जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका-१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
मंगलबार गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा परेपछि प्रशासनले होटललाई तत्काल कारबाही गरेको हो।
उक्त होटलको खानाको गुणस्तरका सम्बन्धमा उपभोक्ताहरूबाट प्राप्त जनगुनासो समेतका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी सहितको निरीक्षण टोलीबाट भएको अनुगमनमा उक्त होटलले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान दिएको नपाईएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पाइएको प्रशासनले जनाएको छ।
उल्लेखित कैफियतहरूको विश्लेषणबाट उक्त होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) को कसुर गरेको पाइएकोले सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयानुसार सो होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गरी बरामद गरिएका खाद्य सामाग्रीहरू नष्ट गर्ने निर्णय भएको प्रशासकीय अधिकृत मदन लामा थिङले जनाएका छन्।
चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा यो होटलले खानाको व्यवस्थापन गरिरहेको छ।

Shares

प्रतिक्रिया