ad ad

राजनीति


प्रचण्ड र ओलीले डेढ घण्टा छलफल गरेपछि रविलाई बोलाइएको त्यो बैठक

प्रचण्ड र ओलीले डेढ घण्टा छलफल गरेपछि रविलाई बोलाइएको त्यो बैठक

सागर न्यौपाने
जेठ २, २०८१ बुधबार २२:२८, काठमाडौँ

सर्वसाधारणको बचत रकम अपचलन गर्ने देशभरका सहकारीको छानबिन गर्न संसदीय समिति गठनमा सत्तारुढ नेकपा एमाले अनिच्छुक देखिएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान कायम राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिरोध अन्त्यको प्रयासमा छन्।

बिहीबार (जेठ ३ गते) डाकिएको संसद बैठक रोकिन नदिन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन्। 

उनले कांग्रेसका नेताहरुसँगको छलफलमा छानबिन समिति बनाउन सकिने संकेत पनि गरेका छन्।

यद्यपि, एमाले तयार नहुँदा अघि बढ्न नसकेको प्रचण्डनिकट एक नेताले नेपालखबरलाई बताए। बरु बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छानबिन समिति बनाउन लचक भएको उनले दाबी गरे। 

‘छानबिन समिति बनाउन एमाले तयार भएको छैन,’ ती नेताले भने, ‘बरु रविजीले आफूलाई नछुने गरी छानबिन समिति बनाउन तयार देखिनुहुन्छ।’

छानबिन समिति नबनी कांग्रेस संसदको गतिरोध खोल्न नदिने अडानमा छ। यद्यपि, रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संसदमा आफ्ना कुरा राख्न दिनुपर्ने सर्त राखेका छन्।

उनले आफ्ना कुरा राख्न नदिई संसद अवरुद्ध पारेकोमा कांग्रेससँग रोष पोखिरहेका छन्।

बुधबार (जेठ २) एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले डेढ घण्टा छलफल भएको थियो। छलफलको अन्तिमतिर गृहमन्त्री लामिछानेलाई पनि बोलाइएको थियो। 

संसदमा गृहमन्त्रीले आफ्ना कुरा राख्ने वातावरण बनाउन कांग्रेसलाई आग्रह गर्ने कुरा भएको नेपालखबरको सम्पर्कमा आएका ती माओवादी नेताले बताए। 

‘पहिला मैले बोल्न पाउनुपर्छ, त्यसपछि जवाफ नै चित्त बुझेन भने उहाँहरूको अधिकारको हामी सम्मान गरिहाल्छौँ नि,’ रविले भने, ‘त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको पूरै सम्मान गर्छौँ। भोलि बोल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो। मैले त पहिल्यैदेखि नै त्यो कोसिस गरिरहेको छु।’

‘त्यहाँ भनेको कुराले चित्त बुझेन भने त्यसपछि गर्ने निर्णय आफ्नो ठाउँमा छ। आज त्यही सल्लाह भएको छ,’ उनले थपे ।

बुधबार (जेठ २ गते) नै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले छानबिन समिति नबनाउने अडान सुनाए।

‘मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौँ, हामी लड्छौँ,’ ओलीको भनाइ थियो, ‘हामी चुप लागेर बसेका छौँ भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ। संसद् अविलम्ब भोलिबाट सुचारु हुनुपर्दछ।’

देश र जनताको लागि चिन्तित हुनुपर्ने बेलामा यो समय कांग्रेसको लहडबाजीमा बर्बाद गरिन नहुने भन्दै उनले कांग्रेसप्रति निकै आक्रोश पोखेका थिए।  

ओलीले भने, ‘कांग्रेसको कुण्ठा, आक्रोश? सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने? रविको कमीकमजोरी छ भने निकाय छन् नि कारबाही गर्ने। कसैले केही कारबाही थालेको छैन। आफैँ सबकुछ गर्ने कांग्रेस? जसको बारेमा जे पनि बोल्दिने । कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी छैन। संसद् रोक्नुपर्ने आवश्यकता पनि छैन। कांग्रेसले रोकेर अब मान्ने कुरा पनि हुँदैन। कांग्रेसको घरबाट ल्याएको संसद् हो यो? उसलाई जसो मन लाग्छ त्यसै गर्ने?’

अध्यक्ष ओलीले आफूहरू सदनमा कांग्रेसको बकवास सुन्न तयार नभएको बताए। उनले पहिले रवि लामिछानेलाई बोल्न नदिए कांग्रेसलाई पनि नदिई आफूहरूले बोल्ने चेतावनी दिए।

‘यो कांग्रेसको मात्रै संसद् हो, कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने (हो भने) चल्दैन भोलिबाट’, ओलीले भने, ‘कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रवि लामिछाने बोल्न पाउनुपर्छ, होइन भने हामी बोल्छौँ।’

एमालेले नचाहेपछि संसदीय छानबिन समिति बनाउन नसकिने नेताहरु बताउँछन्। माओवादीका सांसद लेखनाथ दाहाल भन्छन्, ‘हाम्रो पार्टी कांग्रेसले संसदलाई बन्धक बनाउन नहुने पक्षमा छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .