, पढाइमा मेहनती र अब्बल बैरागीले केही वर्षपछि लोकसेवाको प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको अधिकृतमा नाम निकाल्न सफल भए। बढुवा हुँदै उनी उपसचिव र सहसचिवम्म पुगे। सहसचिवमा बढुवा भएको केही वर्षपछि उनी जेनेभा (स्विट्जरल्यान्ड) स्थित संयुक्त राष्ट्रसंघीय नियोगमा नेपालको तर्फबाट राजदूत नियुक्त भए। 

परराष्ट्र सेवामा जेनेभास्थित नियोगको राजदूत हुनुलाई आकर्षकमध्येको एक जिम्मेवारी मानिन्छ। तर, त्यो जिम्मेवारीमा उनी आधा कार्यकाल मात्र रहन पाए। 

कार्यकाल सकिन लागेका तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापालाई सरकारले काठमाडौँमा मुख्यालय रहेको सार्क सचिवालयको महासचिव बनाउने निर्णय गरेको थियो। यसो हुँदा परराष्ट्र सचिवको जिम्मेवारी रिक्त हुने भयो। 

परराष्ट्र सेवामा वरिष्ठतम् सहसचिव बैरागी नै रहेकाले जेनेभास्थित राजदूतको कार्यकाल पूरा नहुँदै उनी मन्त्रालय फर्कनु पर्यो। 

परराष्ट्रका वरिष्ठतम् अधिकारी भए पनि सचिवमा बढुवा हुन उनको सेवा अवधि पुगेको थिएन। त्यही कारण बैरागी झण्डै दुई वर्ष ‘कामु सचिव’ रहे। समयावधि पुगेपछि सरकारले २०७३ मा बैरागीलाई परराष्ट्र सचिवमा बढुवा गर्यो। करिब चार वर्षपछि परराष्ट्र सेवाबाट पहिलो मुख्यसचिव बन्ने अवसर उनले प्राप्त गरे। 

बैरागीले परराष्ट्र सेवाभित्र अध्ययनशील र काममा दत्तचित्त रहने अधिकारीको छवि बनाएका थिए। जानकारहरुका भनाइमा मुख्यसचिवको जिम्मेवारी प्राप्त गर्नमा दुई कुराले बैरागीलाई ‘फेवर’ गर्यो।    

एक, प्रधानमन्त्री केपी शर्मा ओली थिए। एमालेको नौ महिने अल्पमतको सरकार (२०५१–०५२) का बेला बैरागीले उपप्रधान तथा परराष्ट्रमन्त्री माधव नेपालको स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। 

दुई, परराष्ट्र सेवामा सबैभन्दा आकर्षक मानिने न्युयोर्क (अमेरिका) स्थित राष्ट्रसंघीय मुख्यालयको नियोग प्रमुख (राजदूत) जस्तो महत्वपूर्ण जिम्मेवारीसमेत त्याग गरेर उनले परराष्ट्रसचिवको जिम्मेवारीलाई निरन्तरता दिइरहेका थिए। 

बैरागी परराष्ट्रसचिव रहेका बेला न्युयोर्क नियोगस्थित तत्कालीन राजदूत दुर्गाप्रसाद भट्टराईको कार्यकाल सकिएको थियो। भट्टराईपछि सरकारले बैगारीलाई नै न्युयोर्कमा राजदूत बनाएर पठाउन खोज्यो। 

तर, न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयको राजदूत बन्ने अवसर बैरागीले त्यागे। यसो गरेर बैरागीले आर्थिक लाभभन्दा जिम्मेवारी, विदेशभन्दा स्वदेशको कामलाई प्राथमिकता दिने अधिकारीको रुपमा आफूलाई चिनाएका थिए। 

बैरागी न्युयोर्कमा राजदूत बन्ने दौडबाट पछि हटेपछि त्यो अवसर प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईलाई प्रदान गरे। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेका राईलाई ओलीले न्युयोर्क स्थानान्तरण गरेका थिए। 

दुई वरिष्ठ सचिवलाई पछि पार्दै बैरागीले त्यो बेला मुख्यसचिवको जिम्मेवारी प्राप्त गरेका थिए। खासमा सचिवद्वय केदारबहादुर अधिकारी र चन्द्र घिमिरेमध्ये एक मुख्यसचिव बन्नेछन् भन्ने धेरैको अनुमान थियो। तर, बाजी भने बैरागीले मारे। 

जतिबेला उनी मुख्यसचिव बने, त्यतिबेला उनले सरकारी सेवाबाट अवकाश पाउन एक हप्ता मात्र बाँकी थियो। परराष्ट्र सचिवका रुपमा बैरागीको कार्यकाल २२ असोज (२०७७) मा कार्यकाल समाप्त हुँदै थियो।  

उनले अवकाश प्राप्त गर्ने मिति (२२ असोज) सम्म मुख्यसचिवको पद रिक्त हुने स्थिति भने थिएन। किनकि तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल ४ कात्तिक (२०७७) मा मात्र सकिँदै थियो।

तर, बैरागीलाई प्रशासनिक तहको सर्वाेच्च पद (मुख्यसचिव) मा पुग्ने मार्ग खुला गर्न सरकारले मुख्यसचिव रेग्मीलाई राजीनामा गर्न लगायो। पदावधि सकिनुभन्दा दुई हप्ताअघि रेग्मीले मुख्यसचिवबाट राजीनामा दिए। 

बैरागीका लागि मार्ग सहज गरिदिएकोमा प्रधानमन्त्री ओलीले  रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी प्रदान गरे।  

अजित डोभालका समकक्षी
राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको जिम्मेवारीमा स्थानान्तरित भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रहेका अर्याललाई बिहीबार (३२ जेठ) बिहानको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मुख्यसचिव बनाउने निर्णय गरेको छ।

यदि मुख्यसचिवमा बढुवा नभएको भए अर्यालले सरकारी सेवाबाट २ असारमा अवकाश प्राप्त गर्ने थिए। यस हिसाबले अर्यालका लागि मुख्य सचिव पद सुनौलो चिठ्ठा परेसरह भएको छ। 

अर्याललाई यो चिठ्ठा बैरागीको उदारताका कारण परेको हो। यदि राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारको जिम्मेवारी बैरागीले स्वीकार नगरेको भए अर्याल सचिवबाटै अवकाश हुने थिए।  

त्यसैले सचिव बैरागीको पदीय व्यवस्थापनका लागि ‘राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार’ को बिल्कुल नयाँ जिम्मेवारी सिर्जना गरिएजस्तो देखिन्छ। त्योभन्दा झन् आकर्षक जिम्मेवारीमा आशक्ति नदेखाएबाट यो नयाँ पद बैरागीको पदीय व्यवस्थापनका लागि मात्र सिर्जना गरिएको होइन भन्ने सहज अनुमान गर्न सकिन्छ।  

जस्तोः चाहेको भए बैरागी फेरि पनि न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा नियोग प्रमुख (राजदूत) को बन्न सक्थे। यो त्यही जिम्मेवारी हो, जुन उनले २०७६ मा पनि प्राप्त गर्न सक्ने स्थिति थियो। तर, अस्वीकार गरेका थिए।  

हाल न्युयोर्कस्थित नियोग प्रमुख रहेका अमृतबहादुर राईको चार वर्षे पदावधि तीन महिनाअघि नै समाप्त भइसकेको छ। राईलाई थप गरिएको अतिरिक्त तीन महिने पदावधि पनि असारमा समाप्त हुँदैछ। 

अर्थात् असारदेखि न्युयोर्कस्थित नियोग प्रमुखको पद खाली हुँदैछ। 

बैरागीले चाहेको भए न्युयोर्क नियोग प्रमुखको जिम्मेवारी सहजै प्राप्त गर्न सक्ने स्थिति छ। निवर्तमान मुख्यसचिव र पूर्वपरराष्ट्रसचिवका हैसियतमा उनको ‘हक’ पनि लाग्छ। तर, त्यसको साटो उनले ‘राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार’ को जिम्मेवारी स्वीकार गरे। 

यसअघि न्युयोर्कस्थित नियोगको राजदूत बन्न मुख्य सचिव बैरागीपनि दौडमा रहेको चर्चा गरिन्थ्यो। निकटस्थहरुसँगको कुराकानीमा भने बैरागीले आफू त्यस्तो दौडमा नरहेको जवाफ दिने गरेका थिए। 

बाहिरी अनुमान जे भएपनि उनकै दाबी सही रहेछ भन्ने कुरा राष्ट्रिय सुरक्षा सल्लाहकारमा उनको नियुक्तिले पुष्टि गरेको छ।  

राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारका रुपमा प्रधानमन्त्री प्रचण्डबाट शपथग्रहण गर्दैगर्दा बैरागीको मुखाकृति र ‘बडील्याङ्ग्वेज’ हेर्दा के देखिन्छ भने यो जिम्मेवारीप्रति बैरागी सन्तुष्ट छन्। शपथग्रहणमा उनी हँसिलो र उत्साहित देखिन्थे।

निश्चय नै बैरागी सुरक्षा क्षेत्रमा काम गरेका अधिकारी होइनन्। उनको जीवनको जीवनको आधाभन्दा बढी समय परराष्ट्र सेवा र वैदेशिक मामिलामा बितेको छ। 

परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय राजनीतिका जानकार डा. रुपक सापकोटा बैरागीको यही अनुभव नै ‘राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार’ का लागि उपयुक्त र महत्वपूर्ण भएको बताउँछन्।  

‘विश्वको राजनीतिक शक्ति सन्तुलनमा तीव्र बदलावको स्थिति देखा पर्दैछ, यो स्थितिमा नेपालको राष्ट्रिय सुरक्षाको पहिलो सर्त यो परिवर्तित स्थितिको मिहिन विश्लेषण गरी सोही अनुकूल नीति निर्माण गर्नु हो,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उपकार्यकारी प्रमुख समेत रहेका डा. सापकोटा भन्छन्, ‘अर्थात् सुरक्षा नीतिको परिपुरक परराष्ट्र र अन्तर्राष्ट्रिय राजनीति बन्न पुगेको छ। परराष्ट्र सेवामा साढे झण्डै साढे तीन दशक व्यतीत र परराष्ट्र सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसक्नु भएका बैरागी यस हिसाबले यो जिम्मेवारीका लागि उपयुक्त हुनुहुन्छ।’ 

मुख्यसचिव बैरागीलाई प्रदान गरिएको यो जिम्मेवारीमार्फत् सरकारले कतिपय शक्ति राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग महत्वपूर्ण कुराकानी गर्ने ‘काउन्टर पार्ट’ को व्यवस्था समेत गरेको छ।

महाशक्ति अमेरिकाले सन् १९५३ देखि सुरु गरेको राष्ट्रिय सुरक्षा सल्लाहकारको व्यवस्थालाई छिमेकी भारतले पनि पछिल्लो समय पछ्याएको छ। अमेरिकामा जस्तै भारतमा प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीलाई ‘मन्त्रीस्तर’ प्रदान गरिएको छ र यो जिम्मेवारीमा पूर्वगुप्तचर प्रमुख अजित डोभाल छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपाल मामिलाको ‘डिल’ राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले नै गर्दै आएका छन्। सन् २०१८ मा दोक्लममा सीमा विवाद सुरु भएपछि चीनसँगको वार्ताका लागि प्रधानमन्त्री मोदीले डोभाललाई विशेष प्रतिनिधिका रुपमा खटाएका थिए। 

चिनियाँ राष्ट्रपतिका विशेष प्रतिनिधिका रुपमा तत्कालीन परराष्ट्रमन्त्री वाङ यी सहभागी हुन्थे। 

सीमा जोडिएका दुई महत्वपूर्ण छिमेकीमध्ये भारतले राष्ट्रिय सुरक्षा सल्लाहकार पद स्थापना गरेको र तिनैले नेपाल मामिला हेर्ने गरेकोमा उनीसँगको छलफलमा समकक्षी को हुने भन्ने अन्योल रहँदै आएको थियो। 

जानकारहरुका भनाइमा प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा बैरागीको नियुक्तिपछि भारत लगायत  मुुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको वार्तामा बैरागीलाई तिनको समकक्षीका रुपमा सहभागी गराउन पनि अब सहज हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .