राजनीति


कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन : चुनावी गठबन्धन नगरौँ, अब नसुध्रिए पार्टी झन् कमजोर हुन्छ

कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन : चुनावी गठबन्धन नगरौँ, अब नसुध्रिए पार्टी झन् कमजोर हुन्छ

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८० मंगलबार १४:०, काठमाडौँ

नेपाली कांग्रेस रुपान्तरण अभियानले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

अभियानका एकजना सदस्य गुरुराज घिमिरेले प्रतिवेदन मुख्यसचिवमार्फत सभापति देउवालाई बुझाइएको जानकारी दिए।

तेस्रो धारका नेताहरुले गत जेठ २ गते घोषणा गरेर चलाइएको दुई महिने अभियानको प्रतिवेदन सानेपामा हस्तान्तरण गरिएको हो। 

उक्त प्रतिवेदनमा अभियानको तर्फबाट नेतृत्वलाई विभिन्न सुझाव दिइएको छ। जसमा निर्वाचनमा गठबन्धन नगर्नेदेखि समानुपातिक प्रणाली खारेजीसम्मका कुरा छन्। 

प्रतिवेदनमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोध गरेर अघि नबढे झन् क्षति हुने उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोध गरेर अघि नबढ्ने हो भने पार्टी सदस्यहरूमा झन्‍झन् निराशा बढ्दै जाने र पार्टीको लोकप्रिय जनधार खस्किँदै जाने स्थिति प्रस्ट छ’, प्रतिवेदनमा भनिएको छ। 

प्रतिवेदनमा गत वैशाख १० गते भएको उपनिर्वाचनको अनपेक्षित परिणामले कार्यकर्तालाई झन् निराश बनाएको पनि उल्लेख गरिएको छ।

त्यस्तै भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नता झनै समस्याका रुपमा आएको जनाइएको छ। 

‘विभिन्न जिल्लाका साथीहरूबाट व्यक्तिगत तथा सामूहिक रूपमा व्यक्त असन्तुष्टि, छटपटी र आक्रोश आएका छन्। पार्टीका अवयव तथा भ्रातृ/ शुभेच्छुक संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था अझै रोकिएको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘नीतिविहीनता र विधिविहीनतामा पार्टी सञ्चालन भइरहेको छ।’ 

प्रतिवेदनमा समयसापेक्ष, स्पष्ठ र जनमुखी नीति निर्माण गर्नुपर्ने पनि सुझाइ दिइएको छ। 

‘१४ औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन यथाशीघ्र सम्पन्न गर्नुपर्छ’, प्रतिवेदनमा उल्लेख छ, ‘हरेक तहका सभापति २ कार्यकालका लागि मात्र सोही पदमा रहन पाउने ब्यवस्था जस्तै एकै व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने ब्यवस्था गर्नुपर्छ।’

प्रतिवेदनमा संसदीय र पार्टी जिम्मेवारीमा आलोपालो कार्यकाल काम गर्ने ब्यवस्था राख्नुपर्ने पनि सुझाव दिइएको छ।

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रका सम्बन्धित नीतिमाथि प्रजातान्त्रिक समाजवादी दर्शन अनुरुप परिमार्जन गर्नुपर्छ’, अगाडि भनिएको छ, ‘नीति निर्माण गर्दा कांग्रेसले किसान, न्यूनवेतनभोगी श्रमिक, गरिवीको रेखा मुनिका जनता, सीमान्तकृत- अल्पसंख्यक समूदाय र पिछडिएका भेग वा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्छ।’ 

देशभित्र लगानीको वातावरण आकर्षक र विश्वासिलो बनाउनु पर्ने पनि सुझाव प्रतिवेदनमा दिइएको छ। ‘गैरआवासीय नेपाली नागरिकलाई लगानीको क्षेत्रमा आउन कुनै किसिमको बन्देज नलाग्ने नीति लिनुपर्छ’, अगाडि भनिएको छ, ‘पार्टीको भावी नीति अधिवेशनमार्फत दिइने सन्देशबाट नेपाली कांग्रेस सच्चिएको, सुधारको मार्गमा अगाडि बढेको देखिनु पर्छ। कर्मकाण्डी नीति अधिवेशन नभएर अधिवेशनले कांग्रेस रूपान्तरणको ठोस कार्यसूची अगाडि ल्याउनु पर्छ।’

प्रतिवेदनमा पार्टी स्थापनाकालदेखि आजसम्म पारित विभिन्न निर्णय र दस्ताबेजहरूमा रिभिजिट, रिराइट गर्ने र तीनको औचित्य र आवश्यकता हेरी कार्यान्वयनको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

‘खासगरी पार्टीको घोषणापत्रहरू बेवारिसे भए, यसको कारण प्रबुद्ध समाजमा कांग्रेसको साख गयो। कांग्रेसलाई समाजको सबै तप्काहरूसँग जोड्न र एक पटक पार्टीका सबै लिट्रेचरमा रिभिजिट नगरी हुँदैन’, प्रतिवेदनमा भनिएको छ, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्यलाई राष्ट्रिय संकल्प बनाउनु पर्नेछ।

प्रतिवेदनमा प्रत्येक तहका सरकारले चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने पनि उल्लेख छ। ‘पार्टीले शक्तिशाली निकाय नै खडा गरेर त्यसको नियमित अनुगमनको ब्यवस्था गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक महत्वका हरेक क्षेत्रमा कांग्रेसले सिस्टम बसाल्नमा जोड दिनुपर्छ। क्षणिक सत्ता प्राप्तिका लागि कांग्रेसले असंसदीय, असैध्दान्तिक, अलोकतान्त्रिक संझौता वा सहमति गर्नु हुँदैन।’

अभियानले चुनावी गठबन्धन नगर्ने प्रतिबद्धता कांग्रेसले जनाउनुपर्ने अडान लिएको छ।

‘बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक शासनप्रणालीका लागि निरन्तर संघर्ष गरेको नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्नु हुँदैन’, प्रतिवेदनमा भनिएको छ, ‘लीय प्रतिस्पर्धालाई उत्प्रेरित गर्नुपर्छ।’

चुनावी गठबन्धनले पार्टी सदस्यहरुमा पारेको वैचारिक, मनोवैज्ञानिक विचलन र असुरक्षाले दीर्घ असर पारेको पनि अभियानले निष्कर्ष निकालेको छ।

‘पुरानै निष्ठा र ईमान्दारिताको बाटोमा फर्किन थोरै समय र सानो मेहनतले सम्भव देखिँदैन’, अगाडि भनिएको छ, ‘यसका लागि छुट्टै विशेष अभियान र शंकल्पको आवश्यकता छ।’

प्रतिवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .